परम्परागत सीप, स्थानीय उत्पादन र नेपालको आत्मनिर्भर अर्थतन्त्रको चुनौतीपूर्ण कथा धेरै पुरानो हो । हाम्रो सामाजिक, सांस्कृतिक र आर्थिक इतिहाससँग घरेलु र साना उद्योगको गहिरो सम्बन्ध छ । कहिलेकाहीं यस्ता उद्योगहरू केवल आम्दानीको स्रोत मात्र थिएनन्, यी हाम्रो पहिचान, परम्परा, सीप, र स्वावलम्बनको आधार पनि थिए । विशेष गरी काठमाडौं उपत्यकाका नेवार बस्तीहरूमा भने एउटा अलगै संसार थियो—जहाँ कपडा बुन्ने तानको खटखट आवाज, चाकु चलाउने गहिरो ध्वनि र हातले बनाइएका विविध सामग्रीको गुनगुनाहट सुनिन्थ्यो । त्यहाँ डोको, नाङ्लो, डालो र भकारी बुन्ने, परालबाट गुन्द्री, सुकुल र चकटी बनाउने चलन चल्थ्यो । बाँस र निगालोका सामग्री, काठको कलात्मक वस्तु, माटाका भाँडा, धातुका मूर्ति, परम्परागत चित्रकला—यी सबै उत्पादन गर्ने अनेकौं साना उद्योगहरू निरन्तर चल्थे । यी सबैले स्थानीय कच्चा पदार्थको सदुपयोग गर्थे, परिवारका सदस्यहरूलाई रोजगारी दिन्थे र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सीपलाई जीवित राख्थे । गाउँघरमा पनि खेतीसँगै फुर्सदको समयमा घरेलु सामग्री बनाउने र बिक्री गर्ने चलन थियो । तर अहिले भने परिस्थिति निकै बदलेको छ । आधुनिकता र सहरीकरणसँगै व्यापक रूपमा विदेशी वस्तुहरूको प्रयोग बढ्दै गएको छ । आफ्नै गाउँ, टोल र बस्तीमा उत्पादन हुने धेरै सामग्री अहिले बजारमा विदेशी उत्पादनको रूपमा देखिन्छ । दैनिक उपभोगका वस्तुहरूदेखि सामान्य घरेलु सामग्रीसम्म सबै आयात हुँदै गएको छ ।
ठूला उद्योगहरू बन्द हुँदै जाने र परम्परागत घरेलु उद्योगहरू लोप हुँदै जानु त्यति मात्रै होइन, नेपालले आफ्नो उत्पादन क्षमतामा पनि प्रश्न उठाएको छ । रोजगारको अभाव, सीपको ह्रास, र स्थानीय कच्चा पदार्थको कमीले हाम्रो अर्थतन्त्रलाई नै असर पुर्याइरहेको छ । हामी देख्छौं कि चीन, भारत, बंगलादेश जस्ता देशबाट कम मूल्यका तयारी कपडा, जुत्ता, प्लास्टिकका सामग्री र अन्य दैनिक प्रयोगका वस्तुहरू नेपालभित्र आइरहेका छन् । भक्तपुर र ललितपुर जस्ता ठाउँहरूमा अझै केही परम्परागत हस्तकलाका कामहरू चलिरहेका छन्—माटाका भाँडा, मूर्तिकला, कपडा, र खुकुरी बनाउने कामहरू । त्यहाँको कला र सीप अझै केही स्थानमा जीवित छ । तर धेरै साना उद्योगहरू बन्द हुँदै गए, र ती प्रतिस्थापित भएका छन् । यसले हाम्रो उत्पादन प्रणाली किन अपेक्षित रूपमा विकास हुन सकेन र किन हामी विदेशी आयातमा निर्भर हुँदै गएका हौं भन्ने प्रश्नहरू जन्माउँछ । प्रतिस्पर्धा गर्न नसक्ने, कमजोर उत्पादन क्षमता, र दक्ष जनशक्तिको अभाव नै मुख्य कारण हुन् ।
अहिले नेपालमा चीन, भारत र बंगलादेशबाट ठूलो परिमाणमा कम मूल्यका तयारी कपडा, जुत्ता, प्लास्टिकका सामग्री, र दैनिक उपभोगका वस्तुहरू आयात भइरहेका छन् । अझै पनि केही ठाउँहरूमा परम्परागत कामहरू जरामात्रै बाँकी छन्—भक्तपुरको माटाका भाँडा, ललितपुरको मूर्तिकला, कपडा बनाउने परम्परा, र हिमाली क्षेत्रहरूमा ऊनी र गलैँचा कपडा बनाउने परम्परा । यी परम्परागत कामहरू अझै कतै कतै देखिन्छन्, तर धेरै ठाउँमा ती लोप हुने क्रममै छन् । हामीले यसलाई केवल इतिहासको रूपमा हेर्नु नहुने हो, किनभने यी परम्परागत सीप र उत्पादन हाम्रो सांस्कृतिक सम्पदा हुन्, जसलाई जोगाउनु हाम्रो जिम्मेवारी हो ।
