काठमाडौं, कास्की जिल्लाको पोखरा महानगरपालिका–२५ हेम्जा चौरस्थित याम्दी खोलाको खोचबाट भाद्र १७ गते बिहान सशस्त्र प्रहरीले एक महिलाको उद्धार गरिएको छ । सोही महानगरपालिका–२५ बुद्धचोक बस्ने २२ वर्षिया देवी सुनारको उक्त खोलाको खोचबाट उद्धार गरिएको हो ।
खोला नजिकै रहेको भिरबाट महिला कराएको आवाज सुनेपछि सोही ठाउँका स्थानीयले सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीमा जानकारी गराएका थिए । सो पश्चात उक्त गणबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई खोलाको खोचमा घाईते अवस्थामा फेला पारेको थियो ।
सो टोलीले उनलाई तत्काल उद्धार गरी उपचारको लागि मणिपाल शिक्षण अस्पताल कास्की पठाईएको छ । दुवै हात र खुट्टा तथा ढाडमा चोट लागेको उनको अवस्था गम्भिर रहेको छ ।