काठमाडौं, काठमाडौं उपत्यकाका ९ स्थानीय तहले संयुक्त रुपमा रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएका छन् । संविधान दिवसको अवसर पारेर शनिवारदेखि काठमाडौंका छवटा रुटमा ३० वटा रात्रिकालीन बस सेवा सञ्चालनमा आएका हुन् । काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेबाट परीक्षण सुरु गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरिएको हो । यातयात सेवा सञ्चालनको लागि उपत्यकाका नौवटा स्थानीय तहले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
काठमाडौं र ललितपुर महानगरपालिका, बूढानीलकण्ठ, गोदावरी, चन्द्रागिरी, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाका प्रमुखहरु र साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् । रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यातयात सेवालाई अझ विस्तार गर्ने र आवश्यकताका आधारमा आर्थिक दायित्व पनि वहन गर्ने गरी सहकार्य थालेको बताइन् । ‘अब यो सेवा रोकिँदैन । निरन्तर चल्छ । दिगो चल्छ’, उनले भनिन् । संविधानले स्थानीय तहलाई दिएको यातायात व्यवस्थापनसम्बन्धी अधिकारको प्रयोग आफूहरुले गरेको उनको भनाई छ । उनले भनिन्, ‘संविधान र कानुनमा लेखिएका कुरा कागजमा सीमित हुने होइन । नागरिक तहमा अनुभूत हुनुपर्छ ।’
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाबासीको यातायात सहजताका लागि संघीय सरकारले मेट्रो सञ्चालन गर्नुपर्ने बताए । तर संघीय सरकारले मेट्रो चलाउने छाँट नदेखाएपछि स्थानीयस्तरमा सहकार्य गरेर रात्रिबस सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ । ‘उपत्यकाबासीको यातायात सहजताका लागि संघ सरकारबाट मेट्रो सञ्चालनका विषयमा योजना ल्याउनु पर्ने थियो । त्यो विषय अहिले आएको देखिएन । मेट्रो नभएपछि बीआरटी (बस ¥यापिड ट्रान्जिट) हुनुपथ्र्यो । त्यसको पनि केही संकेत छैन । संघबाट केही आएन भनेर हामीले चुप लाग्ने अवस्था छैन । यस कारण हामीले स्थानीय स्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालेका छौँ’, उनले भने ।
रात्रिकालीन बससेवाअन्तर्गत जगाती–सूर्यविनायक हुँदै ठमेलसम्म छवटा, साबिक लगनखेल–बुढानीलकण्ठलाई विस्तार गरी गोदावरीसम्म छवटा, रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा आठवटा, कीर्तिपुर–जमलमा चारवटा, टाखेल–ठमेलमा दुईवटा तथा साबिक नागढुङ्गा–एयरपोर्ट रुटमा चारवटा बस सञ्चालन गरिनेछ । यसअघि लगनखेलदेखि बूढानीलकण्ठ तथा नागढुङ्गादेखि एयरपोर्टसम्म राति ८ बजेदेखि ११ बजेसम्म सातवटा बसमार्फत नमूना सेवा सञ्चालन गरिएको थियो ।
रात्रीकालीन बस सञ्चालनमा लाग्ने खर्च यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले धान्न नसकेमा त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसंख्याका आधारमा काठमाडौं महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले व्यहोर्ने सहमति गरिएको छ । सेवा सञ्चालन गर्न खर्च नपुग भए साझा यातायातले त्रैमासिक रूपमा माग गर्ने सहमतिमा उल्लेख छ । रुटमा यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन् । ती स्थानमा आर्थिक वर्ष २०८३÷८४ भित्र डिजिटल साइनेज बोर्ड जडान गरी डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ ।
निर्धारित रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने दायित्व लिनेछ । चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी सम्बन्धित नगरपालिकाले लिनेछन् । सम्झौताको कार्यान्वयन बारे त्रैमासिक रूपमा सम्बन्धित पक्षको उपस्थितिमा प्रगति समीक्षा बैठक बस्ने र साझा यातायातले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने प्रावधान राखिएको छ ।
उपत्यकामा रातको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार भएपछि अस्पताल, विमानस्थल, बजार तथा अन्य अत्यावश्यक सेवामा आवतजावत गर्ने नागरिकका लागि सार्वजनिक यातायातको विकल्प थपिने अपेक्षा गरिएको छ ।