काठमाडौं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजले पोखरा विश्वविद्यालयको सेमेष्टर परीक्षामा उत्कृष्ट अंक ल्याउने १६० जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । आइतबार कलेजले इन्जिनियरिङका विभिन्न विधा तथा आर्किटेक्चरमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
कलेजमा आयोजित कार्यक्रममा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी, शिक्षक प्रतिनिधि सदस्य प्राडा सावित्री त्रिपाठी लगायतले विद्यार्थीहरुलाई प्रमाणपत्र, ट्रफीसहित सम्मान गरेको हो । कार्यक्रममा पोखरा विश्वविद्यालयको सेमेस्टर परीक्षामा सर्वोत्कृष्ट हुने आर्किटेक्चरका ६५ जना, सिभिल तथा सिभिल एन्ड रूलर इन्जिनियरिङका ३३ जना, कम्प्युटर इन्जिनियरिङका २२ जना, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन तथा इन्फरमेसन एण्ड कम्युनिकेशनका २० जना र विडिएच कार्यक्रमका २१ जनालाई सम्मान गरिएको छ । कलेजले पोखरा विश्वविद्यालयको सेमेस्टर परीक्षामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको जनाएको छ । यस कलेजमा स्नातक तहमा सिभिल इन्जिनियरिङ, सिभिल एन्ड रुलर, कम्प्युटर, इलेक्ट्रीकल एन्ड इलेक्ट्रोनिक्स, इन्फरमेसन एन्ड कम्युनिकेसन र विडिएच कार्यक्रममा पठनपाठन हुन्छ ।