काठमाडौं, गरगहना व्यवसायमा २५ वर्षदेखि सक्रिय हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकको सुरक्षालाई लक्षित गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।
कम्पनीले २०८३ सालको बडादशैंको घटस्थापनादेखि आफ्ना ग्राहकलाई वर्गीकरणका आधारमा १ लाखदेखि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने जनाएको छ । सम्झौताअनुसार हिमालयन बुलियनका ग्राहकलाई तीन तहमा वर्गीकरण गरी बीमा सुविधा प्रदान गरिनेछ । जसअनुसार सिल्भर वर्गका ग्राहकलाई अधिकतम एक लाख रुपैयाँ, गोल्ड वर्गका ग्राहकलाई अधिकतम पाँच लाख रुपैयाँ र डायमन्ड वर्गका ग्राहकलाई अधिकतम १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध हुनेछ ।
हिमालयन बुलियनले ग्राहकको सुरक्षा र लगानीलाई प्राथमिकतामा राख्दै व्यवसाय गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार ग्राहकको सुरक्षालाई थप व्यवस्थित र सुनिश्चित गर्ने उद्देश्यले सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग उक्त सम्झौता गरिएको हो । कम्पनीले आगामी बडादशैंको घटस्थापनादेखि नै सम्झौताअनुसार ग्राहकको दुर्घटना बीमा सुविधा लागू हुने जनाएको छ ।