काठमाडौं, पछिल्लो समय बैंकिङ क्षेत्रमा कर्जा असुलीको समस्या झन्झन् भयावह बन्दै गएको छ । ऋणीले लिएको कर्जा समयमै तिर्न नसकेपछि धितो लिलाम गरेर आफ्नो स्वामित्वमा ल्याएका घरजग्गा तथा अन्य सम्पत्ति बैंक तथा वित्तीय संस्थाका लागि ठूलो वित्तीय बोझ बन्न थालेको हो ।
कर्जा प्रवाह गरेर ब्याज आम्दानी गर्ने उद्देश्य राखेका बैंकहरू अहिले ऋणीबाट रकम असुल गर्न नसकेर अर्बौँ रुपैयाँका घरजग्गा र अन्य सम्पत्तिको मालिक बन्नुपर्ने अवस्थामा पुगेका छन् । गैरबैंकिङ सम्पत्तिको निरन्तर बढ्दो आकारले नेपालको बैंकिङ क्षेत्रको कर्जा व्यवस्थापन, ऋणी छनौट, धितो मूल्यांकन र जोखिम नियन्त्रण प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंकिङ क्षेत्रमा कर्जा असुलीको समस्या सामान्य अवस्थामा नरहेको स्पष्ट संकेत गरेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १६ वटा फाइनान्स कम्पनीहरूको कुल गैरबैंकिङ सम्पत्ति ५६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो सम्पत्ति ५० अर्ब ७५ करोड २० लाख रुपैयाँ थियो । यसरी एक वर्षको अवधिमै बैंक तथा फाइनान्स कम्पनीहरूको कुल गैरबैंकिङ सम्पत्ति छ अर्ब आठ करोड ८० लाख रुपैयाँ अर्थात १२ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गैरबैंकिङ सम्पत्तिको सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरूमा केन्द्रित रहेको छ । चालू आवको पछिल्लो दुई महिनामा वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब ६९ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो सम्पत्ति ४२ अर्ब ९१ करोड रुपैयाँ थियो । सोअनुसार पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरूको मात्र कुल गैरबैंकिङ सम्पत्ति चार अर्ब ७८ करोड ६० लाख रुपैयाँ अर्थात् ११ दशमलव १५ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा हाल कायम रहेको कुल गैरबैंकिङ सम्पत्तिमध्ये झण्डै ८३ दशमलव नौ प्रतिशत हिस्सा वाणिज्य बैंकहरूमै केन्द्रित रहेको छ ।
वृद्धिदरका आधारमा विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति पनि निकै उच्च देखिएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको भदौ मसान्तसम्म विकास बैंकहरूको कुल गैरबैंकिङ सम्पत्ति पाँच अर्ब ८४ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो सम्पत्ति चार अर्ब ७७ करोड ३० लाख रुपैयाँ थियो । यसरी एक वर्षमा विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति एक अर्ब छ करोड ९० लाख रुपैयाँले बढेको छ । यो २२ दशमलव ४० प्रतिशतको वृद्धि हो ।
वाणिज्य बैंकहरूको तुलनामा विकास बैंकहरूको गैरबैंकिङ सम्पत्तिको कुल आकार सानो भए पनि वृद्धि हुने गति भने निकै उच्च देखिएको छ । एक वर्षमै २२ प्रतिशतभन्दा बढीले गैरबैंकिङ सम्पत्ति बढ्नो वित्तीय स्वास्थका दृष्टिकोणले राम्रो हो । यसले विकास बैंकहरूको ऋणी छनौट, धितोको यथार्थपरक मूल्यांकन, कर्जा प्रवाहको अनुगमन तथा कर्जा असुली रणनीतिमा गम्भीर पुनरवलोकन गर्न आवश्यक रहेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो समय फाइनान्स कम्पनीहरूमा पनि गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ । चालू आवको भदौ मसान्तसम्म फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति तीन अर्ब ३० करोड २० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो सम्पत्ति तीन अर्ब छ करोड ९० लाख रुपैयाँ थियो । यसरी एक वर्षमा फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति २३ करोड ३० लाख रुपैयाँले बढेको छ । यो वृद्धि भनेको कुल गैरबैंकिङ सम्पत्तिको करिब छ प्रतिशत हो ।