काठमाडौं, अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै गएसँगै जोखिम व्यवस्थापन, बीमा दाबी र सहज कर्जा प्रवाहमा सरोकारवालाले जोड दिएका छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक संवादमा सहभागी सरोकारवालाले अटो कर्जा विस्तारसँगै जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।
नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले अटो तथा हायर पर्चेज कर्जामा लोन टु भ्यालु रेसियो जोखिम नियन्त्रणका लागि महत्वपूर्ण रहेको बताए । उनका अनुसार सन् २००७/०८ को विश्वव्यापी वित्तीय संकटपछि बैंकको पुँजी मात्र पर्याप्त नहुने देखिएपछि कर्जामा लोन टु भ्यालु रेसियोको व्यवस्था गरिएको हो । ‘हायर परचेस कर्जामा सुरुमा ५० प्रतिशत लोन टु भ्यालु रेसियो भए पनि अहिले ईभीमा ८० प्रतिशत र आइस गाडीमा ६० प्रतिशत छ,’ उनले भने । ब्याजदर बढ्दा ऋणीलाई पनि समस्या हुन्छ । त्यसमा सुरक्षित हुनका लागि पनि लोन टु भ्यालु रेसियो महत्वपूर्ण छ ।
उनका अनुसार कर्जा डिफल्ट बढ्दै गएमा सवारी आयातकर्ता, ऋणी र ऋणदाता तीनै पक्ष प्रभावित हुन सक्छन् । उनले भने, ‘लोन टु भ्यालु रेसियो परिवर्तन हुने विषय राज्यमा निर्भर रहन्छ । राज्यको सोचमा पनि भर पर्छ । परिवर्तन पनि हुन सक्छ ।’ ईभीमा ग्रिन फाइनान्सिङअन्तर्गत रहेकोले लोन टु भ्यालु रेसियो केही सहज गराएको उनले बताए । सुवेदीले अटो कर्जा र हायर पर्चेज कर्जालाई एउटै रूपमा बुझ्न नहुने बताए । हायर पर्चेज कर्जामा सवारीसाधनसँगै मोबाइल तथा घरायसी सामानसमेत समेटिने भएकाले तथ्यांक विश्लेषण गर्दा क्षेत्र छुट्याउनुपर्ने उनको भनाइ छ ।
हाल कुल कर्जा ६० खर्ब रुपैयाँमध्ये १ खर्ब ४२ अर्ब हायर पर्चेज कर्जाको हिस्सा रहेको उनले जानकारी दिए । उनका अनुसार गत वर्षको तुलनामा हायर पर्चेज कर्जा १० प्रतिशतले बढेको छ । ‘यसको खराब कर्जा कम छ भने सानो मार्जिन राखेर पनि बैंकहरु कर्जा दिन तयार रहेकाले यसमा जोखिम पनि कम छ,’ उनले भने । खराब कर्जा कम रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले तुलनात्मक रूपमा कम मार्जिनमै कर्जा दिन तयार हुने भएकाले हायर पर्चेज क्षेत्रमा तत्काल ठूलो जोखिम नदेखिएको सुवेदीले बताए । अटो कर्जामा ‘क्रेडिट बबल’ आउने अवस्था नरहेको पनि उनले दाबी गरे ।
त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बीमा दाबी गर्दा समस्या हुने गलत भाष्य बनेको बताए । बीमा दाबीको आधारभूत सिद्धान्त हुने भएकोले यसको प्रमाण र प्रक्रिया बुझेपछि सहज हुने उनको भनाई छ । उनका अनुसार बीमा दाबी फछ्र्योटका लागि क्षतिको सही विवरण र त्यसलाई पुष्टि गर्ने आवश्यक कागजात उपलब्ध गराउनुपर्छ । कानुनी व्यवस्था र प्रमाणका आधारमा पारदर्शी रूपमा दाबी फछ्र्योट गर्नुपर्ने उनले बताए । ‘बीमा दाबीको आधारभूत सिद्धान्त र प्रक्रिया बुझ्न आवश्यक छ । आवश्यक प्रमाण र कागजात पुगेपछि दाबी फछ्र्योट सहज हुन्छ,’ पन्तले भने । बीमा दाबीलाई छिटो फछ्र्योट गर्न नेपाल बीमा प्राधिकरणले समेत निर्देशन दिँदै आएको उनले बताए । दाबी कुन चरणमा पुगेको छ भन्ने जानकारी दिने प्रणाली तथा ड्यासबोर्ड आवश्यक रहेको उनको भनाइ छ । पन्तले सवारीसाधन र मोबाइलबाहेक घरायसी सामानमा बीमाको पहुँच न्यून रहेको बताए । ईभीको ब्याट्रीमा भने बीमा दाबी गर्दा ५० प्रतिशतसम्म मात्र डिप्रिसिएसन कटौती हुने व्यवस्था रहेको उनले जानकारी दिए ।
हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले बैंकिङ प्रणालीसम्म सहज पहुँच नपुगेका ग्राहकलाई हायर पर्चेज कम्पनीले कर्जा उपलब्ध गराउँदै आएको बताए । ‘हाम्रो लक्षित वर्ग बैंकसम्म पुग्न नसक्ने ग्राहक हुन् । सानो कर्जाका ग्राहकलाई कर्जा प्रवाह गर्नु हाम्रो मुख्य लक्ष्य हो,’ ठाकुरले भने । उनका अनुसार हायर पर्चेज कम्पनीहरूले बैंकबाट कर्जा लिएर ग्राहकलाई कर्जा प्रवाह गर्ने गरेका छन् । हालसम्म यी कम्पनीमार्फत करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको उनले बताए । पछिल्लो कर्जा प्रवाहमध्ये ८० प्रतिशत सवारीसाधन तथा २० प्रतिशत मोबाइलमा गएको उनको भनाई छ । बैंकिङ प्रक्रियाका कारण समय लाग्ने अवस्थामा हायर पर्चेज कम्पनीले केही घण्टामै कर्जा उपलब्ध गराउन सक्ने ठाकुरले बताए । उनका अनुसार हायर पर्चेज कर्जा लिनेमा ४० वर्षभन्दा कम उमेर समूहको हिस्सा ६० प्रतिशत छ ।
ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्यालले स्थिर आम्दानी भएकाहरूले हायर पर्चेज कर्जा लिइरहेको बताए । उनले पहिला गाडी किन्ने औसत उमेर ४३ भए पनि अहिले अझ कम रहेको उनले जानकारी दिए । उनले भने, ‘अहिले ६० प्रतिशत ऋण लिने ४० वर्षभन्दा कम उमेरका छन् । त्यसमा पनि महिलाहरुको संख्या उल्लेख्य छ ।’ सबैभन्दा बढी काठमाडौं नै भएपनि कर्जा विकेन्द्रीकृत हुँदै गएको उनको भनाइ छ । उनले भने, ’काठमाडौं बाहिरका सहरमा पनि बजार विस्तार गर्दै गएका छौं ।’ स्थिर आम्दानीको स्रोत भएका र विद्यार्थीले पनि गाडी चढ्न सक्ने उनले बताए । हायर पर्चेज कम्पनीलाई कर्जा दिएपछि बैंकहरुलाई पनि सहज हुने उनको भनाइ छ ।