काठमाडौं, दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल पुँजी साँढे एक अर्ब पुगेको छ । सोमबार सम्पन्न संस्थाको २९औँ वार्षिक साधारणसभामा उक्त जानकारी दिइएको हो ।
संस्थाका कोषाध्यक्ष मोहनकुमार खड्काले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कुल पुँजी १ अर्ब ४२ करोड रुपैयाँ बराबर पुगेको बताए । २२ हजार २७ जना सदस्य रहेको संस्थाको सेयर पुँजी १० करोड २४ लाख रुपैयाँ रहेको छ । त्यसैगरी बचत निक्षेप १ अर्ब १३ करोड ५३ लाख रुपैयाँ पुगेको छ भने ९७ करोड ८२ लाख रुपैयाँ बराबरको ऋण लगानी गरेको छ । संस्थाको संस्थागत पुँजी ९ करोड १० लाख १६ हजार रुपैयाँ रहेको छ ।
संस्थाले पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीको विकास तथा विस्तारलाई प्राथमिकतामा राखेको छ । संस्थाका प्रमुख व्यवस्थापक भेषराज मिजारले प्रविधिको प्रयोग बढ्दै गएसँगै सहकारीका वित्तीय कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने काम भइरहेको जानकारी दिए । सदस्यले बचत जम्मा, रकम स्थानान्तरण, भुक्तानी तथा कारोबारसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने गरी डिजिटल सेवा विस्तार गरेका छौँ । उनले भने, ‘आगामी दिनमा अझ सुरक्षित, भरपर्दो र सदस्य–मैत्री डिजिटल वित्तीय सेवा विस्तार गर्दै जाने योजना छ ।’
साधारणसभाको अवसरमा संस्थाले जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान तथा सम्मान गरेको थियो । साथै, ज्येष्ठ सदस्य, नियमित बचतकर्ता, असल ऋणी, उत्कृष्ट सेयर खरिदकर्ता लगायत विभिन्न विधाका सदस्यलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष माधव दाहालको अध्यक्षता तथा बागमती प्रदेश प्रोस्कुनका वरिष्ठ उपाध्यक्ष जीवशराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा आर्थिक वर्ष २०८२÷०८३ का गतिविधि, आर्थिक अवस्था तथा आगामी योजना प्रस्तुत गरिएको थियो । सञ्चालक समितिको प्रतिवेदन सचिव लक्ष्मण चौलागाईंले प्रस्तुत गरेका थिए । सभामा पेस भएका सबै प्रतिवेदन पारित भएका छन् ।