काठमाडौं, ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी) ले काठमाडौंमा चारदिने सीसीबी प्रोफेसनल बीपीसी क्रिकेट लिग २०२६ आयोजना गर्ने भएको छ । प्रतियोगिता सेप्टेम्बर २३ देखि २६ गतेसम्म बुढानीलकण्ठ, चुनिखेलस्थित रोयल स्पोट्र्स पार्कमा सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा सीसीबी विद्यार्थी, एफिलिएट, सदस्य, सीसीबी अप्रुभ्ड लर्निङ पार्टनर्स, सीसीबी अप्रुभ्ड एम्प्लोयर्स तथा व्यक्तिगत सीसीबी सदस्यका टोली सहभागी हुनेछन् ।
प्रतियोगितामा विभिन्न संस्था तथा सीसीबी समुदायको प्रतिनिधित्व गर्ने १६ टोली सहभागी हुने आयोजकले जनाएको छ । सहभागी टोलीमा ब्रिटिस प्रोफेसनल कलेजका दुई टोली, सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए) का तीन टोली, स्पिड एकेडेमीका दुई टोली तथा अन्य विभिन्न संस्थाका एक–एक टोली छन् ।
प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ५० हजार रुपैयाँ रहेको छ । बीपीसीका अनुसार प्रतियोगितामार्फत सीसीबी विद्यार्थी, पेशागत जनशक्ति र सदस्यलाई खेलकुदको साझा मञ्चमा सहभागी गराउँदै टिमवर्क, नेतृत्व, सञ्चार तथा नेटवर्किङलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । प्रतियोगिताको शीर्ष प्रायोजक सीसीबी रहेको छ । यस्तै, अवनत ट्रेडिङ, अक्सफोर्ड एजुकेसनल हब, शुभकाम इन्टरनेसनल हस्पिटल र एजीके पार्टनर्सले प्रतियोगितालाई सहयोग गरेका छन् ।