गएको हप्ता मात्रै रास्वपाको वालेन्द्र शाह सरकारले सय दिन पूरा ग¥यो । यी दिनलाई सरकारले धुमधामका उपलब्धि भनेर देखायो । यही कुरा दलबाट पनि भनियो । तर यति छोटा समयमा सरकार कारक भएर चार जनाको मृत्यु भएको घटना भने न दल र न सरकारको नेतृत्वकर्ताले नै कुनै गम्भीरतापूर्वक लिए । यसले उनका लागि यो सामान्य घटना हो भन्ने बुझ्नुपर्ने भयो ।
अघिल्ला तीन मृत्यु करिब–करिब एकै समयमा भएका थिए भने गणेश नेपाली आत्मदाह प्रकरण अलिक पछिको तर सय दिनभित्रकै हो । यी मृत्यु सरकार कसरी चलिरहेको छ भन्ने निकै ठूला र अबका दिन झन् कस्ता होलान् भन्ने चित्र हुन् । पछिल्लो समय मृत्युको संख्यामा थपिएका गणेश नेपाली आत्मदाह प्रकरणले त समग्र राज्यलाई नै आतङ्कित बनायो ।
यस्तो बेला प्रधानमन्त्री र सत्तारुढ दलका सभापति मौन बसे भने गृहमन्त्रीले भने संसद्मा नै नक्कली आँसु झारे र यस्ता मृत्युका बारे चर्चा गर्नेहरूविरुद्ध ओठे जवाफ दिए । उनको भनाइ वा बुझाइमा गणेश नेपाली आत्मदाह प्रकरण प्रतिपक्षी दलका सरकारका कारण भएको हो ।गृहमन्त्रीले संसद्मा दिएका यो जवाफ आफैँमा आफ्नै नागरिकका यी मृत्युप्रति सरकार रत्तिभर पनि जवाफदेही नभइएको अवस्था नै हुनुपर्छ । त्यस्तो बेला यस्ता मृत्यु सम्झिएर संसद्मा चुहाएको आँसु नक्कली नै थिए भन्ने आफैँ बुझिन्छ ।
यसअघि प्रधानमन्त्री बालेनको काम एकमात्र कारक भएर तीन जनाको आत्महत्या भएको थियो । आफ्नो बसोबास भइरहेको ठाउँबाट बलपूर्वक, राष्ट्रिय सेना नै लगाएर लखेटिएका सुकुमबासीका दर्दनाक कथाहरू आई नै रहेका छन् । प्रधानमन्त्री बालेनको यो कामबाट तीन जनाको त मृत्यु नै भयो । त्यसमध्येका एक हुन् ६१ वार्षीय इन्द्रबहादुर राई । जसले दशकौँदेखि बस्दै आएको घर भत्काएको हेर्न सक्दिनँ भन्दै उनको घरमा डोजर चलाउन लागेकै बेला बागमतीमा हेलिएर प्राण आहुति दिए । अर्को मृत्यु–घटना हो मनोहरा सुकुमबासी बस्तीको ।
सरकारले करिब त्यसैबेला मनोहरा सुकुमबासी बस्ती खाली गर्नका लागि दुई दिनको म्याद दिएपछि मानसिक रूपमा विक्षिप्त भएका १९ वर्षीय रविन तामाङले गत वैशाख १० गते शौचालयमा झुन्डिएर आत्महत्या गरे । यिनै बस्ती खाली गराउने क्रममा त्यही प्रहरीको गोली र लठ्ठीको त्रासमा लखेटिएका सुकुमबासीहरूलाई भेडा–बाख्रा जसरी होल्डिङ सेन्टरहरूमा राखियो । त्यसपछि सरकारले उनीहरूको औकातभन्दा उच्चस्तरको खानपान र स्याहार दिइरहेको भनिरहेका बेला कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय भेषराज दर्जीको समयमै उपचार नपाउँदा जेठ २१ मा मृत्यु भयो ।
चौथोमा त्रिपुरेश्वको व्यस्त क्षेत्रमा गणेश नेपालीको आसर २६ को आत्मदाह प्रकरण पर्छ । यो मृत्युको कारणमा त झन् सोझै नै सरकारको हात रह्यो । गएको बिहीबार राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको हो । यस दिन यता प्रतिनिधिसभाको बैठकममा प्रतिपक्षलाई आक्रोशित बनायो नै जो स्वाभाविक थियो ।
गृहमन्त्रीका आ“सु
