भदौ १० गते भोटेकोशी–त्रिशूलीमा महाविपत्ति आइप¥यो । तिब्बतमा हिमताल फुटेर आएको बाढीले नेपालका सातवटा बजार खातखुत बगायो । त्यहाँ कति मानवीय क्षति भयो, धनसम्पत्ति कति बग्यो, बाटोघाटो पुलपुलेसा कति बगे, रसुवा, नुवाकोट र धादिङमा त्यो बाढीबाट कति क्षति भयो र त्यसको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि कति रकम लाग्ने हो, त्यसको अझै यकिन छैन ।
१० गते अकस्मात बाढी आएपछि तत्कालै १२ विदेशी मित्र राष्ट्रहरूले चाहिएको प्राविधिक सहयाता दिएर उद्धारमा सघाउन चासो देखाएका थिए तर सरकारले उनीहरूको त्यस्तो सहायता तत्काल अस्वीकार ग¥यो र आफैँ उद्धार गर्ने घोषणा ग¥यो । प्रधानमन्त्री वालेन्द्र शाह, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले बट्टारबाट निरीक्षण गरे भने गृहमन्त्री सुधन गुरुङले फेसबुके उद्धार गरे । त्यसमा सांसद सागर ढकाल, सञ्चारमन्त्री विक्रम तिमल्सिना, सांसद अच्यूतम लामिछानेहरूले पनि सोसल मिडिया रङ्गाए तर त्यहाँ उद्धार भएन । नवौँ दिनदेखि विदेशीहरूलाई पनि उद्धारका लागि अनुमति दिइयो ।
त्यो उद्धार कार्य अझै चलिरहेको छ । खासगरी पछिल्लो समय विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका कामदारको उद्धारको प्रयास भइरहेको छ । यो महाविपत्तिमा त्यता सबै ठूलाबडा मानिसहरू पुगेको र फोटो खिचाएको देखियो । तर त्यहाँ देखिनै पर्ने एक जना महत्वपूर्ण मानिसचाहिँ कतै देखिएनन् र यो अवधिमै उनी गुमनाम भएका छन् । ती व्यक्ति अरु कोही नभएर नेपालीहरूले अग्र्यानिक वैज्ञानिक भनेर चिनेका र त्यही कारण बालेन शाहले पनि मिल्दै नमिल्ने भए पनि मन्त्री बनाएका महावीर पुन हुन् । उनी म्याग्दीबाट स्वतन्त्र उम्मेदवार भएर जितेका सांसद हुन् ।
अहिलेको रास्वपाको वालेन्द्र शाह नेतृत्वको सरकार बहुमतको सरकार हो । बहुमतको सरकारमा स्वतन्त्र सांसद सविधानअनुसार मन्त्री हुने ठाउँ छैन । तर पनि प्रधानमन्त्री शाहले उनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गर्न सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको कुनै धारा उपधारा कोड नगरी गत जेठ २६ गते मन्त्री नियुक्त गरेका थिए । पुनका समर्थकहरूले उनलाई नेपालको अग्र्यानिक वैज्ञानिक ठान्छन् तर उनका आलोचकहरूले चाहिँ लफाङ्गो भन्ठान्छन् । तर उनी आफैँचाहिँ विचार जे भए पनि सादा जीवन मन पराउँछन् । उनी मन्त्री भए पनि मन्त्री क्वाटरमा बस्दैनन्, मन्त्रालयमै एउटा कोठामा सुत्छन् । उनले विगत ३० वर्षदेखि कपडा नकिनेको र साथीभाइले दिएको जाडौरी लगाउने गरेको सगौरव बताउँदै आएका छन् ।
पत्रकारहरूले अन्टसन्ट समाचार दिने भनेर पुनले पत्रकारहरूलई मन पराउँदैनन् । चोरलाई जस्तो व्यवहार गर्छन्, दुश्मन नै ठान्छन् । गत चुनावका बेला ४२ दिनपछि आफूले नुहाएको कुरा बोलेका थिए । त्यसलाई पत्रकारले समाचार बनाएपछि त उनी पत्रकारविरुद्ध झन् खनिएका थिए । भदौ १० को भोटेकोशी–त्रिशूली बाढीले सहरबस्ती बगाएसँगै रसुवा, नुवाकोट र धादिङको सडक सञ्जाल, बिजुली, सञ्चारसम्पर्क विच्छेद भएको थियो । सुरुङमा फसेकालाई उनले उद्धार गर्न सक्दैनथे होला, सडक खोल्न र बत्ती बाल्न पनि नसक्लान् तर उनले त्यस क्षेत्रमा ताररहित टेलिफोन सेवा तुरुन्त सञ्चालन गर्न सक्ने थिए । त्यो सहयोग पनि सरकारले उनीसँग किन लिएन वा उनले त्यो सेवा किन दिएनन् ? एउटा प्रश्न उठेको छ ।
