नेपालको मध्यवर्ती पहाडी जिल्ला मकवानपुरको मनहरी बजार नजिकैको एउटा गाउँ लाइसिराङ जहाँ वर्षात्को चिसो हावा र घामको तापमा पाकेका अन्नका बाला र मकैका घोगाहरू झुम्मिएर र पाकेर उभिएका छन् । त्यहीँ बस्तीको एउटा कुनामा, कच्ची पर्खाल र टिनको छानोमुनि बाहबल प्रजा बस्छन् । उमेरले एक सय १३ वर्ष पार गरिसकेका यी वृद्ध चेपाङ पूरै समुदायका एक जीवित इतिहास हुन् ।
नेपालको अतिसीमान्तकृत आदिवासी जनजाति समुदायका यी महान् हस्तीले नेपालको राजनीतिक इतिहासको उत्थान र पतन, १९९० सालको भूकम्पले मच्चाएको विनाश, नेपालको राजनीतिमा आएको परिवर्तन र पुस्तौँदेखि आफ्नो समुदायको जीवनशैलीमा आएको परिवर्तनलाई आफ्नै आँखाले देखेका छन् । यी सबै घटनाहरूका बीच पनि बाहबल प्रजा आफ्नो सगरमाथाजस्तो अग्लो व्यक्तित्व, अतुलनीय शारीरिक क्षमता र अदम्य आत्मबलका कारण आज पनि जीवित छन् र हाम्रा लागि प्रेरणाको अनुपम स्रोत बनेका छन् ।
साधारण बालकको असाधारण क्षमता !
बाहबल प्रजाको जन्म विक्रम सम्वत् १९७० साल सन् १९१३ तिर भएको थियो । त्यतिखेर नेपालमा राणा शासनकालको समय थियो, देशको ढोका बाहिरी संसारका लागि बन्द थियो र अधिकांश जनजीवन अँध्यारोमा डुबेको थियो । अझ चेपाङ समुदाय त झन् जंगल, पहाड र खोल्साखोल्सीका बीचमा आफ्नै परम्परा, रीतिरिवाज र पहिचान बोकेर कठिन अवस्थामा बाँचिरहेको थियो । यिनै बाहबल प्रजा त्यसै समुदायका एक साधारण बालक थिए तर उनमा बाल्यकालदेखि नै असाधारण क्षमता थियो । सानै उमेरमा उनले आफ्नो परिवारलाई खाना जुटाउनको लागि जंगलमा जाने र गिट्ठा, भ्याकुर, चुइया र वनतरुललगायतका जंगली कन्दमुल खोज्ने, गहिरा खोल्साखोल्सी पार गर्ने, ठूला–ठूला रूखका दाउरा बोकेर ल्याउनेजस्ता काम गर्न थाले । उनी यति साहसी र बलिष्ठ थिए कि गाउँमा उनको एउटै चर्चा हुन्थ्यो, ‘बाहबलको जस्तो बल कसैमा छैन ।’

विसं १९९० सालको महाभूकम्पमा बाहबल प्रजाको जीवनको सबैभन्दा ठूलो परीक्षा आयो । त्यतिखेर उनी लगभग २० वर्षका जवान थिए । उक्त भूकम्पले नेपालको मध्यवर्ती क्षेत्रमा ठूलो विनाश मच्चायो । मकवानपुरका पहाडहरू चर्किए, ढिस्काहरू खसे र गाउँका घरहरू भत्किए । धेरैले आफ्ना आफन्त गुमाए अनि अरु धेरै व्यक्तिहरू घाइते भए तर बाहबल प्रजा त्यस भयानक प्रकोपमा पनि डगमगाएनन् । उनले आफ्नो परिवार र