काठमाडौं, भोटेकोशी नदीमा आएको बाढीको कारण रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरे सुनसान बनेको छ । सञ्चार बिच्छेद र सडक सञ्जाल टुटेको कारण सम्पर्क विहीन व्यक्तिहरुको खोज तथा उद्धारको लागि हाल प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको मात्र उपस्थिती रहेको छ ।
भोटेकोशी नदीमा आएको भीषण बाढीले सो क्षेत्रका सबै बस्ती बगाएपछि २१ सयभन्दा बढी व्यक्तिहरु पूर्ण रुपमा सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरी बल नेपालले आफ्नो सिमित श्रोतसाधन र प्रतिकूल भौगोलिक अवस्थाका बाबजुद सो क्षेत्रमा खोजी तथा उद्धार कार्य गर्दै आइरहेको छ । हालसम्म सशस्त्र प्रहरीले त्यसक्षेत्रमा बेपत्ता भएका ९७ जनाको शव फेला पारेकोे छ ।
बाढीको कारण सो क्षेत्रका स्थानीय बासिन्दा मात्र नभई सुरक्षाकर्मी तथा नेपाली र विदेशी पर्यटकहरुसमेत सम्पर्क विहीन भएका छन् । सम्पर्क बिहीन भएकाहरुको खोज तथा उद्धारको लागि हाल त्यस क्षेत्रमा सशस्त्र प्रहरी बाहेक अन्य निकाय तथा स्थानीय कोही छैनन् ।
सशस्त्र प्रहरीले त्यस क्षेत्रमा सम्पर्क बिहीन भएकाहरुको भाद्र १० गतेदेखि नै निरन्तर खोज तथा उद्धार कार्यमा खटिई रहेको छ । हाल अन्य स्रोतसाधन प्रयोग गर्न सहज नभएता पनि सशस्त्र प्रहरीले आधुनिक प्रविधिको प्रयोग गर्दै बेपत्ताहरुको ड्रोन क्यामरा र केनाइन गडको समेत सहयोगमा खोजीकार्य गरिरहेको छ ।
उक्त क्षेत्रमा हाल सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदिप राईको कमान्डमा ३० जनाभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरु विशेष टोली परिचालित रहेका छन् भने नेपाल एपीएफ अस्पतालबाट प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. सुरेन्द्र भट्टराई र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. अनिल जोशीसमेत खटिनुभएको छ । सो टोलीमा गोताखोर तथा रोप रेस्क्यु र विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसमेत रहेका छन् ।
बाढी पहिरोले स्याफ्रुवेशीदेखि रसुवागढी सडकखण्डलगायतका मुख्य राजमार्गका करिब ४१ भन्दा बढी पुल बगाएको छ भने भौगोलिक विकटता, विद्युत् आपूर्ती अवरुद्ध भएको कारण त्यस क्षेत्रमा बेपत्ता भएका व्यक्तिहरुलाई सम्पर्क गर्नसमेत कठिनाइ परेको छ । वैकल्पिक विद्युत् आपूर्तीलगायत साधनश्रोत लैजान कुनै पनि वैकल्पिक मार्ग नभएको कारण सशस्त्र प्रहरी बल नेपालको सञ्चार साधनमा समेत सम्पर्क गर्न कठिनाइ परेको छ । त्यस क्षेत्रमा परिचालित सशस्त्र प्रहरी बल नेपालका ९ जना कर्मचारी बेपत्ता हुँदा समेत अन्य क्षेत्रबाट थप जनशक्ति खटाइ बेपत्ता भएकाहरुको खोजी कार्यमा निरन्तर जुटि रहेको छ । बाढीमा परी घाइते तथा सकुशल उद्धार गरिएका नागरिकहरुलाई सुरक्षितसाथ रसुवाको धुन्चेमा रहेको होल्डिङ सेन्टरमा पठाइएको थियो ।
खोजी तथा उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरीको टोलीले भाद्र १२ गते साँझ टिमुरेमा माटोमुनि पुरिएको अवस्थामा एक ६ वर्षीया बालिकालाई जिवित उद्धार गर्न सफल भएको थियो । सो टोलीले बाढी आएको करिब ६० घण्टापछि ती बालिका माटोमुनि रोइरहेको आवाज सुनेपछि तत्काल उत्खनन् गरी उनको जीवितै उद्धार गर्न सफल भएको हो ।
सशस्त्र प्रहरीले ती बालिकाको उद्धार पश्चात् बोर्डर आउट पोस्ट टिमुरेमा ल्याई न्यानो बनाइ प्राथमिक उपचार गरेको थियो । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि सशस्त्र प्रहरीले थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । सशस्त्र प्रहरीले टिमुरेमा क्षेत्रमा ज्यान गुमाएकाहरुको शव पहिचान तथा समयमै व्यवस्थापनको लागि सरोकारवाला तथा अन्य निकायहरुसँग निरन्तर समन्वय गरी रहेको छ ।