काठमाडौं, ललितपुर महानगरपालिका–१०, पुल्चोकस्थित इम्बार्क कलेज परिसरअगाडि कलेजको पहलमा निर्माण गरिएको सार्वजनिक पार्कको औपचारिक उद्घाटन गरिएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आइतबार पार्कको उद्घाटन गरेका हुन् । सहरीकरण तीव्र बन्दै जाँदा काठमाडौं उपत्यकामा खुला तथा हरित क्षेत्र घट्दै गएको अवस्थामा सार्वजनिक स्थानलाई व्यवस्थित, हरियालीयुक्त र आकर्षक बनाउने उद्देश्यले पार्क निर्माण गरिएको कलेजले जनाएको छ । पार्कमा स्थानीय प्रजातिका फूल तथा विभिन्न बिरुवा रोपिनुका साथै पानीको फोहोरा निर्माण गरिएको छ । यसले व्यस्त सहरी वातावरणमा शान्त, स्वच्छ तथा रमणीय वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
कलेजका अनुसार पार्क विद्यार्थी, स्थानीय बासिन्दा तथा आसपासका समुदायका लागि उपयोगी हुने गरी विकास गरिएको हो । वातावरण संरक्षण, हरित पूर्वाधारको प्रवर्द्धन तथा सामुदायिक हितलाई ध्यानमा राखेर पार्कको संरचना तयार गरिएको जनाइएको छ । पार्क निर्माण गर्दा यसको दीर्घकालीन संरक्षण तथा व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको छ । स्थानीय प्रजातिका वनस्पति प्रयोग गर्नुका साथै नियमित रूपमा व्यवस्थापन तथा संरक्षण गर्न सहज हुने संरचना निर्माण गरिएको कलेजको भनाइ छ । यसबाट पार्कलाई दीर्घकालसम्म आकर्षक र उपयोगी अवस्थामा राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
इम्बार्क कलेजका सह–संस्थापक तथा कार्यकारी निर्देशक आशिष ठाकुरले कलेजले दिगोपन, हरित भविष्य र स्थानीय पूर्वाधार सुदृढीकरणप्रतिको प्रतिबद्धताअनुसार पार्क निर्माण तथा व्यवस्थापनको जिम्मेवारी लिएको बताए । ‘यो हाम्रो यस्तो पहिलो प्रयास हो, तर अन्तिम होइन,’ उनले भने । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय तह र शैक्षिक संस्थाबीचको सहकार्यबाट समुदायका लागि उपयोगी पूर्वाधार निर्माण गर्न सकिने बताए ।