तर प्रहरीका तालुकदार गृहमन्त्री सुधन गुरुङले पहिलेजस्तो नाटक देखाए त्यो आफैँमा यो घटनाप्रति सरकार संवेदनशील नभएको बुझाउँछ । समय लिएर रोस्ट्रममा पुगेपछि भक्कानिएर बोल्नै नसकेको जस्तो देखाएर आँसु नै खसाले । रास्वपा सांसद आशिका तामाङ त धुरुधुरु रोइन् नै । तर यी आँसु र यो रुवाइले सरकार कारक भएको यो मृत्युलाई छोप्ने कुरा हुँदैन थियो ।
सत्तारूढ सांसदले छोप्न नखोजेका चाहिँ होइनन् एक जना सांसदले आफू सत्तापक्षको बचाउमा उभिएको लाग्न सक्ने भन्दै पहिले नै आफ्नो बचाउ गरे । उनका अनुसार ‘अब मैले यो भन्दै गर्दा कसैलाई लाग्ला, म सत्तापक्षलाई बचाउन यहाँ उभिएको छु । तर, मान्छेको जीवनभन्दा भारी तर्क अर्को कुनै पनि हुँदैन, कुनै पनि तर्कले मान्छे गुमेको, मान्छेको त्यो जीवन अन्त्य सही छ भनेर कसैले पनि दाबी गर्न सक्दैन । त्यो औकात मसँग पनि छैन र यो संसद्सँग पनि छैन, यो राज्यसँग पनि छैन । यो देशमा दिनमा १८ जना मान्छेले आत्महत्या गर्छन्, त्यो २० प्रतिशत २५ प्रतिशत हो भन्छन् । तथ्यांक हेर्ने हो भने झण्डै ८० जनाले दैनिक आत्महत्याको प्रयास गर्छन् । त्यो कानुनका आधारमा हुन्छ अथवा समाजका आधारमा हुन्छ, राज्यका आधारमा हुन्छ ? कहिले सामाजिक कुरा होला, कहिले मनोसामाजिक कुरा होला, मानसिक स्वास्थ्यको कुरा होला ।’
याद रहोस्, सरकारको प्रत्यक्ष संलग्नताका कारण भएको यो पछिल्लो आत्महत्यामा आत्महत्याको दिनैपिच्छेको उल्लिखित संख्याको प्रस्तुति कति सान्दर्भिक होला भन्ने आफैँ एउटा प्रश्न हुनुपर्छ ।
यो घटना भएको दिन अर्थात् गणेशले ज्यान गुमाएका दिन शुक्रबार प्रतिनिधिसभाको बैठक चल्नेबित्तिकै विपक्षी सांसदहरूले यिनै मुगुका गणेश नेपालीले ज्यान गुमाएको प्रसङ्ग उठाए जो स्वाभाविक पनि हो । वीर अस्पतालमा उपचार हुँदै गर्दा ज्यान गुमाएका २५ वर्षीय नेपालीको मृत्युले मुलुकभर तरङ्ग पैदा गरेको बेला संसद् त झनै आक्रोसित हुने भयो नै ।
नेपालीको मृत्युको कारण राज्य सञ्चालनमा रहेका निकायहरूको कामबाट भएको थियो भन्ने कतै अलिकति पनि शंका रहेको अवस्था थिएन छैन पनि । यो दिन विपक्षीबाट उठाइएका मध्ये पीडितलाई राति नै किन थप उपचारको व्यवस्था गर्न सकिएन, गरिखाने मजदुर वर्गले किन राज्य मेरो हो भन्ने भावना विकास गर्न सकेनलगायतका थिए । गृहमन्त्री गुरुङ जिम्मेवारी बिर्सिएर कन्टेन्ट क्रियटरको भूमिकामा उत्रिएको भन्नेसम्मको आरोप पनि लाग्यो ।
गृहमन्त्रीले आफ्नो जवाफमा भने कुनै संवेदना देखाएनन् । बरु विपक्षीलाई धम्क्याउने क्रममा लागे । उनको भनाइमा संसद्मा बोल्ने विपक्षी दलका सदस्यहरू सबै डाक्टर र विज्ञ भएको देखियो । सरकारका कामले मान्छे मर्नेसम्मको अवस्था आएलगत्तै बसेको संसद्को बैठकमा उनले आफू देश बनाउन आएको भन्ने कुरा पटक–पटक दोहो¥याएकाबाट पनि धेरै कुरा खुल्लान् ।
गणेश नेपालीका बारेमा त यो घटना विपक्षीले गराएको भन्नसम्म भ्याए । उनका अनुसार यो घटनामा संघीय सरकारको नभई काठमाडौं महानगरपालिकाको दोष रहेको छ । ‘काठमाडौंमा कसको सरकार छ थाहा छ नि ?’