छिमेकीहरूलाई सुरक्षित स्थानमा पुर्याए । खानाको व्यवस्था गरे र नयाँ आश्रय निर्माण गर्न मद्दत गरे । उनको सो दृढता र परोपकारिताको कथा आज पनि गाउँका वृद्धवृद्धाहरू सुनाउन रुचाउँछन् । भूकम्पले उनको बाल्यकालको सबै सपना मेटिदियो तर उनको जीवनप्रतिको लगाव र आफन्तप्रतिको कर्तव्यलाई यसले झनै बलियो बनायो । त्यस घटनापछि उनले जीवनलाई अझ गम्भीरतापूर्वक बाँच्ने प्रण गरे र त्यस प्रणलाई उनले आजसम्म पनि कायमै राखेका छन् ।
चमत्कारपूर्वक हिंस्रक जन्तु बाघ पराजित
बाहबल प्रजाको अचम्मको खानपान र शारीरिक क्षमता एउटा अद्भूत विशेषता थियो । आजको युगमा जहाँ एक जना सामान्य मानिसलाई दुईवटा मकैका घोगा खाइसक्न धौ–धौ पर्छ तर एकपल्ट बाहबल प्रजाले प्रौढ अवस्थामा हुँदा उनका एक नाति सागर प्रजा जो आज ५० वर्षको हाराहारीमा छन् उनका अनुसार एकपल्ट भदौ महिनामा बाहबल प्रजालाई उनका नाति सागर प्रजाले मकै पोल्दै खान दिन थाले ।
सागर प्रजाले जतिवटा मकै पोलेर दिन्थे उनका हजुरबुवा बाहबल प्रजाले खाइसकिहाल्थे । त्यसपश्चात् नाति सागर प्रजालाई एउटा कौतुहलता जाग्यो मेरो हजुरबुबाले आज कतिवटा मकै खाइसक्नुहुन्छ त भन्ने जिज्ञासा उनको मनमा लाग्यो र उनले गन्दै मकै पोल्दै आफ्नो हजुरबुवा बहाबल प्रजालाई दिन थाले । त्यो एकैदिन उनका हजुरबुबा बहाबल प्रजाले ६८ घोगा पोलेर दिएको हरियो मकै खाएका थिए । यो किस्सा स्वयम् सागर प्रजाले बताएका हुन् ।
त्यो कुनै बनावटी कुरा थिएन तर अन्य प्रत्यक्षदर्शीहरूले आज पनि सो कुराको पुष्टि गर्छन् । मकवानपुरको डाँडाकाँडामा कठोर शारीरिक श्रम गर्नुपर्ने भएकाले उनको शरीरलाई त्यति धेरै ऊर्जा आवश्यक पथ्र्यो । तर त्यति मात्र होइन एक पटक उनले एउटा भयङ्कर बाघसँग मुकाबिला गरेर ज्युँदै फर्किएको कथा त झन् अविश्वसनीय छ । गाउँलेहरू बताउँछन् कि एक पटक बाहबल प्रजा जंगलमा दाउरा काट्न गएका थिए । त्यहाँ अचानक एउटा बाघले उनीमाथि आक्रमण गर्यो तर बाहबल आत्तिएनन् । उनी आफैँले बाघको आक्रमणलाई सामना गरेर चमत्कारपूर्वक त्यस हिंस्रक जन्तुलाई त्यहाँबाट भगाउन सफल भए । त्यस दिनपछि उनी गाउँमा मात्र होइन तर वरपरका बस्तीहरूमा पनि ‘बाघ–योद्धा’को रूपमा चिनिन थाले । यी घटनाहरूले उनको असामान्य साहस, सफलता र आत्मविश्वासलाई स्पष्ट पार्छन् ।
काठ, पानी र माटोको सम्मान किन ?
