काठमाडौं, एनआईसी एशिया क्यापिटल लिमिटेडले रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुगेको थियो । बाढीले सडक, पुल, बस्ती, बजार तथा जलविद्युत् आयोजनालगायतका महत्वपूर्ण भौतिक संरचनामा समेत व्यापक क्षति पुर्याएको थियो । प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खातामा २१ लाख रुपैयाँ (अक्षरेपी एक्काइस लाख रुपैयाँ) जम्मा गरेको जनाएको छ ।
यस विपद्बाट प्रभावित नागरिकहरूप्रति दुःख व्यक्त गर्दै एनआईसी एशिया क्यापिटलले उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा निरन्तर खटिरहेका सरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवक तथा सहयोगी संस्थाहरूको योगदानप्रति हार्दिक सम्मानसमेत व्यक्त गरेको छ ।