काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुसको भुक्तानीे प्रणालीलाई व्यवस्थित रुपमा विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
बिजुलीको बिल तिर्न विद्युत् कार्यालयमा लाइन बसिरहने अवस्था अन्त्य गर्नको लागि डिजिटल पेमेन्टलाई अझ बढी विस्तार गर्न उनले प्राधिकरणलाई निर्देशन दिएका हुन् । विद्युत् प्राधिकरण सञ्चालक समितिले डिजिटल पेमेन्टलाई प्रभावकारी रुपमा विस्तार गर्ने योजना स्वीकृत गरेको छ । सो योजनालाई तल्लो तहसम्ममा नै प्रभावकारी कार्यान्वयनमा ल्याउन उनले निर्देशन दिए ।
हेटौँडामा विद्युत डिभिजन कार्यालय प्रमुखहरुसँगको छलफलका क्रममा उनले भने, ‘डिजिटल पेमेन्टलाई अझ बढी विस्तार गर्नुपर्छ । समयको पनि बचत हुने, हामीलाई पनि त्यसमा भएको कस्टलाई म्यानेज गर्ने र त्यहाँ भएको जनशक्तिलाई अरु चिजमा सदुपयोग गर्न सहज हुन्छ ।’ यस्तै उनले विद्युतीय भुक्तानीको ग्राफ बढेपनि सन्तोषजनक नरहेको बताए । मन्त्री श्रेष्ठले ट्रिपिङ हुँदा ग्राहकलाई समयमा रेस्पोन्स र सूचना प्रवाह गर्न पनि निर्देशन दिए ।