काठमाडौं, नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आयोजना हुने भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई)को सहकार्यमा असोज २३ गते काठमाडौंमा सम्मेलन हुन लागेको हो ।
एआई, युवा उद्यमशीलता र रोजगारीको मुख्य विषयमा केन्द्रित भएर सम्मेलन गर्नको लागी दुई संस्थाबीच हालै सम्झौता भएको हो । सम्मेलनमा तीन तहकै सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था र विभिन्न कूटनीतिक नियोगका उच्चपदस्त अधिकारीहरु सहभागी हुनेछन् । सीबीफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलन वित्तीय पहुँच, वित्तीय समावेशीकरण, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा प्रविधिको उपयोग लगायतका विषयमा केन्द्रित हुने बताए । साथै नेपालको बैंकिङ तथा वित्तीय क्षेत्र र युवा उद्यमीहरूबीचको सम्बन्धलाई थप विस्तारित र व्यावसायिक बनाउन सम्मेलनले सहयोग गर्ने उनको भनाइ छ । यसले उत्पादनशील क्षेत्रमा सुरक्षित कर्जा लगानी बढाउन समेत ठूलो मद्दत पुग्न उनले बताए ।
त्यसैगरी नेपाल बिजनेस इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले देशको दिगो आर्थिक विकासका लागि युवाहरुलाई उत्पादन, रोजगारीमा केन्द्रित गर्नुपर्ने बताए । नीतिगत व्यवस्था, स्टार्टअपलाई बीउ पुँजी, युवाहरुले गरेका उद्यममा वित्तीय पँहुचलगायतका विषय बैंक तथा वित्तीय संस्थासँग सोझो सम्बन्ध भएकाले सीबीफिनसँगको सहकार्यले सम्मेलन थप प्रभावकारी हुने उनको भनाई थियो । देशभरबाट ४०० उद्यमी–व्यवसायी र सरोकारवालाको सहभागिता रहने सम्मेलनले युवा उद्यमी तथा वित्तीय क्षेत्र अनुकूल नीति निर्माण गर्न र लगानीको वातावरण सुधार गर्न स्पष्ट दिशाबोध गर्ने अपेक्षा गरिएको छ ।