नेपालको सांस्कृतिक र धार्मिक जीवनमा तिहार विशेष स्थान राख्छ । दीपावली वा दीपमालाको नामले पनि चिनिने यो पर्व अन्धकारमाथि प्रकाशको विजय, असत्यमाथि सत्यको विजय र समृद्धिको प्रतीकका रूपमा मनाइन्छ । काग तिहार, कुकुर तिहार, गाई तिहार, लक्ष्मी पूजा, गोवर्धन पूजा र भाइटीका गरी पाँच दिनसम्म चल्ने यो पर्वमा घरघरमा दीप बालिन्छन्, फूलमाला लगाइन्छन्, भाइमसला बाँडिन्छ र परिवारमा आनन्दको वातावरण सिर्जना हुन्छ । तर तिहार केवल धार्मिक र सांस्कृतिक पर्व मात्र होइन । यसले नेपालको अर्थतन्त्रलाई पनि उल्लेखनीय रूपमा चलायमान बनाउँछ । दशैँपछिको यो दोस्रो ठूलो पर्वले बजारमा नगद प्रवाह बढाउँछ, उपभोग बढाउँछ, साना तथा ठूला व्यापारीहरूलाई फाइदा पुर्याउँछ र रोजगारीका अस्थायी अवसरहरू सिर्जना गर्छ ।
तिहारको झिलिमिलीमा अर्थतन्को यो गतिशीलता विभिन्न तहमा देखिन्छ । घरपरिवारको खर्च, बजारको चहलपहल, आयात–निर्यातको तथ्यांक, विप्रेषणको प्रवाह र सरकारी राजस्व सबैमा यसको छाप पर्छ । अर्थशास्त्रीहरूका अनुसार दशैं, तिहार र छठ जस्ता चाडपर्वका दुई–तीन हप्तामा मात्रै वर्षभरिको कुल राष्ट्रिय उपभोगको करिब २० प्रतिशत हिस्सा ओगटिन्छ । यस अवधिमा बजारमा ठूलो मात्रामा रकम प्रवाह हुन्छ जसले सुस्त अर्थतन्त्रलाई ताजा बनाउँछ ।
तिहारको सांस्कृतिक जरा र आर्थिक सम्बन्ध : तिहारको मूल सन्देश लक्ष्मी देवीको आराधना हो । धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्न घर सफा गरिन्छ, दीप बालिन्छ र समृद्धिको कामना गरिन्छ । यो धार्मिक आस्था व्यावहारिक अर्थतन्त्रसँग जोडिएको छ । मानिसहरू नयाँ लुगा किन्छन्, घरको सजावट गर्छन्, मिठाई र फलफूल खरिद गर्छन् । भाइटीकामा दिदीबहिनीहरूले दाजु भाइलाई मसला र मिठाई दिन्छन् जसले विशेष रूपमा ड्राइ फ्रुट्सको बजारलाई जीवन्त बनाउँछ । मुलुकमा हिन्दु जनसंख्याको बाहुल्यता र कृषिमा आधारित अर्थतन्त्र भएकाले चाडपर्वको समय बाली काट्ने र बिक्री गर्ने समयसँग मेल खान्छ । किसानहरूले आफ्नो उत्पादन बजारमा लैजान्छन् भने साना व्यापारीहरूले अस्थायी पसल थाप्छन् । यसले ग्रामीण र सहरी दुवै क्षेत्रमा आर्थिक गतिविधि बढाउँछ ।
बजारको चहलपहल र उपभोगको वृद्धिः तिहारको समयमा बजारमा असाधारण चहलपहल देखिन्छ । काठमाडौंको असन, इन्डचोक, नयाँ बजार, पोखरा, विराटनगर, वीरगन्जलगायतका सहरहरूमा उपभोक्ताको भीड बढ्छ । लत्ताकपडा, जुत्ता, गहना, विद्युतीय सामग्री, फूलमाला, भाइमसला, झिलिमिली बत्ती र मिठाईको माग ह्वात्तै बढ्छ । भाइमसला अर्थात् ड्राइ फ्रुट्सको व्यापार तिहारको प्रमुख आर्थिक आधार हो । काजु, ओखर, किसमिस, बदाम, नरिवल, सुपारी लगायतका सामग्रीको कारोबार वार्षिक रूपमा अर्बौंमा पुग्छ । जुन तथ्यांकअनुसार तिहारमा मात्रै ड्राइ फ्रुट्सको कारोबार करिब साढे दुई अर्ब रुपैयाँको हुने गर्छ । भन्सार विभागका अनुसार साउन–भदौ महिनामै दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको ड्राइ फ्रुट्स आयात भएको देखिन्छ । यसले देखाउँछ कि तिहारको माग पूरा गर्न ठूलो मात्रामा आयात आवश्यक पर्छ । यद्यपि यो आयातले व्यापार घाटा बढाए पनि बजारमा नगद प्रवाह बढाउँछ र साना खुद्रा व्यापारीहरूलाई आम्दानीको स्रोत बन्छ ।
