काठमाडौं, फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरु गरेको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स विमान बुधवार साँझ ६ः१९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
एक सय १३ यात्रु लिएर आएको विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको थियो । यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी तथा पर्यटन क्षेत्रका प्रतिनिधि विमानस्थल पुगेका थिए । निर्धारित तालिकाअनुसार विमान बुधबार साँझ ७ः१५ बजे एक सय ५३ यात्रु लिएर दुबई फर्किएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । यसअघि पोखराबाट सुरु भएका केही अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेका थिएनन् । फ्लाई दुबईको नियमित सेवाले पोखराबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरीदेखि सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
सरकारले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न विमानस्थलका विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ । आगामी २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । दुबई–पोखरा–दुबई उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई अनुमति दिएको थियो । फ्लाई दुबईको तालिकाअनुसार विमान हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ ।