काठमाडौं, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ता तथा अभिकर्ता लिडरहरूलाई सम्मान गर्दै कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्ण रूपमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सीईओ प्रसाईंले अभिकर्ता पेशा अंगालेर उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ता लिडरहरूको योगदानको उच्च मूल्यांकन गर्दै कम्पनीले सम्मान गरेको बताए । यस्ता सम्मान तथा प्रोत्साहनका कार्यक्रमले अभिकर्ता लिडरहरूमा आत्मसम्मान बढाउनुका साथै आगामी दिनमा थप व्यावसायिक सफलता हासिल गर्न हौसला प्रदान गर्ने उनको भनाइ थियो । उनले अभिकर्ताहरूलाई उच्च मनोबलका साथ व्यवसाय विस्तार गर्न कम्पनीका तर्फबाट आवश्यक साथ, सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
आर्थिक वर्ष २०८२/०८३ को सफलताको उत्सव मनाउने क्रममा सीईओ प्रसाईंले आर्थिक वर्ष २०८३/०८४ लाई ‘तयारी जीतको वर्ष’का रूपमा अघि बढाउँदै अर्को सफलताको मानक कायम गर्न सहभागीहरूलाई उत्प्रेरित गरेका थिए । त्यस्तै, कम्पनीका नेसनल सेल्स हेड तथा नायब महाप्रबन्धक सोनबहादुर मगरले आर्थिक वर्ष २०८२/०८३ मा हासिल भएको सफलताले आर्थिक वर्ष २०८३/०८४ को ‘तयारी जीत’ लक्ष्य हासिल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले आगामी दिनमा समेत व्यवसाय विस्तार र उत्कृष्ट नतिजाका लागि अभिकर्ताहरूको सक्रिय भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा आचार्य राजाबाबु साहले ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षण सत्रले अभिकर्ताहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै सकारात्मक सोच र व्यवसाय वृद्धिका लागि थप ऊर्जा प्रदान गरेको कम्पनीले जनाएको छ । देशभरबाट कम्पनीका व्यवस्थापक तथा अभिकर्तासहित करिब दुई सय जनाको सहभागिता रहेको कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई कर्पोरेट क्लब अवार्डबाट सम्मान गरिएको थियो । कम्पनीले आफ्ना अभिकर्ताहरूको मनोबल र व्यावसायिक क्षमता अभिवृद्धिका लागि विभिन्न मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको जनाएको छ ।