बाहबलको जीवनमा अर्को पक्ष थियो जो उनको आध्यात्मिकता र प्रकृतिप्रतिको अपार श्रद्धा । चेपाङ समुदाय आदिवासी भए पनि उनीहरूको आस्था प्रकृति, जंगल, खोला र पुर्खाहरूप्रति गहिरो छ । बाहबलले आफ्ना सन्तानलाई सधैँ सिकाए, ‘हामीले जंगलको काठ, पानी र माटोको सम्मान गर्नुपर्छ, किनभने यी नै हाम्रा पुर्खाको पहिचान हुन् ।’ उनले प्रत्येक नयाँ दिनलाई ईश्वरको वरदानको रूपमा माने । उनी गाउँका धार्मिक अनुष्ठानहरूमा सक्रिय सहभागी हुन्थे र मकै, कोदो, धानका नयाँ बाली आएपछि पुर्खालाई चढाउने चलन उनले कहिल्यै छोडेनन् ।
उनी भन्थे, ‘प्रकृतिले हामीलाई खुवाउँछ, हामीले उसको कदर गर्नुपर्छ । यो हाम्रो कर्तव्य हो ।’ यो आध्यात्मिक सोचले मात्र होइन, उनको व्यावहारिक जीवनले पनि सम्पूर्ण चेपाङ समुदायलाई एउटा नैतिक मार्ग देखायो । विकासका नाममा जब जंगल फँडानी भइरहेको थियो तब बाहबल आफ्नो जीवनभर वृक्षरोपण र वातावरण संरक्षणमा लागिरहे । उनले आफ्नै हातले सयौँ रुखहरू रोपे जसको फल आज उनकै सन्ततीले भोगिरहेका छन् ।
२ सय ५० सन्तान !
बाहबल प्रजाको सबैभन्दा ठूलो उपलब्धि भनेको उनको विशाल परिवार हो । उनका सन्तानको संख्या अहिले दुई सय ५० भन्दा बढी पुगिसकेको छ । उनका छोरा सजीवन प्रजाले बुबाको त्यो अदम्य साहस र परिश्रमलाई निरन्तरता दिए । सजीवनले आफ्ना छोराछोरी र असंख्य नातिनातिनालाई हुर्काए र बाहबलको सिकाइलाई आत्मसात् गर्दै जीविकोपार्जनको लागि कृषि कर्मको नयाँ बाटो खोजे । सजीवनकै छोरा अर्थात् बाहबलका नाति हीरालाल प्रजा आज यस परिवारको तेस्रो पुस्ताका प्रतिनिधि हुन् ।
हीरालालले गाउँमा अलिकति पढाइ पनि गरे र चेपाङ समुदायको विकासका लागि स्थानीय तहमा आवाज उठाउन थाले । हीरालालका छोरा आर्यन प्रजा बहाबलका चौथो पुस्ताका युवा हुन् जसले आफ्नो जरा नबिर्सी पितापुर्खाहरूको संघर्षलाई सम्झन्छन् र पाँचौँं पुस्ताका कुशल प्रजा जो अहिले बाल्यकालमै छन् जसले बाहबलको काखमा बसेर उनका कथा सुन्ने अवसर पाउँछन् । बाहबलका पाँचौँ पुस्ताका कुशल जब हाँस्छन् बाहबलका आँखामा उनलाई आफ्नै बाल्यकालको झल्को आउँछ र उनको अनुहारमा सन्तुष्टिको मुस्कान फैलिन्छ ।
बाहबलको परिवार अहिले मकवानपुरका विभिन्न गाउँहरू लाइसिराङ, कुटासिङ कुनाराङ, लितबाङ र झिमिनीमा फैलिएका छन् । यी ठाउँहरूको चिसो जाडो र गर्मीको तापले भरिएको भूगोलमा यो परिवार आज पनि आफ्नै श्रम र खेतीमा निर्भर छ । कोदो, मकै, तरकारी, यहाँका प्रमुख बाली हुन् तर यहाँको जीवन कहिल्यै सजिलो रहेन । मौसमको अनिश्चितता, सिँचाइको अभाव, बजारको दूरी र भौतिक पूर्वाधारको कमीले गर्दा प्रत्येक दिन यहाँ लडाइँजस्तै हुन्छ । यस्तो बेला बाहबल प्रजाको उपस्थिति मानौँ एउटा बलियो धरोहरजस्तो हुन्छ जसले परिवारका सबैलाई धैर्यता र आशाको सन्देश दिन्छ । उनी भन्छन्, ‘हाम्रा पुर्खाले सुख–दुःखको कति धेरै भोगाइ गरे तर कहिल्यै हार मानेनन् त्यसैले हामीले पनि हार मान्नु हुँदैन ।’
कति वर्ष बाँच्ने ?
