काठमाडौं , नागरिक उड्डयान प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीमाथि सम्पत्ति शुद्धीकरण मुद्दा लागेको छ । यसअघि भ्रष्टाचार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अधिकारीमाथि सम्पत्ति शुद्धीकरण मुद्दा लागेको हो । उनीमाथि गैरकानुनी तवरबाट आर्जन गरेको सम्पत्ति लुकाउनका लागि श्रीमतीको नाममा जग्गा खरिद गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विशेष अदालत, काठमाडौंमा मंगलबार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अधिकारीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा दफा ३ को उपदफा (३) ले परिभाषित कसुर गरेको हुँदा एक करोड ७१ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३० को उपदफा (१) बमोजिम सजाय माग गरिएको छ । यसैगरी उनी राष्ट्रसेवक कर्मचारी भएको हुँदा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को ऐनको दफा ३० को उपदफा (७) बमोजिम थप सजाय हुन, साथै सोही ऐनको ८८दफा ३४ को उपदफा (१) बमोजिम कसुरबाट प्राप्त अपराधिक लाभबाट एक करोड ७१ लाख रुपैयाँ समेतमा खरिद गरेको ललितपुर, ललितपुर महानगरपालिका–५ स्थित किता नम्बर २२४ को १३ आना जग्गा÷सम्पत्ति जफत÷असुलउपर हुन आयोगले मागदाबी लिएको छ । आयोगले अदालतमा दायर गरेको आरोपत्र अनुसार अधिकारीले गैरकानुनी रुपमा लिएको एक करोड ७१ लाख रुपैयाँ लुकाउनका लागि श्रीमतीको नाममा जग्गा खरिद गर्न प्रयोग गरेका हुन् ।
अधिकारीले गैरकानुनी समपत्ति लुकाउने क्रममा श्रीमतीका लागि ललिपुर नगरपालिका ५ स्थित कित नम्बर २२४ को १३ आना जग्गा खरिद गरेका हुन् । उनले उक्त जग्गा ९१ लाख रुपैयाँ अर्थात् जग्गाको राजीनामा लिखतमा थैली रकम ९१ लाख रुपैयाँ कायम गरेका थिए । जुन वास्तविक कारोबार भएको रकम होइन । उनले श्रीमतीको नाममा जग्गा खरिद गर्दा वास्तविक कारोबार भएको रकम लुकाएका हुन् । आयोग प्रवक्ता न्यौपानेका अनुसार जग्गा खरिद गर्दा वैधानिक कारोबार लुकाई सरकारी थैलीबापतको ९१ लाख रुपैयाँ आफ्नो र श्रीमतीको बैंक खाताहरूबाट कारोबार गरेको देखाएका छन् । जसले गर्दा थैली रकमभन्दा बाहेकका अस्वाभाविक थप एक करोड ७१ लाख रुपैयाँ ठेक्कापट्टाहरूमा सहजीकरण गरेबापत प्राप्त भएको देखिन्छ । अधिकारीले प्राधिकरणको विभिन्न ठेक्कापट्टाहरूमा सहजीकरण गरेबापत ठेक्का सञ्चालन गर्ने कम्पनीमार्फत घुस लिएको आरोप अख्तियारको रहेको छ ।
प्रवक्ता न्यौपानेका अनुसार अधिकारीले प्राधिकरणको ठेक्काहरू मिलेमतोमा गायत्री निर्माण सेवाले दिने गरेको पाइएको छ । उक्त निर्माण कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाल रहेका छन् । ढकालको कम्पनीलाई पदयी दुरुपयोग गरी अधिकारीले ठेक्का दिने गरेका थिए । उक्त ठेक्का दिएबापत ढकालले एक करोड ७१ लाख रुपैयाँ अधिकारीलाई घुस दिएको अख्तियारले जनाएको छ । योसँगै अख्तियारले अधिकारीले घुसबापत ढकालबाट लिएको रकम लुकाउन, रूपान्तरण तथा हस्तान्तरण गर्ने कार्य गरी÷गराई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दपाm ३ बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै सम्पत्ति शुद्धीकरण र भ्रष्टचारजन्य काम गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आयोगले गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख ढकालललाई भने मतियार कसुरदार कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले अधिकारीले गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा सोही दफा ३ को उपदफा (३) ले परिभाषित कसुरको दुरुत्साहन, मद्दत, सहजीकरणसमेत गरी सोही ऐनको दफा ३ को उपदफा (२) तथा सोही दफा ३ को उपदफा (३)ले परिभाषित कसुर गरेको पुष्टि भएको भन्दै एक करोड ७१ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३० को उपदफा (२), (५) र (८) बमोजिम सजाय माग गरी ढकालविरुद्ध मुद्दा दायर गरेको हो । साथै आयोगले ढकालविरुद्ध सोही ऐनको दफा ३४ को उपदफा (१) बमोजिम ललितपुर महानगरपालिका–५ स्थित कित्ता नम्बर २२४को १३ आना जग्गा÷सम्पत्ति जफत÷असुलउपर हुन मागदाबी लिएको छ ।