काठमाडौं, बिचौलियाहरूले नेपालको अर्थतन्त्र कब्जा गरेपछि गत वर्ष भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी नेता प्रचण्डको वरिपरि बिचौलियाले घेराबन्दी गरेका थिए । बिचौलियाहरूले बजेट बन्नुअघि नै ठेक्कामा भागबण्डा गर्ने गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सालो भुषण राणासँग अति निकट रहेका बिचौलिया रामचन्द्र भट्टको उस्तै राज थियो । उनै भट्टले ठेकेदारबाट जग्गा नै घुस लिएर ठेक्का दिलाउने गरेको खुलेको छ । राज कुमार बस्नेतको स्वामित्व रहेको क्षमादेवी निर्माण सेवा नामक कम्पनीलाई सिंहदरबारस्थित संसद् भवनको दुई अर्बभन्दा बढीको इन्टेरियर ठेक्का, भैरहवा विमानस्थलको चार अर्बको ठेक्का र भरतपुर विमानस्थलको दुई अर्बको ठेक्का दिलाएबापत पाँच करोडबराबरको जग्गा घुस लिएको पाइएको हो ।
अनुभव नै नभएको कम्पनीलाई भुषण राणाको दबाबमा विभिन्न क्षेत्रको ठेक्का दिलाएबापत भट्टले जग्गा घुस लिने गरेको भेटिएको हो । क्षमादेवीका राजकुमार बस्नेतले ठेक्का दिलाएबापत भट्ट र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई समेत सेटिङ मिलाउने गरेको स्रोतको दाबी छ ।
मध्यपुर ठिमीस्थित सिद्धिगणेश क्षेत्रमा १० रोपनी जग्गा लिएको लालपुर्जा आर्थिक दैनिकलाई प्राप्त भएको छ । तत्कालीन सहरी विकास तथा भवन निर्माण मन्त्री सिता गुरुङ तथा तत्कालीन भौतिक मन्त्रालयका सहसचिवको समेत सेटिङ मिलाएर यस्ता ठेक्का पारिएका थिए ।
जग्गाको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरणको पत्र
जग्गाको स्रोत नखुलेपछि बिचौलिया भट्टलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेपछि भट्ट भने विदेश भागेका छन् । उनको नाममा रहेको भक्तपुर बालकोट, मध्यपुर दुवाकोटलगायतका क्षेत्रमा रहेको जग्गा प्राप्तिको स्रोत नखुलेपछि उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्र काटेको छ । पत्र काटेलगत्तै भट्ट नेपाल छाडेर विदेश गएको स्रोतले जानकारी दिएको छ ।
ठेक्का दिलाएबापत घुसमा जग्गा दिने बस्नेतमाथि भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कुनै कारबाही गरेको छैन । तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग अति निकट सम्बन्ध रहेका बस्नेत कुनै समय तस्करीमा समेत मुछिएका पात्र हुन् । ठेक्का दिलाएबापत घुसमा जग्गा दिएको बारेमा बस्नेतसँग फोन सम्पर्क गर्न खोज्दा फोन अफ थियो ।