काठमाडौं, मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । फाइनान्सका अनुसार आइब्रोक इन्टरनेसनल प्रालिको नाममा कायम रहेको एक हजार आठ सय ६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
फाइनान्सका अनुसार प्रचलित व्यवस्था अनुरूप संस्थापक सेयर बिक्री गर्नुअघि हाल कायम रहेका संस्थापक समूहका सेयरधनीलाई प्राथमिकता दिँदै खरिदका लागि सार्वजनिक सूचना जारी गरिएको थियो । तर, तोकिएको अवधिभित्र कुनै पनि संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेकाले अब उक्त सेयर अन्य इच्छुक तथा योग्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिएको हो ।
बिक्रीमा रहेको संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको प्रचलित कानुन तथा जारी एकीकृत निर्देशिकाबमोजिम संस्थापक सेयर खरिद गर्न अयोग्य नरहेको स्वघोषणासहित आवश्यक कागजात संलग्न गरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने फाइनान्सले जानकारी दिएको छ । सेयर खरिदका लागि तोकिएको म्यादभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन पेश गर्न इच्छुक लगानीकर्ता तथा संस्थालाई फाइनान्सले आग्रह गरेको छ ।