काठमाडौं, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजी वृद्धि गर्न शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ । संस्थाको सञ्चालक समितिले हाल कायम चुक्ता पुँजीबराबरकै अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव आगामी १०औं वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरेको हो ।
संस्थाले बार्षिक साधारणसभामार्फत हाल कायम १५ करोड ३४ लाख ४५ हजार पाँच सय नौ रुपैयाँ चुक्ता पुँजीका आधारमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावमाथि छलफल गरी निर्णय गर्नै छ । प्रस्ताव पारित भएमा योग्य सेयरधनीले आफूसँग रहेको प्रत्येक एक कित्ता सेयर बराबर थप एक कित्ता हकप्रद सेयर खरिद गर्न पाउनेछन् । यद्यपि, हकप्रद सेयर निष्कासनका लागि सम्बन्धित नियामक निकायको स्वीकृति तथा आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।
हकप्रद सेयर जारी गर्ने प्रस्तावसँगै संस्थाले अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गर्ने भएको छ । संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विषयसमेत सभाको कार्यसूचीमा समावेश गरिएको छ । त्यसैगरी, अन्य इजाजतपत्रप्राप्त ‘घ’ वर्गका वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा कुनै संस्थालाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ । नियामक निकायबाट संशोधनसम्बन्धी प्रस्तावमा कुनै परिवर्तन गर्न निर्देशन आएमा सोहीअनुसार आवश्यक परिमार्जन गर्न सक्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्तावसमेत राखिएको छ ।
सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही आर्थिक वर्षको लेखापरीक्षणसहितको वित्तीय विवरण स्वीकृत गर्ने तथा आगामी अवधिका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि समावेश छन् । यसका अतिरिक्त सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचनसमेत सभाबाट गरिनेछ ।
संस्थाका अनुसार साधारणसभा तथा मतदानमा सहभागी हुन योग्य सेयरधनीको पहिचानका लागि मंसिर २० गते सेयरधनी दर्ता किताब बन्द गरिनेछ । नेपाल स्टक एक्सचेञ्जमा मंसिर १९ गतेसम्म कारोबार भई प्रचलित कानुनअनुसार सेयर नामसारी भएका सेयरधनीले मात्र सभामा सहभागी हुन तथा मतदान गर्न पाउनेछन् ।