काठमाडौं, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकलाई न्यून लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सञ्चालनमा ल्याएको हो ।
असोज १ गते आयोजित विशेष कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थितिमा उक्त बीमा योजनाको शुभारम्भ गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १८ वर्षदेखि ६५ वर्षसम्म उमेरका व्यक्तिलाई लक्षित गरी ल्याइएको यस योजनाले विशेषगरी युवा अवस्थामा रहेका परिवारका संरक्षकको व्यावसायिक तथा पारिवारिक दायित्वलाई ध्यानमा राख्दै आर्थिक सुरक्षा प्रदान गर्नेछ ।
‘सन स्मार्ट प्रोटेक्सन’ बीमा योजना कम्पनीका सम्पूर्ण शाखा तथा उपशाखाबाट खरिद गर्न सकिनेछ भने डिजिटल माध्यमबाट समेत सहज रूपमा लिन सकिने व्यवस्था गरिएको छ । डिजिटल माध्यमबाट बीमा खरिद गर्न कम्पनीको वेबसाइट तथा ‘सन कनेक्ट’ मार्फत सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत न्यूनतम १० लाख रुपैयाँदेखि बीमितको आयस्रोतका आधारमा आवश्यकताअनुसार जतिसुकै रकमसम्मको बीमांक छनोट गर्न सकिनेछ । बीमाशुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा भुक्तानी गर्न सकिने सुविधा पनि रहेको छ ।
यस योजनाको मुख्य सुविधाअन्तर्गत बीमितको निधन भएमा बीमांक रकमको शतप्रतिशत दाबी भुक्तानी हुने व्यवस्था गरिएको छ । त्यस्तै, ऐच्छिक सुविधाअन्तर्गत ५० हजार रुपैयाँसम्मको किरिया खर्च र एक लाख रुपैयाँसम्मको ‘सन मेडिकेयर’ आपत्कालीन स्वास्थ्य सेवा सुविधा समेत लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुर्घटना, अशक्तता तथा आपत्कालीन रोगका कारण उत्पन्न हुनसक्ने आर्थिक जोखिम न्यूनीकरण गर्दै दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्नु योजनाको प्रमुख उद्देश्य हो ।
सन नेपाल लाइफ इन्स्योरेन्सले सन् २०७४ असोज ६ गते बीमकका रूपमा दर्ता भई औपचारिक व्यवसाय सुरु गरेको हो। कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ तथा चुक्ता पुँजी पाँच अर्ब २८ करोड रुपैयाँ रहेको छ । आईएसओ २७००१ः२०२२ प्रमाणित कम्पनीले आफूलाई नेपालको पहिलो डिजिटल प्रविधिमैत्री जीवन बीमा कम्पनीका रूपमा स्थापित गरेको जनाएको छ ।
हाल कम्पनीले ४० हजारभन्दा बढी अभिकर्ता तथा एक सय ३६ शाखा तथा उपशाखामार्फत बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले नयाँ योजनामार्फत नागरिकको जीवनमा आइपर्न सक्ने आर्थिक जोखिमलाई सम्बोधन गर्दै परिवारको दीर्घकालीन वित्तीय सुरक्षामा योगदान पु¥याउने लक्ष्य लिएको जनाएको छ ।