दशैँ नेपाली समाजको पारिवारिकता, आत्मीयता, सद्भावमा आधारीत पुनर्मिलन संस्कृति र मनोरञ्जनसँग जोडिएको महान पर्व हो । वर्षभरि आ–आफ्नो काम, जिम्मेवारी र व्यस्ततामा टाढिएका मानिसलाई फेरि एउटै छानामुनि ल्याएर जोड्ने अदृश्य शक्ति दशैँसँग छ । हामीमध्ये धेरैले बाल्यकालमा दशैँलाई अर्कै ढङ्गले अनुभव गरेका थियौँ । घरको लिपपोत, नयाँ कपडा किनकान, पिङको चचहुईलगायत टाढा टाढाबाट आफन्त आउने खबरले घरमा छुट्टै उत्साह छाउँथ्यो । बाटोभरि परिचित अनुहारहरू देखिन्थे । हजुरबा–हजुरआमाको वरिपरि बसेर पुराना कथा सुन्ने अवसर मिल्थ्यो । टीका लगाएर दक्षिणा थाप्दा बाल संसारकै ठूलो उपलब्धि हासिल गरेजस्तो लाग्थ्यो । खेतमा जादा धानको बास्ना, बारीमा जादा कोदोको बास्ना र घर वरिपरि लटरम्म फुलेका फुलका बास्नाले मनमा बेग्लै उमंग दिन्थ्यो ।
तर अहिले समय बदलिएको छ । गाउँका चौतारीहरू सुनसान हुँदैछन्, सहरका अपार्टमेन्टहरू भरिँदै छन । रोजगारी र अध्ययनका लागि युवाहरू देश परदेश पुगेका छन् । संयुक्त परिवार क्रमशः एकल परिवारमा रूपान्तरण हुँदै छन् । हातमा चिठी बोकेर सम्झनाको सञ्चार हुने समय अहिले मोबाइलको भिडियो कलमा वा ल्यापटपको स्क्रीनमा सीमित हुन थालेको छ । पिङको ठाउँमा सामाजिक सञ्जालका ‘स्टोरी’ र शुभकामनाले स्थान लिन थालेका छन् । त्यसैले प्रश्न स्वाभाविक छ : बदलिँदो जीवनशैलीसँगै दशैँको आत्मा पनि बदलिँदै गएको त छैन ?
दशैँको बाहिरी स्वरूप जति आकर्षक छ, यसको सामाजिक अर्थ त्यसभन्दा गहिरो छ । यो परिवारसँग जोडिने, टाढिएका सम्बन्धलाई नजिक ल्याउने, मनमुटाव बिर्सने र सामाजिक सद्भाव पुनःस्थापित गर्ने अवसर हो । वर्षभरि आफ्नै व्यस्ततामा अल्झिएका मानिसहरू दशैँमा घर सम्झन्छन् । बाबुआमाको हातबाट पस्किएको कसौंडीको खाना, गाउँको ढुङ्गा छपाएको बाटो, बर पिपल चौतारी, मिठो पानीको मूलसंगै कलकल बग्ने पँधेरो, बाल्यकालका साथी, मिठा सेलरोटी, स्वादिलो मासु, मासु काटीसकेपछि सामूहिक रुपमा बसेर खाएको भुटन, पुरानो घर र आँगनमा बसेर गरिने पारिवारिक कुराकानीको मूल्य यही बेला बढी महसुस हुन्छ । गाउँका पिँढी र आगनीमा वर्षदिनभरीका आफ्ना कथा व्यथा साटासाट गर्दा संसार बिर्सिने स्वर्गिय आनन्द आउँछ । त्यसैले दशैँको वास्तविक सुन्दरता टीकाको रातोपनमा मात्र होइन, त्यस टीकासँग जोडिएको आत्मीयता, आशीर्वाद, भावना र प्रेममा जोडिएको छ ।
दशैँले हामीलाई एउटा महत्वपूर्ण कुरा सिकाउँछ– मानिस जतिसुकै महान र जतिसुकै आधुनिक भए पनि उसलाई आफ्नो जरा चाहिन्छ । विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नोपनको खोजी अन्ततः घरकै आँगनमा आएर टुङ्गिन्छ । यस सन्दर्भमा डा. उपेन्द्र देवकोटाले जिवनको अन्तिम समयमा गोर्खा स्थित आफ्नै पण्डितगाउँ स्थित शिस्नेधाराको पानी पिउने ईच्छा प्रकट गरेको कुरा अति कारुणिक छ । दशैँको माहोलमा त झन् गाउँ घरका ससाना घरहरु नै हामी सवैका लागि स्वर्गका दरबार लाग्दछन् । थोरै धन हुनेको पनि मन मस्त हुन्छ अनि त्यही मस्त मनबाट मान्छे हुन्छ स्वादिलो खानपिनमा अभ्यस्त ।