मानिससँग भएको क्षमता मनभित्र दबेर बसेको हुन्छ र मौका पर्नेबित्तिकै त्यो प्रस्फुटित हुन्छ भन्निछ । मन्त्री पुनले चुनावअघि एउटा अन्तरवार्तामा आफूले म्याग्दीमा ताररहित इन्टरनेट सञ्चालन गर्न राउटर तस्करी गरेको सगौरव स्वीकार गरेका छन् । उनले म्याग्दीमा गरेको तार रहित टेलिफोन–इन्टरनेट सेवा रसुवा–नुवाकोटको बाढीग्रस्त क्षेत्रमा पनि आवश्यक थियो । सरकारले उनको त्यो सामाथ्र्य किन उपयोग गरेन ? त्यसको कारण के हो ? कि त मन्त्री पुनले झुटो बोल्ने गरेको हुनुप¥यो । उनले गर्ने गरेको आविष्कार मर्मतलाई पनि अवमूल्यन गर्छन् र गुजारको नयाँ शैली ठान्छन् ।
महाविर पुनलाई गरिएको जस्तो लगानी बरु विश्वकर्माहरूको आरनलाई आधुनिकीकरण गर्न लगाइएको भए नेपालमा कृषि औजारमा चाहिनेजति आत्मनिर्भर भइसक्ने विश्वास गर्नेको पनि यहाँ कमी छैन । उनले गरेको प्रयासलाई नै नराम्रो भन्नुपर्ने केही पनि थिएन तर आ–आफ्नो स्वतन्त्र सोच हो । यसअघि सुशीला कार्कीको सरकारमा मन्त्री हुँदा एक पटक मन्त्री पुनको जिब्रो चिप्लिएको थियो । उनी मन्त्री भए पछि पत्रकारहरूले सोधेका थिए, तपाईँका परिवार कहाँ छन् ? छोराछोरी कहाँ छन्, के गर्छन् ? भनेर । त्यतिबेला उनले जवाफ दिए, ‘पोखरातिर बस्छन्, आफ्नो काम गर्छन् खान्छन् ।’ तर पछि पत्ता लाग्यो उनकी एउटी छोरी बंगलादेशमा मेडिकल पढ्दै रहेछिन् त्यसका लागि पुनले जसोतसो गरेर खर्च जुटाएर पठाएका रहेछन् ।
थापाथलीमा वैरागी अखडा छ । त्यहाँ जोगीहरू बस्छन् । उनीहरू गाँजा तान्छन् । धुनी ताप्छन् । गेरु वस्त्र लगाउँछन् । सामान्यतया बाहिरबाट देख्दा त्यस्त हो । तर वैरागी अखडाको वारिपारिका बस्तीमा होस् वा आफ्नो थातथलोमा किन नहोस्, ती जोगीका स्वास्नी छोराछोरी हुन्छन् । उनीहरूको लालनपालन, पठनपाठन विहेवारीका लागि ती जोगीले पनि जसोतसो गरेर रकम जुटाएर पठाउने गर्दछन् । बेला–बखत उनीहरूलाई भेट्न पनि जाने गर्दछन् । तर त्यी जोगीले आफ्ना स्वास्नीछोराछोरी भएको कुरो आफ्ना साथीभाइसँग कहिल्यै गर्दैनन् अर्थात् झुट बोल्छन् । मन्त्री पुनले पनि त्यस्तै झुट बोल्ने गरेका थिए । एक दिन आफैँ सत्य ओकलियो अनि उनले त्यो समाचार बाहिर ल्याएका कारण पत्रकारहरूलाई दुश्मन घोषणा गरे । तर जे–जस्तो भए पनि समाजले मानेको छ, राज्यले मानेको छ, उनी नेपालका एक अग्र्यानिक वैज्ञानिक हुन् । उनीसँग अथाहा ज्ञान र सीप छ, त्यो उनले नै भन्दै आएका छन् । अरुले पत्याउँदै आएका छन् । कृषि औजार कारखाना नै जिम्मा लगाएका छन् । तर उनमा भएको त्यो अद्भूत ज्ञान यो महाविपत्मा कहीँ कतै देख्न पाइएन । त्यो किन हो ? भन्ने नै अहिलेको मूल प्रश्न हो ।