गत साउन २६ गते संयुक्त राष्ट्रसंघले हरेक वर्ष अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनायो । यो दिवस युवाहरूका आवाज, योगदान र चुनौतीलाई विश्वव्यापी रूपमा उजागर गर्ने महत्वपूर्ण अवसर हो । सन् २०२६ को अन्तर्राष्ट्रिय युवा दिवसको विषयवस्तु ’भिन्न परिवेश, साझा आकांक्षा’ रहेको छ । यो विषयवस्तुले विश्वभरका युवाहरूको जीवन भिन्न–भिन्न राष्ट्रिय र स्थानीय वास्तविकताले आकार लिएको भए पनि उनीहरूको आकांक्षा आश्चर्यजनक रूपमा समान रहेको तथ्यलाई स्वीकार गर्दछ ।
युवाहरू जहाँ बसेका भए पनि मर्यादा, अवसर, अर्थपूर्ण सहभागिता, मर्यादित रोजगारी, गुणस्तरीय शिक्षा र दिगो भविष्यको खोजी गर्दछन् । यो वर्षको विषयवस्तुले विशेष गरी कम विकसित देश, भूमिबद्ध विकासशील देश र साना टापु विकासशील राज्यमा बसोबास गर्ने युवाहरूमाथि ध्यान केन्द्रित गरेको छ । यी मुलुकका युवाहरू गरिबी, जलवायु परिवर्तन, भौगोलिक अलवा, सीमित आर्थिक अवसर र डिजिटल प्रविधिको असमान पहुँच जस्ता बहुआयामिक चुनौतीहरूको सामना गर्दछन् । नेपाल भूमिबद्ध विकासशील देश भएकाले यो विषयवस्तु नेपालका लागि विशेष रूपमा सान्दर्भिक छ । नेपालका युवाहरू हिमाल, पहाड र तराईका भिन्न परिवेशमा हुर्किएका छन् । तर, उनीहरूका आकांक्षा एउटै छन् । जसमा भन्ने नै हो भने सम्मानजनक जीवन, अवसर र उज्ज्वल भविष्य हो ।
नेपालको भौगोलिक विविधता आफैंमा एक जटिल परिवेश सिर्जना गर्दछ । उत्तरमा हिमाली क्षेत्रका युवाहरू कठोर जलवायु, सीमित पूर्वाधार र कृषिमा आधारित जीवनशैलीसँग जुधिरहेका छन् भने मध्य पहाडी क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवाको पहुँच तुलनात्मक रूपमा राम्रो भए पनि रोजगारीको अभाव प्रमुख समस्या बनेको छ । तराई क्षेत्रमा कृषि उत्पादन बढी भए पनि बाढी, डुबान र मौसमी बेरोजगारीले युवाहरूलाई प्रभावित पारेको छ । सहरी क्षेत्रमा विशेष गरी काठमाडौं उपत्यकामा युवाहरूले आधुनिक सुविधाको अनुभव गर्दा पनि आवासको महँगोपन, प्रदूषण र मानसिक स्वास्थ्यको समस्या भोगिरहेका छन् ।
सामाजिक विविधता अर्को महत्वपूर्ण पक्ष हो । नेपालमा सयौं जातजाति, भाषा र संस्कृति छन् । दलित, जनजाति, मधेशी र महिला युवाहरूले अझै पनि सामाजिक बहिष्करण, विभेद र अवसरको असमानताको सामना गर्नुपरिरहेको छ । संघीय संरचना लागू भएपछि स्थानीय तहमा युवा सहभागिता बढेको छ, तर नीति कार्यान्वयनमा असमानता अझै विद्यमान छ । ग्रामीण युवाहरू सहरी युवाहरूभन्दा शिक्षा, इन्टरनेट र स्वास्थ्य सेवामा पछाडि छन् । यी भिन्न परिवेशले युवाहरूको जीवनलाई फरक–फरक आकार दिएका छन् । तर उनीहरूको मूल आकांक्षा