अर्कोतिर, विदेशी उद्योगले ठूलो परिमाणमा उत्पादन गर्ने, आधुनिक मेसिन प्रयोग गर्ने, कच्चापदार्थ सस्तोमा खरिद गर्ने र वितरण प्रणाली व्यवस्थित बनाउने भएकाले उनीहरूको उत्पादन लागत कम हुन्छ भने नेपाली साना उद्योगले सीमित उत्पादन, महँगो कच्चापदार्थ, श्रम लागत र ढुवानी खर्चका कारण मूल्यमा प्रतिस्पर्धा गर्न कठिनाइ भोग्छन् । बजारमा प्लास्टिकका टोकरी र अन्य आयातित सामग्रीको प्रयोग बढ्दै गएको छ । हाम्रो देशमा स्थानीय तानमा कपडा बुन्न सकिन्छ, तर तयारी कपडाको आयात र प्रयोग व्यापक छ । स्थानीय काठ, माटो र धातुबाट सजावटका सामग्री बनाउन सकिन्छ, तर बजारमा मेसिनबाट बनेका सस्ता विदेशी सामग्रीको बाहुल्यता बढ्दै गएको छ । परालका गुन्द्री र सुकुलको स्थानमा प्लास्टिकका म्याट र कार्पेटले बजार लिएका छन् । यसले स्थानीय उत्पादनको बजार साँघुरो बनाएको छ ।
उत्पादनभन्दा व्यापारमा बढी आकर्षण नेपालमा वस्तु उत्पादन गरेर बजारमा पुर्याउनुभन्दा विदेशबाट तयारी सामान ल्याएर बिक्री गर्नु कतिपय व्यवसायीका लागि सहज र छिटो आम्दानीको माध्यम बनेको छ । उद्योग सञ्चालन गर्दा मेसिन, कच्चापदार्थ, कामदार, विद्युत्, भाडा, कर, व्यवस्थापन र बजार व्यवस्थापनमा लगानी गर्नुपर्छ । उत्पादन बिक्री नभएमा नोक्सानीको जोखिम पनि हुन्छ । तर आयात व्यापारमा तयारी सामान ल्याएर बिक्री गर्ने व्यवस्था तुलनात्मक रूपमा सरल हुन्छ । यसरी उत्पादनमुखी अर्थतन्त्रभन्दा आयात र व्यापारमुखी अर्थतन्त्रतर्फ आकर्षण बढ्दा देशभित्र नयाँ उद्योग स्थापना गर्ने उत्साह कमजोर हुन सक्छ । नेपालमा जस्तासुकै कुरा गरे पनि साना उद्योगीले बैंक तथा वित्तीय संस्थाबाट सहज कर्जा पाउन अत्यन्तै गाह्रो छ । घरेलु तथा साना उद्योग सञ्चालन गर्न पुँजी आवश्यक हुन्छ । तर साना उद्यमीहरूसँग पर्याप्त धितो, औपचारिक आम्दानीको प्रमाण र बैंकले माग्ने अन्य कागजात नहुन सक्छन् र भए पनि ऋण पाउन भने गाह्रै छ । नयाँ उद्यम सुरु गर्न चाहने युवा, परम्परागत सीप भएका कालीगढ र ग्रामीण क्षेत्रका उद्यमीलाई आवश्यक पुँजी जुटाउन कठिन हुन्छ । कर्जा पाए पनि ब्याज, किस्ता र अन्य खर्चको दबाबले उद्योग सञ्चालन गर्न चुनौती हुन्छ । र साना उद्यमीहरूलाई राज्यबाट उक्साउने र व्यापार गराउने पनि चलन छैन । विशेषगरी परम्परागत सीप र श्रममा आधारित उद्योगलाई आधुनिक व्यवसायको रूपमा विकास गर्न आवश्यक लगानी र वित्तीय सहजीकरण पर्याप्त हुन समेत सकेको छैन । नेपालमा सरकारी नीति र कार्यान्वयनबीचको अन्तर अझै ठूलो छ ।
घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम, घोषणा र नीतिहरू हामीले देखिरहेका छौँ । सस्तो ऋण, अनुदान, तालिम, औद्योगिक गाउँ, र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने प्रयासहरू पनि निरन्तर भइरहेका छन् । तर, उद्योग दर्ता, नवीकरण र करसम्बन्धी प्रक्रिया अझै पनि सामान्य नागरिकका लागि जटिल छ । सरकारले उद्यमीलाई बजार खोज्न, व्यवसाय सुरु गर्न वा विस्तार गर्न पर्याप्त सहयोग पुर्याएको देखिँदैन । तालिम लिएका मानिसहरूलाई व्यवसाय सञ्चालनमा कुनै विशेष सहायता मिलिरहेको छैन । साथै, धेरैजसो उद्योगहरू बन्द हुनबाट जोगाउने, संरक्षण र सहुलियत दिने कुरामा पनि स्पष्टता छैन । नीति बनाउने त सजिलो हो, तर त्यसको प्रभावकारी कार्यान्वयन भने निकै चुनौतीपूर्ण छ ।
