काठमाडौं, नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्याप रियालिटी शो एमटिभी होसलको नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । यस कार्यक्रमको टाईल स्पोन्सरका रूपमा टिभिएस एनटर्क आबद्ध भएको छ ।
मलिन मिडिया एन्ड इभेन्ट प्रा.लि.ले नेपालमा ल्याउन लागेको ‘हसल बाई नेपहप’ लाई कान्तिपुर टेलिभिजनमार्फत प्रसारण गरिने जनाईएको छ । यो कार्यक्रमलाई प्रिमियम र्याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय स्तरको र्याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रमको मुख्य केन्द्रमा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिप–हप पहिचान रहनेछ ।
कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र उत्कृष्ट सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ । स्थापित र्यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।