काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ओखल मोलुङ नगरपालिका–१७ घर भएका ३३ वर्षीय यज्ञ बहादुर तामाङ र काठमाडौं महानगरपालिका–४ बस्ने बागलुङ बडिगाड गाउँपालिका–३ बस्ने ३० वर्षीय सुजेन घर्ती मगर रहेका छन् ।
पक्राउमध्ये यज्ञ बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र सुजेनले हंगेरी पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले यज्ञ बहादुरलाई काठमाडौं महानगरपालिका–९ बाट र सुजेनलाई काठमाडौं महानगरपालिका–७ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।