एउटै रहेको छ । जनसाङ्ख्यिकीय दृष्टिले नेपाल अहिले ऐतिहासिक अवसरको चरणमा छ । नेपालको कुल जनसंख्याको करिब ४० देखि ४३ प्रतिशत युवा (१६–४० वर्ष) छन् । १५–२४ वर्ष उमेर समूहका मात्रै करिब ५७ लाख युवा छन् जुन कुल जनसंख्याको करिब २० प्रतिशत हो । यो जनसांख्यिकीय लाभांश नेपालका लागि सुनौलो अवसर हो । तर यो अवसर सदुपयोग नभएमा यो भार बन्न सक्छ । हरेक वर्ष करिब पाँच लाख नयाँ युवा श्रम बजारमा प्रवेश गर्छन् । तर पर्याप्त रोजगारी सिर्जना नहुँदा ठूलो संख्यामा युवा विदेश पलायन हुन बाध्य छन् ।
नेपालका युवाहरूको साझा आकांक्षा स्पष्ट छ । पहिलो, गुणस्तरीय र व्यावहारिक शिक्षा हो । यसर्थ साक्षरता दर बढेको छ, तर शिक्षा प्रणाली र श्रम बजारबीचको तालमेल कमजोर छ । धेरै स्नातकहरूले आफ्नो योग्यतासँग मेल खाने काम पाउन सकिरहेका छैनन् । दोस्रो, मर्यादित रोजगारी हो । युवा बेरोजगारी दर २०–२२ प्रतिशतको हाराहारीमा छ भने शिक्षा, रोजगारी वा तालिममा नरहेका युवाहरूको संख्या उच्च छ । तेस्रो, अर्थपूर्ण राजनीतिक र सामाजिक सहभागिता पनि हो । युवाहरू निर्णय प्रक्रियामा आफ्नो आवाज सुन्न चाहन्छन् । चौथो, डिजिटल समावेशीकरण र प्रविधिको पहुँच छ । पाँचौं, जलवायु परिवर्तनबाट सुरक्षित र दिगो भविष्य हो । छैटौं, मानसिक स्वास्थ्य र सामाजिक सुरक्षा पनि हो । यी आकांक्षाहरू विश्वभरका युवाहरूसँग मिल्दोजुल्दो छन् । चाहे अफ्रिकाका कुनै गाउँका युवा हुन् वा युरोपका सहरका, उनीहरू सबैले मर्यादा, अवसर र सहभागिता खोजिरहेका छन् । नेपालका युवाहरू पनि यसै साझा आकांक्षाको हिस्सा हुन् ।
नेपालका युवाहरूले सामना गरिरहेका चुनौतीहरू गम्भीर छन् । सबैभन्दा ठूलो चुनौती रोजगारीको अभाव हो । आन्तरिक श्रम बजारले पर्याप्त गुणस्तरीय रोजगारी सिर्जना गर्न सकेको छैन् । यसमा पनि करिब ८० प्रतिशतभन्दा बढी रोजगारी अनौपचारिक क्षेत्रमा छ । जहाँ सुरक्षा, सामाजिक सुरक्षा र उचित ज्यालाको अभाव छ । शैक्षिक बेरोजगारी विशेष गरी चिन्ताजनक छ । धेरै युवाहरू डिग्री हातमा लिएर बेरोजगार बसिरहेका छन् । किनकि उनीहरूसँग बजारले मागेको सीप छैन । वैदेशिक रोजगारी नेपालको वास्तविकता बनेको छ । हरेक दिन करिब एक हजार पाँच सयदेखि दुई हजार युवा विदेश जान्छन् । विप्रेषण अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको छ । तर यसले दीर्घकालीन रूपमा मानव पुँजीको क्षति गराइरहेको छ । ग्रामीण क्षेत्र खाली हुँदै गएका छन्, कृषिमा श्रमशक्ति अभाव बढ्दै छ र सामाजिक संरचनामा असर परिरहेको छ ।
