काठमाडौँ, देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भू–भागमा सरदर स्थानको आसपासमा रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बदली तथा मधेस र कोशी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस र कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।आज राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
रातिको समयमा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान, कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । बागमती, गण्डकी तथा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । यस्ता घटनाबाट दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागका पछिल्ला सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।