नेपालको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड बडादशैँ हो । यो हिन्दू धर्मावलम्बीहरूका लागि मात्र नभएर, समग्र नेपाली समाजको सांस्कृतिक, धार्मिक, आर्थिक र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको छ । यो पर्व आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) बाट सुरु भएर कोजाग्रत पूर्णिमासम्म लगभग १५ दिनसम्म चल्ने यो पर्व देवी दुर्गाको महिषासुरमाथि विजयको प्रतीक हो । यस पर्वमा परिवारहरू एकत्र हुन्छन्, टीका–जमरा लगाउँछन्, पूजाआराधना गर्छन् र विशेष गरी मासुजन्य परिकारको उपभोग बढ्छ । यसै कारण दशैँको समयमा पशुजन्य बजारमा खसीबोका, भेडा, च्याङ्ग्रा, राँगा, कुखुरा आदिमा असाधारण गतिविधि हुन्छ । संघारमा आएको दशैँले देखाए अनुसार पशुजन्य बजारमा मूल्य, आपूर्ति, खपत र व्यापारमा उल्लेखनीय परिवर्तन आएका छन् । जसमा भन्ने नै हो भने भोटेकोशी बाढीपहिरो, भारी वर्षा, सडक अवरोध, सरकारी खरिद कार्यक्रमको स्थगन, मूल्य वृद्धि र उपभोक्ता खर्चमा सावधानी जस्ता कारकहरूले यस बजारलाई प्रभावित बनाएका छन् ।
दशैँको सांस्कृतिक र धार्मिक पृष्ठभूमि
दशैँलाई शक्ति उपासनाको पर्वका रूपमा लिइन्छ । फलतः घटस्थापनाका दिन कलश स्थापना गरी जौको बीउबाट जमरा उमार्ने परम्परा छ । महाअष्टमी र महानवमीमा देवीको विशेष पूजा हुन्छ भने विजयादशमीमा टीका र जमरा लगाएर आशीर्वाद लिइन्छ । धेरै परिवारहरूमा अझै पनि देवीलाई बली चढाउने चलन छ । जसले गर्दा खसीबोका र भेडाको माग अत्यधिक बढ्छ । तसर्थ सहरी क्षेत्रमा बलीको सट्टा प्रतीकात्मक पूजा बढे पनि मासु उपभोगको परम्परा कायमै छ । यसै समयमा गाउँघरमा पिङ, चङ्गा उडाउने, परिवारिक जमघट र भोजभतेर यस पर्वका अभिन्न अंग हुन् । जसमा भन्ने नै हो भने आर्थिक रूपमा दशैँले कृषि, पशुपालन, यातायात, खुद्रा व्यापार र होटल व्यवसायलाई ठूलो प्रोत्साहन दिन्छ । पशुपालक किसानहरूका लागि यो वर्षको सबैभन्दा ठूलो आम्दानीको मौका तथा समय पनि हो ।
कारोबार खस्किँदा ग्रामीण अर्थतन्त्रमा पर्ने असर
दशैँमा हुने खसीबोकाको व्यापार ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो । विशेषगरी पहाडी तथा हिमाली जिल्लाका धेरै परिवारले भेडा, बाख्रा र च्याङ्ग्रा पालनलाई आयआर्जनको माध्यम बनाएका छन् । स्थानीय बजारमा पशु बिक्री हुँदा किसानको हातमा नगद पुग्छ । त्यही रकम स्थानीय पसल, कृषि सामग्री बिक्रेता, सहकारी, यातायात व्यवसायी र अन्य सेवा प्रदायकसम्म पुग्छ । यदि दशैँको समयमा पशुको बिक्री घट्यो भने यसको असर गाउँको समग्र आर्थिक गतिविधिमा पर्न सक्छ । किसानले अपेक्षित आम्दानी प्राप्त नगर्दा लत्ताकपडा, खाद्यान्न, घरायसी सामग्री तथा अन्य आवश्यक वस्तुको खरिद घटाउन सक्छन् । स्थानीय पसलको बिक्री घट्न सक्छ र साना व्यवसायीको आम्दानीमा पनि दबाब पर्न सक्छ ।
पशुजन्य बजारको संरचना र आपूर्ति श्रृंखला