मकवानपुर जिल्लाको लाइसिराङ गाउँका डाँडाकाँडा, हरिया जंगल, मनहरी र जेर्की खोलाको मनोरम दृश्यले जति मन लोभ्याउँछ त्योभन्दा बढी प्रभावितचाहिँ बाहबल प्रजासँगको भेटले प्रत्येक व्यक्तिलाई बनाउन सक्छ । उनी अहिले अलिअलि सुस्त भए तर पनि उनको मानसिक स्पष्टता, तीखा नजर र बोल्ने शैलीले कुनै पनि युवालाई लज्जित तुल्याउँछ । उनको उमेर र स्वास्थ्यको बारेमा उनलाई सोध्दा उनले हाँस्दै भने, ‘मलाई अझै पनि पाँच वर्ष बाँच्नु छ । अझै यो संसार हेर्न बाँकी छ ।’
उनको त्यस्तो जवाफले कसलाई अचम्मित नतुल्याउला र ? एक सय १३ वर्षको उमेरमा अझै पनि उनी भविष्यको योजना बनाउँछन् ! उनको त्यो जीवनप्रतिको उत्साह अतुलनीय छ । उनीसँगको कुराकानीमा उनले आफ्ना बाल्यकालका घटनादेखि लिएर आजको राजनीतिक परिवर्तनसम्मका अनुभव सुनाए । उनले भने, ‘राणा, पञ्चायत, बहुदल, संघीयता मैले सबै देखेँ । तर हाम्रो गाउँको बाटो अझै कच्ची छ, विद्युत् अझै पुगेको छैन र अस्पताल त धेरै टाढा छ ।’ उनका आँखामा पीडा थियो तर आशा पनि थियो । बाहबलका नाति हीरालाल प्रजाले एउटा नम्र अनुरोध गर्दै भने, ‘जाडो याममा हाजुरबुवालाई न्यानो कपडाको अत्यन्तै आवश्यकता छ । हामीले सकेसम्म कोसिस गर्छौँ तर हाम्रो स्रोत सीमित छ ।’
‘बुढापाका’ भनेर हेपिन्छ तर...