फूलमालाको व्यापार अर्को महत्वपूर्ण क्षेत्र हो । सयपत्री, मखमली र गोडावरी जस्ता फूलहरूको माग अत्यधिक हुन्छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार तिहारमा देशभर करिब ६ करोड ४५ लाख रुपैयाँको फूलको कारोबार हुने अनुमान छ । काठमाडौं उपत्यकामा मात्रै करिब ५१ लाख फूलमाला खपत हुने अपेक्षा गरिएको छ । स्थानीय किसानहरूले यसबाट राम्रो आम्दानी गर्छन् र केही मात्रामा आयात प्रतिस्थापन पनि हुँदैछ । मखमली माला विदेशमा बस्ने नेपालीहरूका लागि पनि निर्यात हुन थालेको छ जसले सकारात्मक संकेत दिन्छ ।
झिलिमिली बत्ती र सजावटी सामग्री तिहारको पहिचान हो । घर, पसल र सडकहरू रंगीबिरंगी बत्तीले झिलिमिलि हुन्छन् । विद्युतीय व्यवसायी महासंघका अनुसार यस क्षेत्रमा सयौं करोडको व्यापार हुन्छ । गत वर्षहरूमा झिलिमिली बत्तीको आयात करिब ६५ करोड रुपैयाँसम्म पुगेको देखिन्छ । एलईडी बत्तीको प्रयोग बढेसँगै यो व्यापार दिगो भएको छ किनकि धेरै बत्ती पुनः प्रयोग गर्न मिल्ने हुन्छन् । तर अधिकांश बत्ती चीनबाट आयात हुने भएकाले यसमा पनि परनिर्भरता देखिन्छ । यसरी नै लत्ताकपडा, गहना र अन्य उपभोग्य वस्तुको माग पनि बढ्छ । सुनचाँदीको व्यापार तिहारमा उल्लेखनीय हुने गर्छ किनकि लक्ष्मी पूजाको अवसरमा गहना किन्ने चलन छ । यद्यपि मूल्य वृद्धिले कहिलेकाहीं यो व्यापार प्रभावित हुन्छ ।
उद्योग र रोजगारी : तिहारले उद्योग क्षेत्रलाई पनि चलायमान बनाउँछ । कपडा, जुता, फर्निचर, खाद्य प्रशोधन, मिठाइ, पेय पदार्थ, सौन्दर्य प्रसाधन, इलेक्ट्रनिक सामग्री र सजावटका वस्तु उत्पादन गर्ने उद्योगहरूले पर्वअघि उत्पादन बढाउँछन् । बजारको माग बढेसँगै कारखानामा कामको चाप बढ्छ, ढुवानी व्यवसाय व्यस्त हुन्छ र साना उद्यमीहरूले पनि आय आर्जनको अवसर पाउँछन् । त्यसैगरी, पंचे बाजा बजाउने, भैलो र देउसी खेल्ने, दियो बनाउने, मखमली फूल बेच्ने, सेलरोटी र मिठाइ बनाउने, घर सजाउने तथा यातायात सञ्चालन गर्ने व्यक्तिहरूका लागि तिहार आयको मौसम हो । यसरी तिहारले औपचारिक र अनौपचारिक दुवै क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्छ ।
व्यापार, बैंकिङ र डिजिटल भुक्तानी : तिहारको अर्को महत्वपूर्ण आर्थिक पक्ष व्यापार र वित्तीय कारोबार हो । पर्वअघि व्यापारीहरूले स्टक तयार गर्छन्, ऋण लिन्छन्, कर्मचारी थप्छन् र विज्ञापनमा लगानी गर्छन् । उपभोक्ताहरूले बैंकबाट नगद निकाल्छन्, कर्जा लिन्छन्, मोबाइल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्छन् । यसले बैंकिङ प्रणाली, वित्तीय सेवा र डिजिटल लेनदेनलाई बढावा दिन्छ । तिहारमा दक्षिणा, उपहार, बोनस, थप आय र घरायसी खर्चका कारण नगद प्रवाह बढ्छ । यसले बजारमा तरलता थप्छ तर यदि आयातमुखी उपभोग बढ्यो भने विदेशी मुद्रा सञ्चितिमा चाप पर्न सक्छ । त्यसैले तिहारको आर्थिक चलायमानता अनुकूल हुनका लागि उपभोगलाई स्वदेशी उत्पादनतर्फ डोहार्याउनु आवश्यक हुन्छ ।