उनको भनाइमा यस्तो कानुन नै अघिल्लो सरकारले बनाएको हो, हामीले होइन । अहिले एमालेसम्बद्ध सुनिता डंगोल महानगरको कार्यवाहक मेयर छिन् । हरेक कामहरू गर्दा कानुनी अड्चन आउने गरेका भेटिन्छ । ती सबै कानुनहरू यसअघिका सरकारहरूले बनाएका हुन् । त्यसकारण यो घटना पनि पुराना दलहरूको कारण भएको हुनुपर्छ ।
आत्महत्यामा बालेन पहिले र अहिले
गणेशले आफैँलाई आगो लगाउँदा गृहमन्त्रीले आफ्नो सरकार अर्थात् केन्द्रीय सरकार दोषी होइन, महानगर अर्थात् स्थानीय सरकार हो भने । उनको यो भनाइ संसद्मा रेकर्ड भएको छ ।
ठीक यस्तै घटना काठमाडौंको मेयरमा बालेन शाह हुँदा भएको थियो । त्यसबेलाचाहिँ बालेनले केन्द्रीय सरकार दोाषी रहेको भनेका थिए ।
२०७९ माघ १० गते व्यवसायमा आएका विभिन्न संकट देखाउँदै संसद् भवन नयाँ बानेश्वरअगाडि आफैँले पेट्रोल छर्किएर प्रेम प्रसाद आचार्यले आत्मदाह प्रयास गरेका थिए । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका उनको उपचारको क्रममा निधन भयो ।यो घटनामा काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्रले घटनापछि सामाजिक सञ्जालमा लामो पोस्ट गरे । उनको मोबाइलमा यो अहिले पनि हेर्न पाइएला । त्यसमा उनले लेखेका थिए–‘एक जना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबैभन्दा ठूलो कारण राज्य हो । र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।
उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन् । एकैपल्ट यति धेरै कुराहरू गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियती भोग्न नपरोस् । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जलि छ ।’
संयोग कस्तो भयो भने २०८३ असार २५ गते उस्तै शैलीमा एक २५ वर्षीय युवा गणेश नेपालीले आफैँमाथि पेट्रोल खन्याएर आगो लगाए र गम्भीर घाइते भए । एउटा सरकारी कार्यालय अगाडि आफैँलाई आगो लगाउनुको कारण महानगर प्रहरीको व्यवहार रहेको उनको भनाइ रहेको कुरा प्रमाणित नै भयो । गणेशकै अन्तिम बोलीमा ‘नगर प्रहरीका कारण यस्तो भयो’ भनेका थिए ।
यतिबेला अर्थात् आफ्नो प्रधानमन्त्रित्वकालमा सरकारी कामबाट उत्पन्न भएको गणेश मृत्युको यो घटनामा भने यिनै वालेन्द्र मौन छन् । सम्भवतः एउटा व्यक्तिको एउटै घटनामा दुई प्रकारको भूमिका प्रकट भएको यो अवस्था देश र नागरिकका लागिचाहिँ दुःखद नै हो ।