हाम्रा बीचमा बाँचिरहेका यस्ता जीवित इतिहासलाई हामीले सहयोग र सम्मान गर्नुपर्छ । उनीहरूले हाम्रो समाजको जग बसालेका छन् । बाहबल प्रजाको जीवनले हामीलाई धेरै कुरा सिकाउँछ । उनले कहिल्यै सहज जीवन पाएनन् तर पनि उनले कहिल्यै जीवनप्रति कुनै गुनासो गरेनन् । उनको परिवारको पाँच पुस्ता एउटै छानामुनि वा एउटै समुदायमा बस्दा जुन अपनत्व र एकता जन्मिन्छ त्यो अरू कतै देखिँदैन । प्रकृतिप्रतिको आदर चेपाङ समुदाय र जीवनका लागि कति संवेदनशील छ त्यो बुझ्न बाहबलको आँखा नै पर्याप्त छ । जो आफैं एउटा पाठ्यपुस्तक हुन् जहाँ इतिहास, संस्कृति, भाषा र परम्पराको समिश्रण छ । हामीले यो समिश्रणलाई सँगालेर मात्र होइन यसबाट प्रेरणा र ज्ञान पनि लिन सक्नुपर्छ ।
आजको पुस्ता मोबाइल र सामाजिक सञ्जालमा व्यस्त छ तर जब हामी बाहबलजस्ता अनुभवी व्यक्तिसँग बस्छौँ तब हामीले थाहा पाउँछौँ कि असली जीवन भनेको त्यो होइन जुन पर्दामा देखिन्छ बरु त्यो हो जुन हामीले वास्तविकतामा मात्र भोग्न पाउँछौँ । बाहबलको मुस्कानले पीडालाई पनि कसरी आनन्दमा बदल्न सकिन्छ भन्ने देखाउँछ । उनको चाहुरिएको अनुहारका प्रत्येक रेखाले छुट्टा–छुटै कथा बोकेको छ । उनले भूकम्पको विनाशदेखि जंगलमा बाघको घातक आक्रमणसम्म, आफ्ना छोराछोरीको विवाह, नातिनातिनाको जन्म र हालैमा भोगेका महामारी र राजनीतिक परिवर्तनको उत्थान र पतनसम्मको कठिन घडीसम्मलाई अनुभव गरे । उनले हरेक घटनाबाट फरक पाठ सिके र हरेक घटनालाई जीवनको एउटा फरक पाठको रूपमा उनले स्वीकार गरे ।
हाम्रो समाजमा वृद्धवृद्धाहरूलाई प्रायः उपेक्षा गरिन्छ । उनीहरूलाई ‘बुढापाका’ भनेर हेपिन्छ तर उनीहरूको अनुभव र ज्ञानको सदुपयोग हुँदैन तर बाहबल प्रजाको अवस्था त्यस्तो छैन । उनी आफ्नो परिवारका ‘मुखिया’ मात्र होइनन् तर समुदायका ‘धरोहर’ पनि हुन् । उनको परामर्श लिन गाउँका युवादेखि वृद्धसम्म आउँछन् । उनी जब बोल्छन्, सबै मौन बस्छन् किनभने उनको शब्दमा अनुभवको जस्तो गहिराइ हुन्छ त्यो पढेर कहिल्यै सिक्न सकिँदैन । उनी एउटा जीवित विश्वविद्यालय हुन् र उनका अगाडी हामी विद्यार्थी मात्र हुन्छौँ । तर दुःखको कुरा हामीले यस्तो विश्वविद्यालयलाई संरक्षण गर्न सकेका छैनौँ ।
बाहबलसँग आधारभूत स्वास्थ्य सुविधाको पहुँच छैन । उनको घरमा सरसफाइको उचित व्यवस्था छैन । जाडोमा न्यानो कपडाको अभाव छ र खानामा पौष्टिक तत्वको कमी छ । सरकारले वृद्धभत्ता दिने नीति बनाएको छ तर त्यो सानो रकमले महंगीको यस्तो युगमा केही महिना मात्र पुग्छ । यी सबैका बीच पनि बाहबल आफ्नो मुख्य जीवनदर्शनबाट विचलित भएका छैनन् किनकि उनि भन्छन्, ‘दिन जस्तोसुकै कठिन भए पनि विहानको सूर्यले नयाँ आशा लिएर आउँछ ।’