समाजमा आर्थिक अवस्था समान छैन । सबै परिवारले समान ढङ्गले दशैँ मनाउन सक्दैनन् । कसैको घरमा नयाँ कपडा आउँदा कसैको घरमा सामान्य खानाको जोहो गर्न पनि कठिन हुन सक्छ । त्यसैले दशैँको वास्तविक संस्कार त्यतिबेला प्रकट हुन्छ, जब हाम्रो खुसीमा अरूको पीडा पनि देखिन्छ । आफ्नो घरमा टीका लगाउँदै गर्दा छिमेकीको खाली चुलो सम्झिन सक्नु, आफूले मिठो भोजन गरिरहँदा विपन्न परिवारका बालबालिकालाई सम्झन सक्नु र आफ्नै खुसीलाई सामाजिक सद्भावसँग जोड्न सक्नु नै यस पर्वको मानवीय पक्ष हो । अतः दशैँ देखावटी धनको प्रदर्शन भन्दा पनि आनन्दित मनको पर्व हो ।
समयसँगै दशैँको स्वरूप परिवर्तन हुनु स्वाभाविक हो । नयाँ कपडा, आधुनिक खानपान, डिजिटल शुभकामना, अनलाइन किनमेल र यात्राको नयाँ संस्कृतिले दशैँलाई अझ विविध बनाएको छ । तर यही परिवर्तनसँगै उपभोक्तावादको प्रभाव पनि बढेको छ । दशैँ खुसी बाँड्ने पर्व हो न कि खर्च प्रदर्शन गर्ने प्रतिस्पर्धा । नयाँ लुगा लगाउनु, मीठो खाना खानु वा आफन्तलाई उपहार दिनु नराम्रो होइन । समस्या त्यतिबेला सुरु हुन्छ, जब पर्वको मूल्य मानिसको आर्थिक क्षमताभन्दा ठूलो बन्न पुग्छ । ऋण लिएर चाड मनाउने, सामाजिक प्रतिष्ठाका लागि अनावश्यक खर्च गर्ने र अरूसँग तुलना गर्ने प्रवृत्तिले दशैँको आत्मीयतालाई बोझमा परिणत गर्न सक्छ ।
दशैँको अर्थ महँगो उपहारमा होइन, स्नेहमा छ । ठूलो भोजमा होइन, सँगै बसेर खाने एक छाक खानामा छ । महँगो यात्रामा होइन, घर फर्कने चाहनामा छ । दशैँमा नयाँ कपडा किनिन्छ । नयाँ सामान घरमा ल्याइन्छ । मीठा–मीठा परिकार बनाइन्छ । यो स्वाभाविक पनि हो । पर्वमा खुसी मनाउनु जीवनको सुन्दर पक्ष हो । तर पछिल्लो समय कतिपय अवस्थामा दशैँ आवश्यकता पूरा गर्नेभन्दा प्रदर्शन गर्ने अवसर बन्न थालेको देखिन्छ । कसले कति महँगो कपडा लगायो ? कसले कति ठूलो भोज ग¥यो ? को कहाँ घुम्न गयो ? कसले कति महँगो उपहार दियो ? यदि दशैँ पनि यस्तै प्रतिस्पर्धामा सीमित भयो भने यसको आत्मीयता कहाँ बाँकी रहन्छ र ? त्यसैले दशैँको खुसीलाई खर्चसँग मात्र जोडेर नहेरी यसलाई हामीले उपभोगको उत्सवभन्दा सम्बन्धको उत्सव बनाउन सके यसको मौलिकता अझ बलियो हुनेछ ।

नेपाली दशैँको सबैभन्दा मार्मिक पक्ष आज विदेशिएका नेपालीहरूको कथा हो । हजारौँ घरका ढोकाहरू आफ्ना सन्तानको प्रतीक्षामा हुन्छन् । विमानस्थलमा झोला बोकेर फर्किने युवाको अनुहारमा केवल यात्राको थकान हुँदैन, त्यहाँ घर फर्किएको खुसी पनि हुन्छ । कतिपयका लागि दशैँमा घर फर्किनु सम्भव हुन्छ, कतिपयका लागि हुँदैन । फोनको स्क्रिनमा देखिने आमाको अनुहार, भिडियो कलबाट दिइने टीका र डिजिटल शुभकामनाले दूरी घटाउने प्रयास त गर्छ, तर घरको आँगनको आत्मीयतालाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्दैन । यही कारण दशैँले हामीलाई एउटा अर्को प्रश्न पनि सोध्छ– किन हाम्रा युवाहरू आफ्नो परिवारसँग चाड मनाउन पनि विदेशमा निर्भर हुनुपर्ने अवस्था आयो ? दशैँको खुसीसँगै देशभित्रै रोजगारीका अवसर र सम्मानजनक जीवन निर्माण गर्ने राष्ट्रिय आकांक्षा पनि जोडिनुपर्छ । घर फर्कने चाहना मात्र होइन, घरमै भविष्य देख्न सक्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता हो ।
