दाङ, नेपाल मौसम विज्ञान विभागले प्रदेशमा मेघगर्जन, चट्याङ र हुरीबताससहित अतिभारी वर्षा हुनसक्ने सम्भावित प्रक्षेपण गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज ९ गतेदेखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई अपिल गरेका छन् ।
मुख्यमन्त्री आचार्यले बुधबार बिहान अपिल जारी गर्दै नदी, खोलानालामा पानीको सतह बढ्न सक्ने र सडक तथा यातायातसमेत प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
पहिरोको जोखिम रहेका बस्ती, नदी, खोलाकिनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचना तथा निर्देशन पालना गर्न मुख्यमन्त्री आचार्यले आग्रह गरेका छन् । वर्षाका समयमा जोखिम मोलेर खेतबारीमा काम नगर्न र सम्भव भएसम्म अन्नबाली सुरक्षित स्थानमा व्यवस्थापन गर्न उनको आग्रह छ ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायलाई पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन गरिएको जानकारी दिए । भारी वर्षाको समयमा अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, बाढी तथा डुबान भएका सडकबाट आवतजावत नगर्न उनले प्रदेशवासीलाई आग्रह गरेका छन् ।