बेइजिङ, चीनको चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको स्वचालन अनुसन्धान संस्थानले वैज्ञानिक अनुसन्धानसँग सम्बन्धित तथ्यांकको खुला साझेदारीलाई प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ अन्तर्राष्ट्रिय शैक्षिक पत्रिका सुरु गरेको छ । संस्थानका अनुसार नयाँ पत्रिकाले विश्वभरका अनुसन्धानकर्ताका लागि उच्चस्तरीय, बहुविषयगत, खुला पहुँच तथा सहकर्मी मूल्यांकनमा आधारित शैक्षिक आदानप्रदानको मञ्च उपलब्ध गराउनेछ ।
पत्रिकामा तथ्यांकसम्बन्धी लेख, नमुनासम्बन्धी लेख, अनुसन्धानसम्बन्धी लेख, समीक्षा, तथ्यांक तथा नमुना अद्यावधिक, साथै समाचार, विचार तथा टिप्पणी गरी छ वटा मुख्य खण्ड रहनेछन् । यस पत्रिकाको अनुसन्धान क्षेत्र कम्प्युटर विज्ञान, गणित, तथ्यांक, चिकित्सा लगायत विभिन्न विषयमा फैलिएको छ । यसले वैज्ञानिक अनुसन्धानका सामग्री उत्पादनदेखि प्रकाशन तथा त्यसपछि हुने अद्यावधिकसम्मको सम्पूर्ण प्रक्रियालाई समेट्नेछ ।
संस्थानका अनुसार पत्रिकाले तथ्यांक, अनुसन्धान, प्रयोग तथा तथ्यांक व्यवस्थापनलाई एउटै शृङ्खलामा जोड्दै उच्च गुणस्तरीय वैज्ञानिक तथ्यांकको विश्वव्यापी खुला साझेदारीलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । नयाँ पत्रिकाको पहिलो सम्पादकीय बोर्डमा विश्वका २० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा अनुसन्धान संस्थानका विशेषज्ञहरू सहभागी रहेको संस्थानले जनाएको छ । यस पत्रिकामार्फत वैज्ञानिक अनुसन्धानमा तथ्यांकको खुला प्रयोग, प्रभावकारी तथ्यांक व्यवस्थापन तथा नयाँ अनुसन्धान पद्धतिको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको सिन्ह्वाले जनाएको छ ।