काठमाडौं, असोज १ गतेदेखी भृकुटीमण्डपमा सुरु भएको नवौँ सिजी प्रोपर्टी नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी सकिएको छ । आइतबार एक कार्यक्रमका बीच प्रर्दशनीको समापन गरिएको हो । समापन कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले मुलुकको विकासका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए ।
‘सरकार एक्लैले लगानी गरेर देश विकास सम्भव छैन, निजी क्षेत्रलाई पनि सँगै लिएर जानुपर्छ,’ उनले भने । उनले पूर्वाधार विकाससँगै व्यवस्थित, सुरक्षित र गुणस्तरीय आवास निर्माणमा पनि ध्यान दिनुपर्ने बताए । कार्यक्रममा उनले जग्गा तथा आवास क्षेत्रका समस्या समाधानको लागी आवश्यक कानुनी सुधारमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । राज्यले निजी लगानीलाई प्रोत्साहन गर्न लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए । हदबन्दीलगायतका समस्या समाधान गरी निजी क्षेत्रको लगानी परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।
सांसद रुकेस रञ्जितले नेपालको अर्थतन्त्र सुधारको दिशातर्फ अघि बढिरहेको दाबी गरे । प्रदर्शनीमा देखिएको उत्साह र सहभागिताले निजी क्षेत्र तथा व्यवसायीमा रहेको सम्भावनालाई समेत उजागर गरेको उनको भनाइ छ । घरजग्गा व्यवसायलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै उनले समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । घरजग्गा व्यवसायमा हदबन्दी लगाउने र कर मात्रै बढाउने नीतिले व्यवसायलाई प्रोत्साहन गर्न नसक्ने उनको भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले घरजग्गा व्यवसायमा कायम हदबन्दीको व्यवस्था पुनरवलोकन गर्नुपर्ने बताए । निजी क्षेत्रलाई सहज वातावरण बनाउन नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ छ । वरिष्ठ उपाध्यक्ष मल्होत्राले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा तथा आवास क्षेत्रमा जाने कर्जामा लोन–टु–भ्यालु रेसियो कम्तीमा ७० प्रतिशत कायम गर्नुपर्ने माग राखे । यसबाट घरजग्गा तथा आवास क्षेत्रमा लगानी विस्तार भई बजारमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रमका सभापति ई. दीपक कुँवरले प्रदर्शनीले जग्गा, आवास तथा निर्माण क्षेत्रका व्यवसायी, उपभोक्ता र सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क तथा संवादको अवसर सिर्जना गरेको बताए । जग्गा, आवास तथा निर्माण क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा करिब २४० उद्योग तथा व्यवसाय जोडिएको उल्लेख गर्दै यस क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताए ।