काठमाडौं, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटर ‘यात्री पीटू’को कारखानाको अवलोकन गरेका छन् । अर्थमन्त्री वाग्लेले आइतबार सिप्रदी यात्रीद्वारा काठमाडौंको बूढानीलकण्ठस्थित कारखानामा तयार पारिएको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गरेका हुन् । सो क्रममा उनले नेपाली उत्पादनको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताए । ‘यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो’, उनले भने, ‘गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला, अघि बढ्नुहोस्, सरकार तपाईंहरूको साथमा छ ।’
नेपालले आफैँ डिजाइन गरेर दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु आफैँमा ऐतिहासिक कदम भएको उनको भनाइ छ । यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल हुनेगरी बनाउन पनि उनले सुझाव दिए । ‘एप्पलको डिजाइन क्यालिफोर्नियामा हुन्छ, उत्पादन चीनमा हुन्छ । सकेसम्म तपाईंहरू नेपालमै गर्नुहोस् । सरकारले के–के सहयोग गर्नुपर्ने हो भन्नुस् तर, विश्वबजारमा फैलन अरू के–के गर्न सकिन्छ त्यसमा पनि सोच्नुहोला’, उनले भने ।
सो क्रममा अर्थमन्त्री डा. वाग्लेलाई यात्री विद्युतीय बाइकका संस्थापक तथा सीईओ असिम पाण्डेले नयाँ बनाइएको स्कुटर (यात्री पीटू)को डिजाइन, सुरक्षा जाँच, त्यसमा प्रयोग हुने पार्टपुर्जा र स्कुटरको सफल परीक्षणको अनुभवबारे जानकारी गराएका थिए । यस्तै, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आफूहरूले विद्युतीय स्कुटर नेपालमै डिजाइन र उत्पादन गरेर ऐतिहासिक सफलता हासिल गरेको बताए ।
नेपालको कठिन र जटिल पहाडी तथा हिमाली भू–भागहरूमा सफल परीक्षणपछि स्कुटरलाई छिट्टै सर्वसाधारणलाई बिक्रीका लागि सार्वजनिक गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय ब्याट्री र स्कुटरका पार्टपुर्जा बनाउने कच्चा पदार्थमा केही सहुलियतपूर्ण नीति लिनुपर्ने बताए ।
केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको सो स्कुटर अहिलेलाई भने गोप्य राखिएको छ । कम्पनीले पहिलो पटक नेपालमै आफ्नै
डिजाइन, इन्जिनियरिङ र भारतको दुईपांग्रे सवारीसाधनको गुणस्तर परीक्षण गर्ने निकायमा गुणस्तर जाँच गराएर विद्युतीय दुईपांग्रे
स्कुटर निर्माण गरेको हो ।