काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूबीच ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रोभिन्स–०८३/०८४’ कार्यक्रम आयोजना गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा तथा चालू आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकको केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप प्रभावकारी तथा सुदृढ बनाउने विषयमा समेत गहिरो अन्तरक्रिया भएको थियो ।
सुदूरपश्चिम प्रदेशका सात जिल्लामा सिटिजन्स बैंकका १० वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् । बैंकले प्रदेशगत व्यवसाय विस्तार, कर्जा गुणस्तर अभिवृद्धि तथा बजार सम्भावनाको उपयोग गर्ने उद्देश्यले विभिन्न प्रदेशमा यस्ता रणनीतिक सेमिनार आयोजना गर्दै आएको छ । यसअघि बैंकले बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्परेटिभ्स फर बागमती प्रदेश’, कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ तथा मधेश प्रदेशमा ‘ड्राइभिङ हाइ–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४’ कार्यक्रम सम्पन्न गरिसकेको छ । सोही कार्यक्रमको निरन्तरताका रूपमा सुदूरपश्चिममा सेमिनार आयोजना गरिएको बैंकले जनाएको छ । अन्य प्रदेशमा पनि क्रमशः यस्ता कार्यक्रम आयोजना गरिने बताइएको छ ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह एक दशमलव २४ प्रतिशतले वृद्धि भई एक खर्ब ७७ अर्ब ३३ करोड पुगेको छ । त्यसैगरी निक्षेप संकलन नौ दशमलव २२ प्रतिशतले बढेर दुई खर्ब ३३ अर्ब ८१ करोड पुगेको छ । सो अवधिमा बैंकको खुद नाफा ६३ दशमलव शून्य पाँच प्रतिशतले वृद्धि भई दुई अर्ब ९ करोड ८६ लाख पुगेको छ ।
बैंकले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गर्न सफल भएको जनाएको छ । त्यस्तै, फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बैंकको भनाइ छ ।
हालै बैंकले नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ पनि सुरु गरिएको बैंकले जनाएको छ । यसैगरी, बैंकले मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने ‘क्रस बैंक टेलर’ सुविधा पनि बैंकले उपलब्ध गराएको छ ।
बैंकले हाल देशका ६१ जिल्लामा फैलिएका दुई सयवटा शाखा, एक सय ६७ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर तथा ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।