दशैँका विधि फरक हुन सक्छन्, मनाउने शैली फरक हुन सक्छ, तर यसको मूल भाव– आत्मीयता, पारिवारिक एकता, सद्भाव र शुभेच्छा– नेपाली समाजको साझा सम्पत्ति हो । आज विश्वव्यापीकरणले हाम्रो जीवनशैली परिवर्तन गरिरहेको छ । नयाँ संस्कृति सिक्नु र नयाँ प्रविधि अपनाउनु आवश्यक छ । तर आधुनिक हुनु भनेको आफ्नो जरा बिर्सनु होइन । बरु आधुनिकतासँग मौलिकताको सन्तुलन कायम गर्नु नै परिपक्व समाजको पहिचान हो । हामीले दशैँलाई संग्रहालयमा राखिएको पुरानो संस्कृतिजस्तो होइन, समयसँगै आफूलाई परिमार्जन गर्दै अघि बढ्ने जीवित परम्पराका रूपमा बुझ्नुपर्छ ।
समय फेरियो, मानिस फेरिए, जीवनशैली फेरियो, तर दशैँको मूल भावना– आत्मीयता, आशिष, भेटघाट, सद्भाव र पुनर्मिलन अझै जीवित छ । अब हाम्रो जिम्मेवारी यसलाई अझ अर्थपूर्ण बनाउनु हो । दशैँ यसपटक मौलिक ढंगले मनाउन सकिन्छ– आफन्तसँग भेट्ने, पुरानो रिस बिर्सने, आमाबुवासँग व्यवहारिक कुराकानी गरेर बस्ने, बालबालिकासँग संवाद गर्ने, फूल, माला, पिङ्को लठो, मासु, खाद्यान्न लगायतमा स्थानीय उत्पादन प्रयोग गर्ने, फजुल खर्च घटाउने र आफ्नो खुसीमा अरूको खुसी पनि जोड्ने । यसो गरेमा दशैँ मौलिक संस्कृति मात्र होईन जराधार तहका नागरिकहरुको मन मस्तिष्क समेट्ने साझा पर्व बन्न पुग्दछ ।
अन्त्यमा टीका निधारमा केही दिन मात्र रहन्छ । जमरा केही दिनमा ओइलाउँछ । नयाँ कपडा पुरानो हुँदै जान्छ । पिङ पनि एकदिन थन्काइन्छ । तर दशैँमा भेटिएको आत्मीयता, आमाको हातको खाना, बाबुको आशीर्वाद, दाजुभाइको अँगालो र आफन्तसँग बाँडिएको खुसी लामो समयसम्म मनमा रहन्छ । त्यसैले दशैँलाई केवल मनाउने होइन, बाँच्ने पर्व बनाऔँ । खर्च बढाउने होइन, आफ्नो संस्कृति जोगाऔँ । समयानुकुल परिष्कृत गर्दै परम्परालाई निरन्तरता दिऔँ तर त्यसमा मानवीयता थप्दै प्रविधिलाई अपनाऔँ । सुख खोजौं समृद्धि खोजौं, तर समृद्धिको पहिलो मापदण्ड आफ्नै परिवारको खुसी र समाजको सद्भावलाई बनाऔँ । दशैँको टीकाले निधार मात्र नछोओस्, हाम्रो सोच पनि छोओस् ।
जमराले घर मात्र नसजाओस्, हाम्रो सम्बन्धमा पनि हरियाली ल्याओस् र गाउँ घर फर्किने दशैँले केवल यात्राको दूरी नघटाओस्, मन मनको दूरी पनि घटाओस् । किनकि दशैँको वास्तविक विजय शक्तिको होइन, सम्बन्धको विजय हो । यही सम्बन्ध जीवित रहेसम्म नेपाली संस्कृति जीवित रहनेछ । दुर्गाभवानी र मान्यजनको आशीर्वादले हाम्रो जीवनमा उन्नति, प्रगति र समृद्धिको बहार ल्याउनेछ । अनि मात्र दशैँ एकता, पुनर्मिलन, संस्कृति र मनोरञ्जनको भव्य पर्वको रुपमा अनुभुत हुनेछ । (सहायक निर्देशक, नेपाल विद्युत् प्राधिकरण)