काठमाडौं, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले साना, सिर्जनात्मक तथा प्रभावकारी कला परियोजनालाई प्रोत्साहन गर्न कला परियोजनाका लागि एक लाख रुपैयाँसम्म अनुदान दिने भएको छ ।
प्रतिष्ठानले परियोजनाका लागि कला सङ्घ–संस्थासँग प्रस्तावसमेत माग गरेको छ । प्रतिष्ठानले ‘पकेट आर्ट प्रोजेक्ट कोल्याबोरेसन’ कार्यक्रमअन्तर्गत खुला आह्वान गरेको हो । कार्यक्रमअन्तर्गत छनोट हुने कला परियोजनालाई प्रतिष्ठानले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँसम्म आर्थिक प्रोत्साहन उपलब्ध गराउनेछ । यस चरणमा अधिकतम चारवटा परियोजना छनोट गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार प्रतिस्थापन कला (इन्टलेसन आर्ट), फोटोग्राफी, भिडियो आर्ट, डिजिटल आर्ट, पर्फर्मेन्स आर्ट, सार्वजनिक कला तथा अन्य समकालीन प्रयोगात्मक कलासम्बन्धी परियोजनाले प्रस्ताव पेस गर्न सक्नेछन् ।
नेपालमा कानुनी रूपमा दर्ता भएका कला सङ्घ–संस्थाले मात्र यस कार्यक्रममा आवेदन दिन पाउनेछन् । प्रस्तावमा संस्थाको परिचय, परियोजनाको अवधारणा, अनुमानित बजेट तथा नेपाल सरकारअन्तर्गतका निकायमा संस्था दर्ता भएको प्रमाणपत्र समावेश गर्नुपर्नेछ । त्यसैगरी, संस्थाको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रतिलिपि पनि पेस गर्नुपर्नेछ । परियोजनाको अवधारणा आधिकारिक प्रतिनिधिबाट हस्ताक्षरित हुनुपर्ने र संस्थाको वा प्रतिनिधिको सम्पर्क नम्बर तथा इमेल ठेगाना स्पष्ट उल्लेख गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ । प्राप्त प्रस्तावहरूको मूल्यांकन गर्दा मौलिकता, सिर्जनशीलता, कलात्मक सान्दर्भिकता, कार्यान्वयनको सम्भाव्यता र समुदायमा पार्ने प्रभावलाई मुख्य आधार बनाइनेछ । मङ्सिर १४ गतेभित्र प्रस्ताव पेश गर्न प्रतिष्ठानले आग्रह गरेको छ ।