भद्रपुर , झापाको बिर्तामोड नगरपालिका–२ स्थित त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।शुक्रबार राति करिब ११ बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्दार खमबहादुर थापाको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिर्तामोड–२ का २४ वर्षीय प्रवेश सहनी र २५ वर्षीय किरण शर्मा रहेका छन् । प्रहरीले उनीहरूको शरीर खानतलासी गर्दा २ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।