हुम्ला,अबिरल बर्षापछिको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध भएको छ । सडक छेउछाउका बालिनालीमा पहिरो र बाढीले क्षति पु¥याएको छ ।
सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय खगेन्द्र धामीका अनुसार थाहा खोलाको बाढीले किनारका खेतबाली नष्ट गरेको छ । उहाँका अनुसार थाहा ज्युलोमा बाढी पसेर खेतिबालीमा क्षति पु¥याएको छ ।
स्थानीय सर्केगाड खोलामा बाढीको पानीको सतह बढ्दा बजार क्षेत्र तथा आसपासमा क्षति पुगेको छ । बाढीसँगै ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि कर्णाली करिडोर अवरुद्ध भएको सर्केगाड प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जगदिसकुमार ऐरले बताए । अवरुद्ध सडक खुलाउन गाउँपालिका र सडक निकायसँग समन्वय भइरहेको उनले बताए।
त्यस्तै सर्केगाड गाउँपालिका–६ ग्युसीदेखि खार्पुनाथ गाउँपालिका–५ खार्पुसम्म विभिन्न स्थानमा पहिरो खसेपछि त्यस क्षेत्रमा यातायात प्रभावित भएको छ । सडक अवरुद्ध भएपछि यात्रुबाहक तथा मालवाहक सवारीसाधनलाई आवतजावतमा समस्या भएको छ । पहिरोका कारण दक्षिणी हुम्लाबाट सदरमुकाम सिमकोटतर्फ आउने–जाने यात्रु बढी प्रभावित भएका प्रहरीले जनाएको छ । कर्णाली करिडोर हुम्लालाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख स्थलमार्ग हो । उक्त सडक अवरुद्ध हुँदा यातायात सेवासँगै जिल्लामा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुँदै आएको छ ।
रासस