देशमा आफूले सरकार बनाए सयदिनभित्र नै सबै क्षेत्रमा आमूल परिवर्तन गर्ने र राज्यप्रति सबै क्षेत्रले गुमाएका आशा र विश्वासलाई यही सयदिनभित्र नै जगाउने भनी घोषणा गरेर व्यापक जनसमर्थन पाएको सरकार छ महिना पूरा गरेर सातौँ महिनाको पनि आधाउधी समयमा पुगेको छ । संसद्मा यो दल बाहेक अरुको उपस्थिति देखिएको छैन । उपस्थिति भए पनि त्यसले सरकारलाई कुनै दबाब दिने अवस्था छैन । संसद्का सबै संरचना यही दलको हातमा छ तर यता यस्तो बलियो सरकारका कामकुरा भने जनविश्वासका सन्दर्भमा झन्झन् निरीह देखिँदै गएका छन् ।
गएको हप्तामात्रै सरकारले आफ्ना छ महिनाका उपलब्धि भनेर लामो सूची प्रकाशित गरेको थियोे । तर जहाँ–जहाँ सरकार सफल भयो कि असफल भनेर आम नागरिक तहमा नापिने विषय छन् ती सबै ठाउँमा सरकार असफल नै देखियो । खासगरी यति बलियो सरकारले आर्थिक क्षेत्रमा त यति अविश्वासिलो देखियो जो यो सरकार गठन भए अघिसम्मको स्थितिमा पुग्न धेरैगुनाले हिसाब हुनेगरी खाल्डो देखिन थाले । त्यो महँगीमा होस् कि अभावमा वा सेयर बजार र अरु लगानीमा । निश्चय नै यो संकेत देशका लागि राम्रो होइन ।
सरकार आम नागरिकबीच कति विश्वासिलो र भरपर्दो भयो भनेर सार्वजनिक तहमा नै नाप्ने यन्त्र हो सेयर बजार । सरकारको भर पर्न नसकिने अवस्था आयो वा देखियो भने बजारमा आम मानिस प्रकट हुन चाहँदैनन् र लगातार घट्दो क्रममा पुग्छ । कम्तीमा यो बजारलाई मात्रै सरकारको यो छ महिना कस्तो र≈यो भनेर हेर्ने हो भने, सरकारले देखाएका उपलब्धि सबै कागजीमात्रै हुनेछन् । बजारमा बढ्दो महँगी र आधारभूत वस्तुका व्यापक अभाव त त्यसै पनि आम तहमा नकारात्मकरुपले चर्चित हुने भयो नै जो प्रकट भइरहेका छन् ।
सांसदमा प्रतिपक्षको आवाजलाई सरकारले सुन्ने हो भने पनि उसका लागि सुध्रने मौका हुनेथियो होला । तर यतिबेला त संसद्को अधिवेशन नै अन्त्य भइसकेको छ । अन्तिमतिरको संसद् बैठकमा प्रमुख प्रतिपक्षदलले उठाएका दर्जनजति महत्वपूर्ण प्रश्नहरूले कुनै उत्तर पाएनन् । त्यसमा सरकारले निजी क्षेत्रप्रति देखाएको व्यवहार र सेयर बजारमा आकर्षण र लगानी कति सुरक्षित, निजी क्षेत्रप्रति अपराधीलाई झँै व्यवहार किन भन्ने जस्ता पर्छन् । त्यसैभित्र सरकारले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका निजी क्षेत्रमा हुकुमी दण्डा लगाएर, तर्साएर, थुन्ने काम गरेको र निजी क्षेत्रलाई विश्वासको वातावरण बनाएर काम गर्न नसकेको आरोप पनि पर्छ । माथि उल्लेख भएका खासगरी आर्थिक क्षेत्रमा लगानीकर्ताको मनोबल दिनदिनै गिर्दाको प्रभाव दैनिकरुपमा सेयर बजारमा प्रकट भइरहेका छन् । यसलाई सुधार्नेतर्फ ध्यान दिने हो भने पहिले सरकारको शैली सुध्रन आवश्यक हुन्छ ।
कम्तीमा निरन्तर खस्कँदै गएको सेयरबजारको सन्देश यही हुनुपर्छ । अहिले चलिरहेको महिना असोजको तेस्रो सातामा ५ दिनमा भएको सेयर कारोबार ४ दिन ओरालोमा रह्यो । घट्ने क्रम पनि कस्तो भने एकैपटक दोहोरो अंकमा प्रकट भयो । जो पहिलेपहिले बिरलैमात्र हुन्थ्यो । हप्तामा ४ दिनको कारोबारमा नेप्से ४२.८१ अंकले घट्ने र एक दिनको कारोबारमा ०.२६ अंकले बढ्दा यो बजारमा सेयर गिरावटको अवस्था कुन तहसम्म रहने गरेको छ भन्ने एउटा गतिलो उदाहरण हुनुपर्छ । सरकारले अघिल्लो हप्ता पुँजीबजारमा आम नागरिकको विश्वास जगाउँन भन्दै व्यापक तहको कार्यक्रम पनि ल्याइयो तर बजारले सरकारको विश्वास नै गरेन । उल्लेखित विवरणहरू त्यसपछिका हुन् । यो सरकार गठन भएको अघिल्लो दिन यो बजारको कारोबार अंक २६ अर्बको थियो । सरकारले छ महिना कटाएको हप्ता सेयर कारोबारको अंक पुगनपुग ५ अर्बको हाराहारीमा छ । यसमा कसै न कसैको ठूलो नोक्सानी भएको छ । यसले सरकार दिनहूँ अविश्वासिलो बन्दै गएको देखाउँछ जो पुँजी परिचालन हुने सन्दर्भमा दुःखद् नै हो । ध्यान जाओस् ।