बहाबल प्रजाको बाहुबलको कथाले हरेकको मनमा एउटा सन्देश छोड्छ, ‘हाम्रा ज्येष्ठ पुस्ताको सम्मान र हेरचाह गर्नु हाम्रो नैतिक कर्तव्य हो ।’ अहिले बाहबल प्रजाको उमेर एक सय १३ वर्ष भयो तर उनको भावना यति जीवन्त छ कि उनि अझै धेरै वर्ष बाँच्न चाहन्छन् । बहाबल भन्छन्, ‘मैले यो संसार धेरै परिवर्तन भएको देखेँ तर मानिसको मन अझै परिवर्तन हुन बाँकी छ । दया, करुणा, र माया नै सबैभन्दा ठूलो धर्म हो ।’
उनी आफूलाई यो सारा जगतको एउटा अंश मान्छन् र प्रत्येक प्राणीमा ईश्वरको बास भएको विश्वास गर्छन् । उनको भनाइ छ, ‘हामीले खाएको कोदो, हामीले पिएको पानी, हामीले सास लिएको हावा यी सबै ईश्वरका रूप हुन् । जसले यिनको सम्मान गर्दैन उसले जीवनलाई अपमान गर्छ । ‘यो दर्शन हाम्रा धर्मग्रन्थहरूसँग पनि मेल खान्छ । बाहबलको यो सोचले आजको भौतिकवादी युगमा हामीलाई आत्मचिन्तन गर्न बाध्य बनाउँछ ।’
जीवनको सबैभन्दा ठूलो धर्म
आजको विश्व र संसारका प्रायजसो सबै देशहरू अहिले जलवायु संकट, युद्ध, असमानता, जातीय र धार्मिक द्वन्द साथै अन्य थुप्रै समस्याहरूबाट ग्रस्त छन् । यस्तो बेला बाहबलजस्ता मानिसले हामीलाई प्रकृतिसँग सद्भावमा बाँच्ने तरिका सिकाउँछन् ।
बाहबल प्रजा जो कहिल्यै फोहोर गर्दैनन्, कहिल्यै पानी बर्बाद गर्दैनन् र कहिल्यै अत्यावश्यकभन्दा बढी वस्तुको उपभोग गर्दैनन् । बाहबलको जीवन साधारण तर सार्थक छ । त्यही सार्थकता नै उनको विरासत हो । हामी सबैको जीवनमा पनि कुनै न कुनै बाहबल छन् । हाम्रा हजुरबुबा, हजुरआमा, बुबा, आमा वा गाउँका कुनै वृद्ध व्यक्तित्व बाहबलजस्तै हुन सक्छन् । उनीहरूको अनुभवको मूल्य लाखौँ रुपैयाँभन्दा बढी हुन्छ । उनीहरूलाई सम्मान गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो । बाहबल प्रजा एक व्यक्ति मात्र होइनन् तर उनी हाम्रा पुर्खाको एक जीवित प्रतीक हुन् र उनी हाम्रा भविष्यको एक मार्गदर्शक पनि हुन् ।
उनको जीवनगाथा हामी सबैका लागि चिरकालसम्म प्रेरणाको स्रोत बनिरहोस् । हामी सबैले मिलेर बाहबल प्रजाको परिवारलाई सहयोग गर्न सक्छौँ । चाहे त्यो न्यानो कपडाको रूपमा होस् वा खाद्य सामग्रीको वा औषधिको किनकि सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ । बाहबल प्रजा आफैँले हामीलाई सिकाएका छन् कि जीवनको सबैभन्दा ठूलो धर्म मानवता हो । त्यसैगरी, हामीले आफ्ना यस्ता जीवित इतिहासहरूलाई संरक्षण गर्न राष्ट्रिय रूपमा पहल गर्नुपर्छ । यस्ता वृद्धवृद्धाका अनुभवलाई अभिलेखीकरण गर्ने, उनीहरूको ज्ञानलाई पुस्तक र चलचित्रमा उतार्ने र उनीहरूलाई उचित सम्मान दिने कार्य अहिलेको आवश्यकता हो । अन्यथा केही वर्षपछि बाहबलजस्ता अद्भूत व्यक्तिहरू हामीबाट सधैँका लागि बिदा हुनेछन् र हामीहरूले उनीहरूका अनमोल कथाहरू गुमाउनेछौँ । त्यसैले, आफ्ना वरपरका बाहबलहरूलाई चिनौँ, उनीहरूको कथा सुनौँ र उनीहरूलाई सम्मान र सकेको सहयोग गरौँ ।