काठमाडौं, कथित जनयुद्धकालमा माओवादी कार्यकर्ताले विरोधी राजनीतिक विचार बोक्ने व्यक्तिको गोठमा बाँधिराखेको भैँसीको पुच्छर काटेर क्रान्तिकारिता प्रदर्शन गरेजस्तै रास्वपा सरकारले पूर्वप्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको घरमा छापा मारेर बुधबार अर्को क्रान्तिकारिताको नौटङ्की प्रदर्शन गरेको छ ।
यसअघि नै सरकारले दबाबपूर्वक असुरक्षा भएको निवेदन दिन लगाएर उनको घरवरिपरि कडा सुरक्षा पहरा दिँदै आएको थियो । गत १० गते पूर्वप्रधानन्यायाधीश राणालाई मध्यरातमा निवासबाटै पक्राउ गरेको प्रहरीले अपराध महाशाखा टेकु लगेर कसैसँग भेटघाट गर्न नदिई राखेको थियो । त्यहाँ भेट्न गएको राष्ट्रिय मानव अधिकार आयोगका टोलीलाई समेत भेट्न नदिई फिर्ता पठाएको थियो ।
राणालाई भेट्न सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल र सर्वोच्च अदालतका मुख्य रजिस्टार विमल पौडेल पुगेका थिए । ११ गते दिउँसो सरकारले उनलाई पक्राउ नगरिएको, ‘सुरक्षा थे्रट’ आएकाले सुरक्षा दिएर राखिएको, सबै व्यवस्था मिलाएर सुरक्षा थे्रट नहुने गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाएको थियो । तर सरकारले सुरक्षा प्रदान गरेर राखेको व्यक्तिलाई बर्दीमै भेट्न पुगेका एआईजी दाहाललाई संवेदनशील सूचना चुहाएको आरोपमा १९ गते सोमबार निलम्बन गरेर अर्को तमासा देखाएको छ ।
प्रशासन विभाग प्रमुख रहेका दाहाल अगामी २८ गते अनिवार्य अवकाशमा जाँदै थिए र उनी प्रशासन विभाग प्रमुख भएर आएपछि प्रशासन विभाग मातहतमा रहेको कल्याणकारी सेवा केन्द्रअन्तर्गतको एपीएफ स्कूल, पम्प, पसल र अस्पतालमा भएको अनियमितता छानबिन गरेका थिए र त्यसमा गाउँले दाइ अख्तियार प्रमुख प्रेम राईको सहयोग लिएका थिए ।
त्यसरी छानबिन गर्दा एपीएफ स्कुलमा मात्र ११ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको थियो र अस्पताल, पम्प र पसलका अनियमितता छानबिनकै क्रममा थिए । त्यहाँ भएका अनियमिततामा तत्कालीन प्रशासन प्रमुखको नाताले आईजीपी नारायण दत्त पौडेलको २५ करोड संलग्ना देखिएको छ । उक्त घटनामा पूर्वआईजीपी समेतको बयान भइसकेकाले आफू तानिने डरले आईजीपी पौडेलले एआईजी दाहाललाई निलम्बन गराएर आफू पानीमाथिको ओभानो बन्न खोजेको हो कि भन्ने आशंका गर्न थालिएको छ र त्यसमा गृहमन्त्री सुधन गुरुङको स्वार्थ केलाउने प्रयास पनि भइरहेको छ ।
सरकारले चोलेन्द्र शमशेर राणालाई पक्राउ गरेको कुुरामा जति झुट बोलिरहेको छ, उनलाई सुरक्षा दिएर राखिएको भनाइ पनि त्यत्तिकै झुटो रहेको बताइएको छ । स्वतन्त्र समाचार स्रोतहरूले उनी अघोषित नजरबन्दमा रहेका र पूर्वप्रधानन्यायाधीश राणाका दाजु शोहन शमशेर जबरा बैंकिङ कसुरमा केन्द्रीय कारागारमा दिन बिताइरहेका छन् । जुवा खेलेको रकमको चेक बाउन्स भएर उनी जेल परेको बताइएको छ भने उनका भाइ प्रभु शमशेर जबरामाथि सम्पत्ति शुद्धीकरण विभागले मिहिन रूपमा छानबिन गरिरहेको स्रोतको दाबी छ ।
तर एआईजी दाहाललाई सरकारले कडा सुरक्षा दिएर राखेको, चोलेन्द्र शमशेरलाई बर्दी लगाएर भेटेका एआईजी दाहाललाई संवेदनशील सूचना चुहाएको आरोप लगाएर निलम्बन गरिएजस्तै सिराहाको गौतमको ज्वाइँ नवीनराज बस्नेतलाई चोलेन्द्र राणाको ज्वाइँ भनेर उनको डेरामा छापा मारिएको निर्लज्ज प्रचारबाजी थालिएको छ ।
इनम सापकोटालाई पक्राउ गरेपछि चोलेन्द्रका विषयमा छिटो–छिटो नयाँ–नयाँ घटनाक्रम विकास हुँदै गएको छ र यसैबीचमा बुधबार चोलेन्द्रनिकट मानिएका उच्च अदालतबाट बर्खास्त भएका न्यायाधीश नवराज थपलिया, दीपक तिमल्सिनालगायतको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको बताइए पनि औपचारिक रूपमा पुष्टि हुनचाहिँ सकेको छैन ।