काठमाडौं, सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्म तीन अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ५४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले तीन अर्ब ३६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी सात दशमलव २४ प्रतिशतले बढेर नौ अर्ब ५ करोड १२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी आठ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ रहेको थियो । यस्तै, खुद फि तथा कमिसन आम्दानी १७ दशमलव ६९ प्रतिशतले बढेर एक अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष एक अर्ब ५८ करोड ४३ लाख रुपैयाँ थियो ।
बैंकको कुल सञ्चालन आम्दानी आठ दशमलव ५९ प्रतिशतले बढेर १२ अर्ब ५ करोड १६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल सञ्चालन आम्दानी ११ अर्ब ९ करोड ८६ लाख रुपैयाँ रहेको थियो । सञ्चालन नाफा पनि तीन दशमलव ७८ प्रतिशतले वृद्धि हुँदै पाँच अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो चार अर्ब ९७ करोड ४८ लाख रुपैयाँ थियो ।
चुक्ता पुँजी १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा १६ अर्ब ९२ करोड रुपैयाँ सञ्चित रहेको छ । कुल सम्पत्ति तीन खर्ब ३८ अर्ब ८१ करोड रुपैयाँबाट बढेर तीन खर्ब ८९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले कर्जा लगानी दुई खर्ब १४ अर्ब ४५ करोड ६४ लाख रुपैयाँबाट बढाएर दुई खर्ब ३३ अर्ब ८७ करोड २६ लाख रुपैयाँ पुर्याएको छ । निक्षेप संकलन पनि दुई खर्ब ८० अर्ब ३२ करोड १३ लाख रुपैयाँबाट बढेर तीन खर्ब २७ अर्ब एक करोड ६४ लाख रुपैयाँ पुगेको छ । यद्यपि, बैंकको वितरणयोग्य नाफा भने घटेको छ । अघिल्लो वर्ष एक अर्ब ८३ करोड ७८ लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा समीक्षा अवधिमा एक अर्ब ७० करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ ।
वित्तीय सूचकअनुसार बैंकको प्रतिसेयर आम्दानी २३ रुपैैयाँ छ पैसा, प्रतिसेयर नेटवर्थ दुई सय २५ रुपैयाँ १७ पैसा रहेको छ । बैंकको निष्क्रिय कर्जा भने शून्य दशमलव ६६ प्रतिशतबाट बढेर एक दशमलव शून्य छ प्रतिशत पुगेको छ ।