कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । गत असार ३२ गते नेपाली कांग्रेस र नेकपाका १६ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए । शनिबार दिउँसो ३ बजे अविश्वासको प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको थियो ।
यसअघि गत असार ३१ गते कर्णाली प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दल नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले राजीनामा दिएका हुन् ।
कँडेल २०८० साल चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसबेला तत्कालीन नेकपा (माओवादी केन्द्र)ले उनलाई समर्थन गरेको थियो । केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेपछि नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन बनेको थियो । सोहीअनुसार प्रदेश सरकारमा समेत कांग्रेस–एमाले गठबन्धन बनेको थियो ।