काठमाडौं, लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बाढीपीडित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २१ लाख ५७ हजार चार सय १८ रुपैयाँ सहयोग गरेको छ । कम्पनीले गत भदौ १० गते रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ ।
कम्पनीका अनुसार उक्त रकम कम्पनी र कम्पनीमा कार्यरत कर्मचारीहरूको व्यक्तिगत योगदानबाट संकलन गरिएको हो । बाढीका कारण प्रभावित भोटेकोशी तथा आसपासका क्षेत्रका नागरिकको आवश्यकता सम्बोधन गर्न तथा प्रभावित समुदायको पुनःस्थापनामा योगदान गर्ने उद्देश्यले सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ । विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको कम्पनीको भनाइ छ ।
लक्ष्मी सनराइज क्यापिटलले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै, उद्धार गरिएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।