लन्डन, अमेरिकाले बेलायतस्थित आरएएफ फेयरफोर्ड हवाई आधार स्थलमा तैनाथ आफ्ना सबै बी–१ बमवर्षक विमान फिर्ता लगेको पुष्टि गरेको छ । अमेरिकी अधिकारीका अनुसार नयाँ खतराका कारण विमान फिर्ता लगिएको हो । यद्यपि बेलायती सरकारले सोमबार उक्त हवाई आधार सुरक्षित रहेको जनाएको छ ।
दक्षिण–पश्चिम बेलायतस्थित फेयरफोर्ड हवाई आधारमा सेप्टेम्बर २७ मा स्थानीय किसानले धेरै भ्यानमा आएका मानिस शंकास्पद गतिविधिमा सङ्लग्न रहेको जानकारी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । घटनापछि आतङ्वादविरोधी अनुसन्धान सुरु गरिएको थियो भने हवाई आधारनजिकैका ८५ घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । अमेरिकी सेनाले इरानविरुद्धको कारबाहीमा यही हवाई आधार प्रयोग गरेको थियो ।
आतंकवादविरोधी प्रहरीले भ्यानमा कुनै विस्फोटक पदार्थ नभेटिएको तर केही परिमाणमा पेट्रोल बरामद गरिएको जनाएको छ। पेन्टागनका एक अधिकारीले आइतबार जारी गरेको विज्ञप्तिमा फेयरफोर्डमा तैनाथ अमेरिकी बमवर्षक विमान अमेरिकास्थित आफ्ना आधारमा फिर्ता पठाइएको पुष्टि गरेका छन् । परिचालनगत सुरक्षाका कारण विमान र सैनिकको आवतजावतबारे वास्तविक समयमा जानकारी दिन नसकिएको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार एक अमेरिकी अधिकारीले बमवर्षक विमान ‘खुलासा नगरिएको नयाँ खतरा’का कारण फिर्ता लगिएको बताएका छन् । दुई अमेरिकी अधिकारीले ‘द न्युयोर्क टाइम्स’लाई इरानसमर्थित षड्यन्त्रसँग सम्बन्धित नयाँ खतराको सूचना पाएपछि विमान सारिएको बताएका छन् । उनीहरूका अनुसार तीन साताअघि देखिएका सुरक्षा चेतावनीसँग सम्बन्धित नयाँ जानकारी पछिल्लो २४ घण्टामा गम्भीर बनेपछि विमान फिर्ता पठाइएको थियो ।
फेयरफोर्ड हवाई आधार सुरक्षित रहेको प्रश्नमा बेलायती प्रधानमन्त्री एन्डी बर्नहमका प्रवक्ताले ‘हो’ भन्दै देशभित्र र विदेशमा रहेका आफ्ना सैन्य हवाई आधारको सुरक्षा गर्न बेलायतसँग ‘परीक्षण गरिएका र प्रमाणित विधि’ रहेको बताए । घटनाको उद्देश्यबारे आतंकवादी गतिविधिदेखि इन्धन चोरीसम्मका विभिन्न अनुमान गरिएका छन् । बर्नहमले घटनामा इरानको भूमिका रहेको ‘बलियो संकेत’ देखिएको बताए । तेहरानले भने उक्त आरोप अस्वीकार गर्दै घटनामा आफ्नो सङ्लग्नता नरहेको जनाएको छ ।
सेप्टेम्बरको घटनामा पक्राउ परेका बेलायतमा बसोबास गर्ने छ जना पुरुषलाई धरौटीमा रिहा गरिएको थियो । उनीहरूमध्ये केहीसँग बेलायती–इरानी दोहोरो नागरिकता रहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूलाई रिहा गर्ने निर्णयको आलोचना गरेका छन् । बेलायतस्थित इरानी दूतावासले घटनामा तेहरानको सङ्गलग्नता रहेको अनुमानलाई ‘स्पष्ट रूपमा अस्वीकार र कडा निन्दा’ गरेको जनाएको छ । घटनालाई थप रहस्यमय बनाउँदै बेलायती सञ्चारमाध्यमले प्रारम्भिक सङ्दिग्धमध्ये एक व्यक्तिले नै प्रहरीलाई घटनाबारे जानकारी दिएको जनाएका छन् । प्रहरीले भने यी रिपोर्टबारे कुनै टिप्पणी गरेको छैन । हालैका दिनमा हवाई आधारको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।
बेलायतले मार्चमा अमेरिकालाई इरानविरुद्ध ‘विशिष्ट रक्षात्मक कारबाही’का लागि फेयरफोर्ड हवाई आधार प्रयोग गर्न अनुमति दिएको थियो । त्यसयता अमेरिकी बमवर्षक तथा अन्य सैन्य विमानले उक्त हवाई आधारबाट उडान र अवतरण गर्दै आएका थिए । फेयरफोर्ड बेलायतको मुख्य भू–भागमा अमेरिकी बमवर्षक विमानका लागि प्रयोग हुँदै आएको प्रमुख हवाई आधार हो । घटनाको सुरुआत वेल्फोर्ड गाउँका एक किसानले सडक अवरुद्ध गरिरहेका तीन भ्यान र घटनास्थलबाट भागिरहेका मुखुन्डो लगाएका मानिस देखेपछि प्रहरीलाई जानकारी दिएसँगै भएको थियो ।
हवाई दृश्यमा भ्यानभित्र ब्यारेल देखिएका थिए भने कम्तीमा एउटा भ्यानमा नक्कली लोगो र फोन नम्बर राखिएको थियो । यसले उक्त भ्यानलाई आधिकारिक डिजेल आपूर्ति कम्पनीको जस्तो देखाएको एएफपीले जनाएको छ ।