देशको शिक्षा प्रणालीमा गुणस्तरीय समस्या छ । आधारभूत सिकाइ कमजोर छ, व्यावसायिक र प्राविधिक शिक्षा पर्याप्त छैन् र शिक्षक क्षमतामा कमी छ । जलवायु परिवर्तनले युवाहरूको जीवनलाई प्रत्यक्ष असर पारेको छ । बाढी, पहिरो, खडेरी र मौसमी परिवर्तनले शिक्षा अवरुद्ध गर्ने, कृषिमा असर पार्ने र विस्थापन गराउने गरेको छ । धेरै युवाहरूले जलवायु चिन्ता अनुभव गरेका छन् । लैङ्गिक असमानता अझै विद्यमान छ । बालविवाह, किशोरी आमा बन्ने दर र हिंसाका घटनाले युवा महिलाहरूको सम्भावनालाई सीमित गरिरहेको छ । मानसिक स्वास्थ्य समस्या बढ्दो छ, तर सेवाको पहुँच सीमित छ ।
हालैका वर्षहरूमा युवाहरूको आक्रोश र आन्दोलनले देखाएको छ कि उनीहरू राजनीतिक अस्थिरता, भ्रष्टाचार र अवसरको अभावबाट दिक्क भएका छन् । यसमा भन्ने नै हो भने चुनौतीहरूका बाबजुद राष्ट्रका युवाहरू नवीनता र नेतृत्व देखाउँदै आएका छन् । फलतः जलवायु कार्य, डिजिटल उद्यमशीलता, सामाजिक उद्यम र सामुदायिक पहलमा युवाहरू सक्रिय छन् । वस्तुतः स्टार्टअप संस्कृति बढ्दै गएको छ । कृषिमा आधुनिक प्रविधिको प्रयोग, पर्यटनमा नवीन अवधारणा, शिक्षामा अनलाइन प्लेटफर्म र स्वास्थ्य सेवामा डिजिटल समाधान युवाहरूले ल्याएका छन् । युवाहरूले स्थानीय तहमा निर्णय प्रक्रियामा सहभागिता जनाउँदै आएका छन् । राष्ट्रिय युवा नीति, युवा भिजन २०२५ जस्ता नीतिहरूले युवाहरूलाई केन्द्रमा राखेका छन् । तर नीति र कार्यान्वयनबीचको खाडल अझै ठूलो छ । युवाहरूले आफ्नो आवाज उठाउन सामाजिक सञ्जाल, आन्दोलन र सामुदायिक संगठनहरूको प्रयोग गरिरहेका छन् ।
निचोडमा भन्ने नै हो भने अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को विषयवस्तु ’भिन्न परिवेश, साझा आकांक्षा’ नेपालका लागि गहिरो सन्देश बोकेको छ । नेपालका युवाहरू हिमालदेखि तराईसम्म, गाउँदेखि सहरसम्म भिन्न परिवेशमा बसिरहेका छन् । उनीहरूका चुनौती फरक–फरक छन् । तर उनीहरूको आकांक्षा एउटै छ । यसमा पनि सम्मान, अवसर, सहभागिता र उज्ज्वल भविष्य रोज्नु हो । यो आकांक्षालाई पूरा गर्न राज्य, समाज र युवा स्वयंले मिलेर काम गर्नुपर्छ । मूलतः जनसांख्यिकीय लाभांशको यो सुनौलो अवसर सदुपयोग गर्न सकिएन भने यो ऐतिहासिक अवसर गुम्नेछ । अतः युवाहरूको ऊर्जा, सिर्जनशीलता र नेतृत्वलाई सही दिशा दिन सकिएमा मुलुकले दिगो विकासको लक्ष्य हासिल गर्न सक्छ । युवाहरू केवल भविष्यका नेता होइनन्, वर्तमानका परिवर्तनका वाहक हुन् । उनीहरूको आवाज सुन्नु, उनीहरूमा लगानी गर्नु र उनीहरूसँग साझेदारी गर्नु आजको आवश्यकता हो । भिन्न परिवेश भए पनि साझा आकांक्षाले हामीलाई जोड्छ । यसै साझा आकांक्षालाई साकार पार्न अन्तर्राष्ट्रिय युवा दिवस २०२६ ले नेपाल र विश्वलाई प्रेरित गरोस् ।