स्वदेशी उत्पादनको अवसर : तिहार आर्थिक रूपमा सकारात्मक हुनका लागि खर्च स्वदेशी वस्तु र सेवामा केन्द्रित हुनुपर्छ । स्वदेशी कपडा, हस्तकला, चिया, कफी, मसला, अचार, मह, जडीबुटी, खाद्यान्न, फलफूल, दुग्धजन्य पदार्थ, काठका फर्निचर, ढाकाटोपी, पाचौँ, थाकली, गुन्युचोली र स्थानीय कलाकृतिको प्रयोगले घरेलु उद्योगलाई बलियो बनाउँछ । देशको अर्थतन्त्र आयातमा निर्भर हुँदै जानु चिन्ताको विषय बनेको छ । कुल बाह्य व्यापारमा आयातको हिस्सा ९० प्रतिशतभन्दा बढी रहेको र निर्यातको योगदान १० प्रतिशतभन्दा कम रहेको विश्लेषण छ । यस्तो अवस्थामा तिहारको खर्चलाई आयातीत विलासी वस्तुतर्फ नभई स्थानीय उत्पादनतर्फ डोहोर्याउन सके व्यापार घाटा नियन्त्रण गर्न मद्दत मिल्छ ।
यात्रा, पर्यटन र सेवा क्षेत्र : तिहारको बिदाले यात्रा र पर्यटन क्षेत्रलाई पनि चलायमान बनाउँछ । शहरबाट गाउँ फर्कने, आफन्त भेट्न जाने, घुम्न जाने र परिवारसँग समय बिताउने क्रमले बस, जहाज, होटल, रेस्टुरेन्ट, पर्यटकीय स्थल र स्थानीय बजारको कारोबार बढाउँछ । दशैँपछि मानिसहरू शहर फर्किने र तिहारको तयारी गर्ने क्रमले यातायात र उपभोगमा थप चहलपहल ल्याउँछ । जबकी होटल, होमस्टे, रेस्टुरेन्ट, यातायात, फोटोग्राफी, मनोरञ्जन, सांस्कृतिक कार्यक्रम र स्थानीय बजारले तिहारको समयमा थप आम्दानी गर्छन् । यसले सेवा क्षेत्रको योगदानलाई बढाउँछ र स्थानीय अर्थतन्त्रलाई सक्रिय बनाउँछ ।
सरकारी राजस्व र आर्थिक नीति : तिहारको बजार चहलपहलले सरकारलाई मूल्य अभिवृद्धि कर, भन्सार, नगद प्रवाह कर, सम्पत्ति कर र अन्य राजस्वको अवसर पनि दिन्छ । तर यसको फाइदा तब मात्र हुन्छ जब कर व्यवस्था पारदर्शी होस्, व्यापारीले बिल जारी गरून् र उपभोक्ताले करदाता बन्ने चेतना राखून् । सरकारले तिहारजस्ता पर्वको समयमा बजार अनुगमन, मूल्य नियन्त्रण, तौल तथा नापको गुणस्तर जाँच, खाद्य सुरक्षा र उपभोक्ता अधिकारको संरक्षण गर्नुपर्छ । यसले उपभोक्ताको विश्वास बढाउँछ र व्यापारलाई व्यवस्थित बनाउँछ । चाडपर्वले अर्थतन्त्रलाई दिशा दिने भएकाले नीतिगत तयारी पनि आवश्यक हुन्छ ।
निष्कर्ष : समग्रमा भन्नुपर्दा तिहार पर्वको झिलिमिली केवल बत्ती र फूलको मालामा सीमित छैन । यो नेपाली अर्थतन्त्रको एउटा महत्वपूर्ण चालक शक्ति पनि हो । फलतः फूल बजारको करोडौँ रुपैयाँको कारोबारदेखि लिएर उपभोक्ता वस्तुको माग, रेमिट्यान्सको प्रवाह, र सामुदायिक वित्तको परिचालनसम्म, तिहारले अर्थतन्त्रका विभिन्न क्षेत्रहरूलाई स्पर्श गर्छ । यसले ग्रामीण र सहरी अर्थतन्त्रबीचको दूरी कम गर्न, साना व्यवसायीलाई आम्दानीको अवसर दिन र समग्रमा आर्थिक गतिविधिलाई तीव्र बनाउन मद्दत गर्छ । तर, यो लाभलाई दिगो बनाउन केही सुधार आवश्यक छ । मूलतः स्वदेशी उत्पादनलाई प्रोत्साहन, आयातमा निर्भरता घटाउने र चाडपर्वको मौसममा हुने आर्थिक गतिविधिलाई व्यवस्थित गर्ने हो भने तिहारको झिलिमिलीले अर्थतन्त्रलाई मात्र नभई समग्र समाजलाई उज्यालो बनाउन सक्छ । अतः तिहारको सन्देश सत्यको विजयको मात्र नभई आर्थिक समृद्धिको पनि हुन सक्छ । यस पर्वले हामीलाई सम्झाउँछ कि उज्यालो केवल दीपमा मात्र होइन, यो आर्थिक गतिशीलता र सामाजिक एकतामा पनि हुन्छ । तिहारको यो झिलिमिलीले नेपालको अर्थतन्त्रलाई निरन्तर उज्यालो बनाओस् ।