नेपालमा दशैँका लागि खसीबोका मुख्यतया पहाडी र तराईका जिल्लाहरूबाट आउँछन् भने भेडा र च्याङ्ग्रा हिमाली जिल्लाहरूमा मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, मनाङ आदिबाट विभिन्न देशका प्रमुख सहरी क्षेत्रहरूमा व्यापारीहरूले बिक्रीका लागि ल्याउने गर्छन् । त्यस्तैगरी काठमाडौं उपत्यकाको मुख्य बजारहरूमा बल्खु, कलंकी, तुकुचा, भृकुटीमण्डप र सल्लाघारी (भक्तपुर) प्रमुख हुन् । पोखरा, बुटवल, चितवन र अन्य सहरहरूमा पनि यस्तै बजारहरू सक्रिय हुन्छन् । यसरी आपूर्ति श्रृंखलामा किसान, स्थानीय व्यापारी, यातायात, सहरका थोक बजार, खुद्रा बिक्रेता, उपभोक्ताहरू आदि समावेश हुन्छन् । हिमाली क्षेत्रबाट च्याङ्ग्रा र भेडा ल्याउन हप्तौं लाग्छ । मुस्ताङबाट काठमाडौं आउने बाटोमा स्थानीय सरकारहरूले कर लगाउने गरेकाले यातायात खर्च बढेको छ । स्वास्थ्य जाँच अनिवार्य छ र पशु सेवा विभागले दशैँ अवधिमा विशेष व्यवस्था मिलाउँछ ।
यसपालि दशैँमा काठमाडौँ उपत्यकामा मात्र ४० हजार संख्यामा खसीबोका र च्याङ्ग्राको खपत हुने भएको छ । फलतः दशैँमा मासुको उपभोग अत्यधिक हुने हुँदा खसीबोकाको खपत धेरै हुने गर्छ । गत वर्ष दशैँमा उपत्यकामा ५० हजारदेखि ५५ हजारको संख्यामा खपत भएकोमा यस वर्ष त्योभन्दा घटेर ४० हजारदेखि ४२ हजार संख्यामा खसीबोका खपत हुने अनुमान गरिएको काठमाडौँ चौपाया खरिदबिक्री संघले जनाएको छ । गत भदौं १० गतेको बाढीपहिरो असोज ८ देखि असोज १२ गतेसम्मको बाढीपहिरो कारणले खसीबोका ल्याउन कठिन हुने र मूल्य बढेका कारण कम खपत हुने व्यवसायीले अनुमान गरेका छन् । दशैँमा उपत्यकामा ठूलो संख्यामा खसीबोका खपत हुने गर्दा व्यवसायीले गाउँ गाउँमा गएर खरिद गरी ल्याएर बिक्री गर्छन् । त्यस्तैगरी काठमाडौँ चौपाया खरिदबिक्री संघको भनाइ अनुसार गत वर्ष जिउँदो खसी प्रतिकेजी छ सयदेखि ६५० रुपियाँ रहेकोमा यस वर्ष बढेर आठ सयदेखि ८५० पुगेको छ । मूल्य बढ्दा खपतसमेत घट्ने गर्छ ।
उपभोक्ताको आर्थिक क्षमताअनुसार बजार विकल्प
खसीबोकाको बजार व्यवस्थित गर्न उपभोक्तालाई उचित मूल्यमा सुरक्षित मासु उपलब्ध गराउनु आवश्यक छ । जीवित खसीबोका खरिद गर्न नसक्ने परिवारले आवश्यक मात्रामा मासु खरिद गर्न सक्ने व्यवस्था सहज हुनुपर्छ । बजारमा मूल्य, तौल र गुणस्तरको स्पष्ट जानकारी उपलब्ध भएमा उपभोक्ताको विश्वास बढ्छ । साथै, चाडपर्वमा अनावश्यक प्रतिस्पर्धा र सामाजिक प्रतिष्ठाका लागि क्षमताभन्दा बढी खर्च गर्ने प्रवृत्ति घटाउन आर्थिक सचेतना पनि महत्वपूर्ण छ । देशमा पशुपालन क्षेत्रको विकासका लागि पर्याप्त सम्भावना छ ।
