काठमाडौं, अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतका अर्थमन्त्री निर्मला सीतारमणबीच विभिन्न विषयमा छलफल भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार उक्त भेटवार्तामा नेपालमा बाढीपछिको पुनर्निर्माण तथा नेपाल–भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको हो ।
दुई अर्थमन्त्रीबीच बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा भेट वार्ता भएको थियो । भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए । दुई देशबीचको वार्तामा नेपालको झण्डा राखिएको थिएन । वार्तामा दुवैतर्फ भारतीय झण्डा देखिएको तस्बिर सार्वजनिक भएको छ ।
भेटवार्ताका क्रममा वाग्ले र सीतारमणबीच विकास सहकार्य तथा दुई देशबीच लामो समयदेखि कायम आर्थिक साझेदारीसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल भएको भ्रमणमा सहभागी प्रतिनिधि मण्डलका एक सदस्यले जानकारी दिए । दुईबीच बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा तथा कनेक्टिभिटीलगायत आपसी हितका अन्य विषयमा छलफल भएको थियो । त्यसबाहेक, नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप मजबुत र व्यापक बनाउने अवसरबारे पनि छलफल भएको बताइएको छ ।