पछिल्ला पुस्तामा कपडा बुन्ने, माटाका भाँडा बनाउने, काठ कुँद्ने, धातुका सामान बनाउने र बाँसका उत्पादनहरू बनाउन जाने सीपहरू पुस्तौँदेखि हस्तान्तरण भइरहन्थ्यो । तर अहिले त्यो परम्परा टुक्राटुक्रा भइँदै गएको छ । नयाँ पुस्ताले ती पेसाका प्रति आकर्षण देखाउँदैन । युवा विदेश पलायन भइरहेका बेला, वृद्ध र अनुभवीहरू कति दिनसम्म त्यो कामलाई जोगाउन सक्छन्? हो, यसलाई नयाँ काम गर्न सकिन्न भन्ने होइन, तर सीप र प्रविधिको आधुनिकीकरण आवश्यक छ । युवा भीख माग्न विदेश जान चाहँदैनन्, तर उनीहरूलाई आधुनिक शिक्षा, सेवा क्षेत्र, र वैदेशिक रोजगारीतर्फ आकर्षित गराउने पहल गर्नुपर्छ । पुरानो सीपबाट पर्याप्त आम्दानी, सामाजिक सम्मान र भविष्यको सुरक्षा नपाएका युवा नयाँ विकल्प खोज्न स्वाभाविक नै हो । यसले गर्दा परम्परागत उद्योगहरू र तीसँग सम्बन्धित ज्ञानसमेत हराउने खतरा बढिरहेको छ । कच्चा पदार्थ र प्रविधिको अभाव पनि एउटा ठूलो समस्या हो ।
नेपालमा बाँस, निगालो, अल्लो, लोक्ता, ऊन, कपास, काठ, जडीबुटी, कृषि उत्पादनहरू जस्ता स्रोतहरू प्रशस्त छन्, तर ती स्रोतलाई व्यवस्थित र प्रविधिसँग जोडेर औद्योगिक उत्पादनमा परिणत गर्ने व्यवस्था अझै पूर्ण विकसित भएको छैन । स्रोतका ठाउँ र उद्योगको सञ्चालन ठाउँबीच समन्वयको कमीले समस्या अझ गहिरो बनाएको छ । प्रशोधन केन्द्र, भण्डारण, गुणस्तर परीक्षण, आधुनिक मेसिन र प्राविधिक जनशक्तिको अभावले उत्पादन लागत बढाउँछ । परम्परागत सीपलाई आधुनिक डिजाइन र प्रविधिसँग जोड्न नसक्दा, उत्पादनको गुणस्तर, आकर्षण र बजार विस्तारमा समस्या आउँछ । सबै विदेशी वस्तु राम्रो हो, अनि सबै स्वदेशी उत्पादन राम्रो हो भन्ने होइन । ग्राहकले गुणस्तर, मूल्य र टिकाउपनको आधारमा छनोट गर्नुपर्छ । त्यसो भए, स्वदेशी उत्पादनलाई गुणस्तरीय बनाउन र बजारमा पहिचान दिलाउन सरकार र निजी क्षेत्रको संयुक्त भूमिका आवश्यक हुन्छ ।
ठूला उद्योग बन्द हुनु र औद्योगिक वातावरण कमजोर हुनु, घरेलु उद्योगको विकासका लागि बाधक बनेको छ । यी उद्योगहरूले कच्चा पदार्थ, धागो, कपडा, प्याकेजिङ सामग्री, औजार र अन्य आवश्यक वस्तु उत्पादन गर्छन् । जब ती कमजोर हुन्छन्, साना उद्योगहरूको लागत पनि बढ्न सक्छ । एक समयमा नेपालका विभिन्न ठूला उद्योगहरूले ठूलो संख्यामा रोजगारी सिर्जना गरेका थिए । तर, धेरै उद्योगहरू बन्द हुन पुगेका छन्, केही लामो समयदेखि समस्यामा परेका छन्, र कतिपयको सञ्चालन निरन्तरता कमजोर भएको छ । यस्तो बेला, विद्युत्, यातायात र पूर्वाधारको समस्या अझै कायम छ । नियमित विद्युत् आपूर्ति, सडक, ढुवानी, भण्डारण र बजारसम्मको पहुँच नहुँदा उत्पादन र बिक्रीमा अवरोध आउँछ ।