ग्रामीण क्षेत्रमा उपलब्ध घाँस, कृषि उपउत्पादन र स्थानीय श्रमको उपयोग गरेर बाख्रापालनलाई आम्दानीको दिगो स्रोत बनाउन सकिन्छ । यसमा उचित बजार व्यवस्था भएमा यसले ग्रामीण रोजगारी सिर्जना गर्न, किसानको आय बढाउन र पशुजन्य उत्पादनको आपूर्तिमा योगदान दिन सक्छ । तर बजारको भविष्य केवल उत्पादन बढाउनमा निर्भर हुँदैन । यसमा उपभोक्ताको क्रयशक्ति, पशुको मूल्य, उत्पादन लागत, ढुवानी, स्वास्थ्य मापदण्ड र बजारको प्रतिस्पर्धाले पनि महत्वपूर्ण भूमिका खेल्छन् । आगामी दिनमा सरकारले किसानको उत्पादन लागत र बजार मूल्यसम्बन्धी तथ्यांक नियमित रूपमा सार्वजनिक गर्नुपर्छ । यसबाट मूल्य वृद्धि वास्तविक लागतका कारण भएको हो वा बजारमा प्रतिस्पर्धा कमजोर भएकाले भएको हो भन्ने बुझ्न सजिलो हुन्छ ।
निष्कर्ष
समग्रमा भन्नुपर्दा बडादशैँमा खसीबोकाको कारोबार खस्किँदै गएको विषय नेपाली समाजको बदलिँदो आर्थिक अवस्था, उपभोग संस्कृतिमा आएको परिवर्तन र कृषि तथा पशुपालन क्षेत्रका चुनौतीसँग जोडिएको महत्वपूर्ण विषय हो । खसीबोकाको बजारमा देखिने सुस्ततालाई केवल व्यापारीको बिक्री घटेको घटनाका रूपमा बुझ्नु पर्याप्त हुँदैन । यसले किसानको आम्दानी, ग्रामीण अर्थतन्त्र, उपभोक्ताको क्रयशक्ति, रोजगारी र समग्र बजार व्यवस्थापनका विषयलाई पनि उजागर गर्छ । मुलुकमा बढ्दै गएको महँगी, आम्दानी र खर्चबीचको असन्तुलन, पशुको मूल्य वृद्धि, ढुवानीको समस्या, कमजोर बजार पूर्वाधार तथा उपभोक्ताको बदलिँदो जीवनशैलीले कारोबारलाई प्रभावित गर्न सक्छन् । तर सबै क्षेत्रमा खसीबोकाको कारोबार घटेको छ वा घट्दो कारोबार नै देशको आर्थिक मन्दीको प्रत्यक्ष प्रमाण हो भन्ने निष्कर्षमा पुग्न पर्याप्त तथ्यांक आवश्यक हुन्छ । यसमा गत वर्ष जुम्लामा खसीभेडाको कारोबार घटेको विवरण र २०८३ मा काठमाडौंमा खसीबोका तथा मासुको मूल्य उच्च रहेको समाचारले बजारको अवस्था क्षेत्रअनुसार फरक हुन सक्ने देखाउँछन् । तसर्थ समस्याको समाधानका लागि किसानलाई उत्पादनको उचित मूल्य, व्यापारीलाई पारदर्शी बजार र उपभोक्तालाई आफ्नो क्षमताअनुसार खरिद गर्न सक्ने वातावरण उपलब्ध गराउनुपर्छ ।
व्यावसायिक पशुपालन, सुलभ ऋण, पशु बीमा, प्रत्यक्ष बजार सम्बन्ध, व्यवस्थित ढुवानी र प्रभावकारी सरकारी अनुगमन यसका प्रमुख आधार हुन् । अन्ततः बडादशैँको सफलता महँगो खसीबोका खरिद गर्ने क्षमतामा मात्र निर्भर हुनु हुँदैन । जसमा भन्ने नै हो भने आर्थिक अवस्था कमजोर भएका परिवारले पनि सम्मानपूर्वक चाडपर्व मनाउन सक्ने वातावरण निर्माण गर्नु राज्य र समाज दुवैको जिम्मेवारी पनि हो । किसानको श्रमको उचित मूल्य सुनिश्चित गर्दै उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय उत्पादन उपलब्ध गराउन सकियो भने खसीबोकाको कारोबारले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने, रोजगारी सिर्जना गर्ने र नेपाली सांस्कृतिक परम्परालाई दिगो बनाउने महत्वपूर्ण भूमिका खेल्न सक्छ । त्यसैले बडादशैँमा खसीबोकाको कारोबारसम्बन्धी बहसलाई केवल बजारको नाफा–घाटासम्म सीमित नराखी किसानको जीवनस्तर, सर्वसाधारणको आर्थिक क्षमता र नेपालको उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने व्यापक दृष्टिकोणबाट अगाडि बढाउनु आवश्यक छ ।