काठमाडौँ,एलेक्स बाएनाको निर्णायक गोलको मद्दतमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्दै फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।मेक्सिकोको ग्वाडालाजारमा सम्पन्न समूह चरणको अन्तिम खेलमा स्पेनले उरुग्वेमाथि कठिन जित निकाल्दै सात अंकसहित समूह विजेताका रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।
स्पेनका लागि खेलको एकमात्र गोल एलेक्स बाएनाले ४१औँ मिनेटमा गरेका थिए। उक्त गोल नै स्पेनको जितका लागि निर्णायक बन्यो।यता, आजै भएको अर्को खेलमा केप भर्डे र साउदी अरेबियाले गोलरहित बराबरी खेले। लगातार तेस्रो खेल बराबरी खेलेको केप भर्डे तीन अंकसहित समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ।
पहिलोपटक विश्वकपमा सहभागी भएको केप भर्डेले इतिहास रच्दै आफ्नो डेब्यु संस्करणमै अन्तिम १६ मा स्थान बनाएको हो।स्पेन सात अंकसहित समूह विजेता बनेको छ भने केप भर्डे तीन अंकका साथ उपविजेता रह्यो। उरुग्वे र साउदी अरेबिया भने समूह चरणबाटै बाहिरिएका छन्।