विशेष गरी ग्रामीण क्षेत्रहरूमा, जहाँ उत्पादन गर्दा ढुवानी खर्च धेरै लाग्छ र उत्पादन समयमै बजारसम्म पुग्न सक्दैन । त्यहाँका केही वस्तुहरू मौसमी वा छिटो बिग्रने प्रकृतिका हुन्छन् । नेपालमा सडक र विद्युत् पूर्वाधारमा केही सुधार भए पनि, सबै औद्योगिक क्षेत्र र ग्रामीण उत्पादन केन्द्रसम्म यी सुविधा पुग्न सकेको छैन । बजार व्यवस्थापन र ब्रान्डिङको अभाव छ, हाम्रो देशमा राम्रो सीप भएका कालीगढ र उत्पादन गर्ने उद्यमीको कमी छैन । तर उत्पादनलाई आकर्षक बनाउने, प्याकेजिङ गर्ने, ब्रान्ड निर्माण गर्ने र बजारसम्म पुर्याउने व्यवस्थापन कमजोर छ । नेपालमा बनेका यस्ता सामग्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकिने सम्भावना छ । तर उत्पादन र बिक्रीबीचको सम्बन्ध व्यवस्थित नहुँदा धेरै उद्यमी स्थानीय बजारमै सीमित छन् । उत्पादन, रोजगारी र बजार विस्तारका आधारमा सहुलियतपूर्ण वित्तीय सुविधा दिनुपर्छ ।
प्रत्येक स्वदेशी उत्पादनको ब्रान्ड निर्माण नेपाली उत्पादनलाई आकर्षक प्याकेजिङ, गुणस्तर प्रमाणीकरण, डिजिटल मार्केटिङ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्नुपर्छ । सीपलाई पुस्तान्तरण गर्ने व्यवस्था विद्यालय तथा प्राविधिक शिक्षालयमा परम्परागत सीपसँग सम्बन्धित व्यावहारिक शिक्षा दिन सकिन्छ । अनुभवी कालीगढलाई प्रशिक्षक बनाएर नयाँ पुस्तालाई तालिम दिने कार्यक्रम सञ्चालन गर्नुपर्छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन नेपालमै उत्पादन गर्न सकिने वस्तुको पहिचान गरी क्रमशः आयात प्रतिस्थापन गर्नुपर्छ । स्वदेशी उद्योगलाई गुणस्तरीय, प्रतिस्पर्धी र उत्पादनशील बनाउनुपर्छ । बन्द उद्योगको पुनः सञ्चालन र नयाँ लगानी सम्भाव्यता भएका बन्द तथा समस्याग्रस्त उद्योगको अध्ययन गरी निजी क्षेत्रसँगको सहकार्यमा पुनः सञ्चालन गर्न सकिन्छ । उद्योग सञ्चालनमा पारदर्शिता, व्यावसायिक व्यवस्थापन र राजनीतिक हस्तक्षेपबाट मुक्ति आवश्यक हुन्छ । सडक बनेका छन्, भवन बनेका छन्, बजार विस्तार भएका छन्, प्रविधिको प्रयोग बढेको छ । तर विकासको वास्तविक मापन हामीले कति वस्तु उत्पादन गर्छौँ, कति रोजगारी सिर्जना गर्छौँ र आफ्ना नागरिकको आवश्यकता कति हदसम्म आफ्नै उत्पादनबाट पूरा गर्न सक्छौँ भन्ने कुराले पनि निर्धारण गर्छ ।
विकास भनेको सडक, पुल, भवन, गगनचुम्बी संरचना र आधुनिक बजारको विस्तार मात्र होइन । विकास भनेको आफ्नै देशमा उत्पादन गर्ने क्षमता विकास गर्नु, स्थानीय स्रोतको सदुपयोग गर्नु, नागरिकलाई रोजगारी दिनु, सीप र प्रविधिको संरक्षण गर्नु तथा देशको अर्थतन्त्रलाई बलियो बनाउनु पनि हो । आयात गर्नु गलत होइन, तर उत्पादन गर्न सक्ने क्षमता हुँदाहुँदै पनि सधैँ आयातमै निर्भर रहनु दीर्घकालीन आर्थिक विकासका लागि चुनौती हो । पुरानो सीपलाई नयाँ प्रविधिसँग जोडेर नयाँ पुस्ताका लागि रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्नुपर्छ । विदेशी वस्तु मात्र होइन, स्वदेशी वस्तु प्रयोग गर्नमा प्रोत्साहन गरौँ, यही माटोको सामान प्रयोग गरौँ, नेपाली स्थानीय वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आफ्नो पहिचान समेत कायम गरौँ । यसको लागि राज्यले स्थानीय सीप र विकासको प्रोत्साहन गरी स्थानीय रूपमै रोजगारी सिर्जना गरौँ ।