झापा, कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै प्रदेशका १३ जिल्लामा फैलिएको छ । डेंगुको सबैभन्दा उच्च जोखिममा झापा जिल्ला देखिएको छ ।
सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार प्रदेशमा ७९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुईँटेलले जानकारी गराएकी छिन् । झापामा मात्रै हालसम्म २२८ जनामा संक्रमण पुष्टि भइसकेको लुईँटेलले बताइन् । धेरै संक्रमित भएको दोस्रो जिल्ला सुनसरी हो । जहाँ २०३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
संखुवासभामा १८, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, धनकुटामा ४, मोरङमा २०, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा १ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ओखलढुंगामा १२२ जना र खोटाङमा ८२ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने लगायतका अभियान सञ्चालन आवश्यक रहेको बताइएको छ ।