वालिङ (स्याङ्जा), मनबहादुर सार्कीले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गरेका छन् । यतिखेर अकबरे खुर्सानी सार्की परिवारको जीवन गुजाराको प्रमुख आधार बनेको छ ।
बाँदरले नखाने, बजार मूल्य राम्रो र खेती गर्न सरल हुने भएकाले उनले अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरेका हुन् । “१५ रोपनी जग्गामा १५ हजार अकबरेका बोटहरु लगाएको छु,” उनले भने, “अहिले त आम्दानी लिन थालिसकेको छु ।”
उनले प्रतिकेजी २०० का दरले हालसमम ८०० केजी खुर्सानी बिक्री गरिसकेका छन् । उनले खुर्सानी बिक्रीबाट छोटो अवधिमा एक लाख ६० हजार आम्दानी बटुलिसकेका छन् । उत्पादित खुर्सानी बिक्रीका लागि बजारको समस्या नभएको र पोखराका बजारमा खुर्सानी बिक्री हुँदै आएको उनले बताए ।
बाँझो जमिनको सही सदुपयोग गर्न सकेको खण्डमा आम्दानी गर्न सकिन्छ भन्ने सार्कीले उदाहरण दिएका छन् । मलेसियमा चार वर्ष काम गरेका उनले आखिर आफ्नै गाउँमा खुर्सानी खेती गरी सन्तोष जनक आम्दानी गरेका छन् ।