काठमाडौं, भन्सार एजेन्ट महासंघ नेपालले अनधिकृत व्यक्तिलाई भन्सार जाँचपास कार्यमा संलग्न नगराउने प्रतिबद्धता जनाएको छ ।महासंघले आइतबार एक विज्ञप्ति जारी गरी प्रचलित भन्सार कानुनअनुसार भन्सार जाँचपास प्रणाली सञ्चालन गर्न प्रतिबद्ध रहेको जनाएको हो । भन्सार विभागले हालै परिपत्र जारी गरी प्रचलित भन्सार कानुनबमोजिम नियुक्तिपत्र प्राप्त भन्सार जाँचपास प्रतिनिधिलाई मात्र सम्बन्धित मालवस्तुको जाँचपास कार्यमा संलग्न गराउन निर्देशन दिएको थियो ।
यसअघि भन्सार एजेन्टहरुले पनि अन्य व्यक्तिलाई प्रतिनिधि तोकेर भन्सार जाँचपास गराउने गरेका थिए । विभागले अन्य अनधिकृत व्यक्तिलाई जाँचपास प्रक्रियामा संलग्न नगराउन निर्देशन दिएको हो । विभागको निर्देशनले भन्सार जाँचपास प्रतिनिधिको वैधानिक पहिचान र जिम्मेवारी स्पष्ट गर्नुका साथै अनधिकृत संलग्नता नियन्त्रण, पेशागत उत्तरदायित्व र सुशासन सुदृढीकरणमा आधार तयार गरेको महासंघको भनाइ छ ।
महासंघले आफ्ना सदस्य तथा देशभरका इजाजतप्राप्त भन्सार जाँचपास प्रतिनिधिहरू आवश्यक आन्तरिक तयारीसहित प्रचलित भन्सार ऐन, नियमावली तथा विभागीय निर्देशनको पूर्ण पालना गर्दै कानुनले तोकेको जिम्मेवारी स्वयं निर्वाह गर्न तयार रहेको स्पष्ट पारेको छ । महासंघका अनुसार कानूनको पूर्ण कार्यान्वयनसँगै व्यवहारमा देखिने परिणाम र अनुभवले वर्तमान भन्सार जाँचपास प्रणालीको कार्यक्षमता, व्यापार सहजीकरण, राजस्व प्रवाह तथा पेसागत संरचनाका व्यवहारिक पक्षबारे वस्तुगत मूल्यांकनको आधार तयार गर्नेछ ।
‘कानुनद्वारा अधिकारप्राप्त व्यक्ति र अनधिकृत व्यक्तिबीच स्पष्ट पहिचान कायम हुनु नै उत्तरदायी, पारदर्शी र व्यवस्थित भन्सार प्रशासनको आधार हो । विभागको यस निर्देशनले भन्सार जाँचपास प्रतिनिधिको वैधानिक पहिचान र जिम्मेवारीलाई स्पष्ट गर्नुका साथै अनधिकृत संलग्नता नियन्त्रण, पेसागत उत्तरदायित्व तथा सुशासन सुदृढीकरणतर्फ महत्वपूर्ण आधार निर्माण गरेको छ’, महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कानुनको पूर्ण कार्यान्वयनसँगै व्यवहारमा प्राप्त हुने अनुभवले वर्तमान जाँचपास प्रणालीको कार्यक्षमता, व्यापार सहजीकरण, राजस्व प्रवाह तथा पेसागत संरचनाका व्यावहारिक पक्षहरू समेत वस्तुगत रूपमा उजागर गर्ने महासंघको भनाइ छ । ‘महासंघ कुनै पनि प्रकारको अनधिकृत प्रतिनिधित्व, इजाजतपत्रको दुरुपयोग वा गैरकानुनी अभ्यासको पक्षमा नरहेको पुनः स्पष्ट गर्दछ । हाम्रो उद्देश्य कुनै व्यक्ति वा समूहको प्रवेश वा बहिर्गमनको विषय होइन, कानुनले जसलाई अधिकार, जिम्मेवारी र उत्तरदायित्व दिएको छ, भन्सार जाँचपास प्रणाली त्यही वैधानिक संरचनाबाट सञ्चालन होस् भन्ने हो’ महासंघले भनेको छ ।
भन्सार जाँचपास प्रणालीमा कसैको प्रवेश वा बहिर्गमनभन्दा कानूनले अधिकार, जिम्मेवारी र उत्तरदायित्व तोकेको वैधानिक संरचनामार्फत नै जाँचपास प्रक्रिया सञ्चालन हुनु आफ्नो मुख्य सरोकार रहेको महासंघको भनाइ छ । महासंघले राजस्व सुरक्षा, वैध व्यापार सहजीकरण, पारदर्शिता, सुशासन तथा आधुनिक र उत्तरदायी भन्सार प्रशासन निर्माणमा नेपाल सरकार र भन्सार प्रशासनको जिम्मेवार पेशागत साझेदारका रूपमा आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । महासंघले भनेको छ, ‘कानुनको पालना हाम्रो दायित्व हो, कार्यान्वयनको यथार्थबाट प्राप्त अनुभवलाई समयानुकूल कानुनी तथा नीतिगत सुधारको आधार बनाउनु साझा जिम्मेवारी हो ।’